काठमाण्डौ । दोश्रो चरणको निर्वाचन भएका ७ उपमहानगरपालिकाको ताजा मतपरिणाम अनुसार आइतबार बिहानदेखिको आफ्नो अग्रतालाई एमालेले कायमै राखेको छ । इटहरी, धरान, घोराही जस्ता क्षेत्रहरुमा एमालेले फराकिलो अन्तर बनाउँदै लगेको छ । 

एमालेले धरान, इटहरी, बुटवल, तुल्सीपुर र घोराहीमा आफ्नो अग्रतालाई कायमै राखेको छ । 

सुनसरीको धरानमा कांग्रेस पछि पर्दै गएपछि मतगणना अव्यवस्थित भएको निहुँ निकालेर सर्वदलीय बैठकको माग गरेपछि हाल मतगणना कार्य स्थगित भएको छ । मतगणना स्थगित हुनुुअघिसम्म त्यहाँ एमालेले मेयर र उपमेयरमा ७०८२ र ७२७६ मत प्राप्त गरेको छ । कांग्रेसले मेयर र उपमेयरमा ५८८२ र ५६८० मतले पछ्याइरहेको छ । यो स्थानमा विभिन्न राजनीतिक शक्तिसँगको सहकार्यमा गठबन्धनबाट उम्मेद्वारी दिएको माओवादी केन्द्र तेश्रो स्थानमा छ । 

इटहरीमा एमालेका मेयरका उम्मेद्वार द्वारिकलाल चौधरीले १०२३६ मत ल्याएका छन् । उनलाई कांग्रेसका उम्मेद्वार रोहित प्रसाईंले ९३७० मतले पछ्याइरहेका छन् । उपमेयरमा एमालेकै लक्ष्मी गौतमले ९९६० मत ल्याएकी छिन् भने उनलाई कांग्रेसकी विमला ढकालले ९१०३ मतले पछ्याइरहेकी छिन् । हाल इटहरीको २, ४, ५, १६ र १७ वडाको मतगणना भइरहेको छ । सबै वडामा वडाध्यक्ष र मेयर तथा उपमेयरमै एमालेको अग्रता छ । 

पूर्वका दुुई उपमहानगरपछि चर्चाको शिखरमा रहेको बुटवल उपमहानगरपालिकाका वडाहरुमा एमाले क्लीन स्वीप गर्दै अगाडि बढे पनि मेयर र उपमेयरमा कांग्रेस माओवादी गठबन्धनले कडा टक्कर दिइरहेको छ । एमालेले यहाँ मेयर र उपमेयरमा १२२८३ र १३५४१ मत पाएको छ भने मेयरमा कांग्रेसले ११०७१ र उपमेयरमा माओवादीले ७८१५ मत प्राप्त गरेको छ । 

दाङको दुवै उपमहानगरपालिकामा एमालेकै अग्रता छ । तुल्सीपुरमा एमालेले मेयरमा १०६२५ मत ल्याएको छ भने उपमेयरतर्फ ९२५४ मत छ । उसलाई कांग्रेसले मेयर र उपमेयरमा ७९५० र ८८९१ मतले पछ्याइरहेको छ । 

घोराहीमा एमालेले मेयर र उपमेयरमा १९७८२ र १८५५१ मत प्राप्त गरेको छ । उसलाई कांग्रेसले मेयर र उपमेयरमा १५५४३ र १५६६२ मतले पछ्याइरहेको छ । 

धनगढी उपमहानगरपालिकामा हिजोदेखि स्थगित मतगणना कार्य अझै सुचारु भएको छैन । यो क्षेत्रमा हिजोसम्म कांगे्रसले मेयर र उपमेयरमा अग्रता लिएको थियो । 

उता, नेपालगञ्जमा भने सुरुवाती अग्रतालाई कायमै राख्दै मेयरमा राप्रपाले फराकिलो अन्तर बनाएको छ । मेयरमा राप्रपा उम्मेद्वारले १०२६० मत ल्याएका छन् । उनलाई कांग्रेसले मेयरमा ६७५० र एमालेले ६०६५ मतले पछ्याइरहेका छन् । उपमेयरमा राप्रपा उम्मेद्वारले ७२३१ मत ल्याएका छन् । यहाँ उपमेयरमा कांग्रेस उम्मेद्वार ८४९४ सहित अग्रस्थानमा छन् । एमालेले उपमेयरमा ६७६८ मत ल्याएको छ ।