काठमाण्डौ । स्थानीय निर्वाचनको दोश्रो चरणमा मतदान भएका ७ उपमहानगरपालिकाको ताजा मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार ५ स्थानमा एमालेले आफ्नो अग्रता कायमै राखेको छ भने कांग्रेस र राप्रपा एक एक स्थानमा अगाडि छन् । 

प्रदेश नम्बर १ मा चर्चाको शिखरमा रहेको इटहरी उपमहानगरपालिकामा एमालेले ३ सय ३५ मतले अग्रता लिइरहेको छ । यहाँ एमालेको तर्फबाट मेयरका उम्मेद्वारले ७०९५ मत ल्याएका छन् भने उनलाई कांग्रेसका मेयरका उम्मेद्वारले ६७६० मतले पछ्याइरहेका छन् । उपमेयरमा एमाले ६८७२ मतसहित अगाडि छ भने उसलाई कांग्रेसले ६६११ मतले पछ्याइरहेको छ । 

यही प्रदेशको एमाले पकड क्षेत्रको रुपमा रहेको धरान उपमहानगरपालिकामा समेत उसैले अग्रता लिइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार धरानमा एमालेले मेयरमा ५६८८ र उपमेयरमा ५८८२ मतले अग्रता लिइरहेका छन् । एमालेलाई मेयर र उपमेयरमा कांग्रेसले ४८३० र ४८२६ मतले पछ्याइरहेको छ । 

दाङको घोराही र तुल्सीपुर तथा बुटवल उपमहानगरपालिकामा समेत एमाले अग्रता कायमै छ । घोराहीमा एमालेका मेयरका उम्मेद्वारले १५ हजार २ सय ६३ मत ल्याएका छन् भने कांग्रेसले ११ हजार ३ सय १० मतले पछ्याइरहेको छ । उपमेयरमा एमालेले १४ हजार ३ सय ६ मत ल्याउँदा कांग्रेसले ११ हजार ५ सय २४ मतले पछ्याइरहेको छ । 

तुल्सीपुर उपमहानगरपालिकामा एमालेले मेयर र उपमेयरमा ८ हजार १४ र ७ हजार १ सय २४ मत ल्याएको छ । उसलाई कांग्रेसले ५६९५ र ६३३८ मतले पछ्याइरहेको छ ।

बुटवल उपमहानगरपालिकामा एमालेले मेयरमा ९९६९ र उपमेयरमा १०४५३ मत ल्याएको छ । मेयरमा कांग्रेसले ९२५६ र उपमेयरमा माओवादी केन्द्रले ८७८६ मत ल्याएको छ । 

यस्तै, धनगढीमा कांग्रेसले अग्रता लिएको छ । मेयर र उपमेयरमा कांग्रेस उम्मेद्वारले ३६६७ र ४२२२ मत ल्याएको छ भने उसलाई स्वतन्त्र उम्मेद्वारले ३२६९ मतले पछ्याइरहेका छन् । उपमेयरमा एमाले उम्मेद्वारले ३७३० मतले पछ्याइरहेका छन् । 

नेपालगञ्जमा भने राप्रपाको अग्रता अझै जारी छ । यहाँ मेयर पदमा राप्रपाले ८०१५ मत ल्याएको छ भने उपमेयरमा ६१३६ मतसहित कांग्रेसले अग्रता जारी राखेको छ । मेयरमा कांग्रेसले ४६२२ र उपमेयरमा राप्रपाले ५६७१ मतले पछ्याइरहेको छ ।