काठमाण्डौ । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले भाडामा बस्दै आएको घर नै खरीद गरेका छन् । बीबीसीका अनुसार ९ बेडरुम भएको यो घर वासिङ्टनकै कालोरा इलाकामा रहेको छ, जसलाई ओबामाले ८१ लाख अमेरिकी डलर(करिब ८४ करोड रुपैयाँ)मा खरीद गरेका हुन् । 

खबरका अनुसार ओबामाकी १५ वर्षीया सानी छोरी साशाको हाइस्कूल पास गर्ने अवधिसम्म ओबामा परिवार वासिंग्टनमै बस्नेछ । 

जनवरीमा कार्यकाल समाप्त भएपछि ओबामा र उनकी पत्नी मिसेल विश्वभरि घुमिरहेका छन् । 

ओबामाका प्रवक्ता केविन लुुइसले घर खरीद गरिएको पुष्टि गरेका समाचारमा उल्लेख छ । उनले भनेका छन्–‘ओबामा आगामी अढाई बर्षसम्म वासिङ्टनमै रहनेछन् । यस्तो अवस्थामा उनका लागि घर खरीद गर्नु सही निर्णय हो ।’ 

अमेरिकी खुफिया सेवाका एजेन्टहरुले यो घरलाई चौबीसै घण्टा पहरा दिनेछन् । ओबामा परिवारको सिकागोमा समेत अर्को एक घर रहेको छ । ओबामाले सिकागोको घर चाहि पूूर्व राष्ट्रपति बिल क्लिन्टनका प्रेस सचिव जो लकहर्टबाट खरीद गरेका थिए । 

ओबामाको यो घर नजिकै अनलाइन कम्पनी अमेजनका मालिक जेफ बेजोसको घर समेत रहेको छ । राष्ट्रपति ट्रम्पकी छोरी इवान्काको घर पनि ओबामाको घर नजिकै रहेको छ । 

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन पनि यही इलाकामा बसिरहेका छन् ।