काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिएका छन् । 

थपिएका संक्रमितमध्ये काठमाण्डौ जिल्लाका मात्रै ९० जना रहेका छन् । ललितपुरका २ जनामा पनि कोरोना संक्रमण देखिएको छ । 

पछिल्लो २४ घण्टाभित्र देशभरका ३७ वटा प्रयोगशालामा भएको स्वाब परीक्षणका क्रममा थप ३८० मा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । 

पछिल्लो अवधिमा देशभरबाट ४० जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म निको भएर घर फर्किनेको कुल संख्या १६ हजार ३५३ रहेको छ । कुल संक्रमितमध्ये ७१.१ प्रतिशत निको भएर घर फर्किएका छन् । 

देशभरमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएका ४ जिल्लाहरुमा काठमाण्डौ, पर्सा, रौतहट र महोत्तरी रहेका छन् । यस्तै, ७ जिल्लामा एकजना पनि संक्रमित छैनन् । ती जिल्लाहरु खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् । 

सरकारले हालसम्म ४ लाख ४३ हजार ८०४ जनाको पीसीआर परीक्षण गरिसकेको छ । सरकारले कम्तीमा जनसंख्याको २ प्रतिशतको पीसीआर परीक्षण गर्ने घोषणा गरेको थियो । करिब ६ लाखको परीक्षण गरेपछि त्यो लक्ष्य पूरा हुन्छ । 

आइतबारसम्ममा देशभरका क्वारेन्टिनहरुमा ११ हजार ३८ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।