काठमाण्डौ । भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा माओवादी कार्यकर्ताले ९० मत च्यातेका प्रष्टिएको छ । 

निर्वाचन आयोगको निर्देशनमा बिहीबार खोलिएको मतगणनास्थलमा प्रहरीले मुचुल्का गरी च्यातिका मतपत्र समेत राखेको पोको खोलेर गन्ने क्रममा ९० मतपत्र च्यातिएको पाइएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए । 

उनले ९० वटा मतपत्र च्यातिएको जानकारीसहितको प्रतिवेदन निर्वाचन आयोगलाई बुुझाएको र अब आयोगको निर्देशनअनुसार अगाडि बढ्ने बताए ।

भरतपुर महानगरपालिकाको मतगणना अन्तिम अवस्थामा पुुगेपछि एमालेको तर्फबाट मेयरका उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिएका थिए । माओवादी अध्यक्ष प्रचण्डकी पुत्री रेणुु दाहाल समेत मेयरमा उठेकी र उनलाई कांग्रेसको समेत समर्थन रहेकाले हार्ने अवस्था भएपछि पुनः निर्वाचन गराउने नियतले मतपत्र च्यातेको एमालेले आरोप लगाउँदै आएको छ । एमालेले त्यहाँको मत पुनः गणनाको माग गर्दै संसददेखि सडकसम्म तताइरहेको छ ।  

आइतबार राति भरतपुर वडानम्बर १९ को मतगणना हुने क्रममा रेणु दाहालको प्रतिनिधिको रुपमा गणनास्थलमा छिरेका माओवादी कार्यकर्ताहरुले मतपत्र च्यातेका थिए । ती दुुई कार्यकर्तालाई प्रहरीले तत्काल पक्राउ गरेको थियो । उनीहरु दोषी प्रमाणित भएपछि जिल्ला अदालतले बिहीबार नै जनही १ लाख रुपैयाँ धरौटी लिएर ती दुुईलाई रिहा गरिसकेको छ ।