काठमाण्डौ । भारतको मणिपुर राज्यमा १६ औं शताब्दीदेखि सुरु भएको इमा बजार सायद विश्वकै एउटा मात्र यस्तो बजार हो, जसलाई महिलाहरुले मात्र चलाउँछन् । 

इमा बजारको अर्थ हो आमाहरुको बजार । यो बजार सुरु हुनुुको कथा समेत निकै रोचक छ । १६ औं शताब्दीको आसपास यो क्षेत्रका घरका पुरुषहरु धानखेतमा काम गर्न जान्थे र घरमा महिलाहरु मात्र एक्लै बस्थे । घरमा बसेर पट्यारलाग्दो दैनिकी बिताउनुुभन्दा यी एक्ला महिलाहरुले आपसमा सल्लाह गरे र बिस्तारै बिस्तारै यो बजारको सुरुवात गरे । 

आज यो बजारमा ३५ सय महिलाहरुले पसल संचालन गर्छन् । 

यो बजार सन् १५३३ बाट सुरु भएको मानिन्छ । पुरानो बजारको छेउमै सन् २०१० देखि यो क्षेत्रमा सरकारले अर्को बजार समेत सुरु गरेको छ । 

यो बजारमा माछादेखि महंगा–महंगा कपडा समेत खरीद गर्न पाइन्छ । पुरानो बजारमा आज पनि महिलाहरु अग्ला–अग्ला खाटमा बसेर व्यापार गरिरहेका भेटिन्छन् । 

तर, रमाइलो पक्ष, यहाँका व्यापारीबीच अन्य बजारको जस्तो अस्वस्थ प्रतिस्पर्धा छैन, कारण कुनै एउटा दोकानमा गएर सामान छान्दा तपाईलाई मन परेन भने तिनै दोकानदार महिलाले आफ्नो भन्दा राम्रो सामान पाउने अर्को दोकान देखाइदिन्छिन् ।