काठमाण्डौ । पाको उमेरका कर्मचारीलाई सम्मानजनक विदाई गरी युवा तथा उत्साही जनशक्तिलाई भर्ना गर्दै युवा जनशक्तिले भरिपूर्ण संस्था बनाउने उद्देश्यसहित राष्ट्रिय वाणिज्य बैंकले निकट भविष्यमै पुनः ठूलो संख्यामा कर्मचारी भर्ना गर्ने भएको छ । 

हाल यो बैंकले यसअघि खुलाएको विज्ञापन अनुसार सफल ६६१ लाई कर्मचारीको रुपमा भर्ना गर्ने प्रक्रिया सुरु गरिसकेको छ । 

यो प्रक्रिया सकिएलगत्तै पुनः ३०० देखि ३५० सम्म नयाँ र फ्रेस कर्मचारी लिइने र त्यसको विज्ञापन गर्ने तयारी भइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिएका छन् । 

श्रेष्ठ बैंक व्यवस्थापनको नेतृत्वमा आएपछि उनले प्रविधिमैत्री हुन नसकेका पाका उमेरका कर्मचारीलाई सम्मानजनक विदाई गर्ने र नयाँ कर्मचारीको रुपमा प्रविधिमैत्री, युवा र उत्साहीहरुलाई भित्र्याउने क्रममा थालनी गरेका हुन् ।

उनी ३ वर्षे कार्यकालका लागि सीइओ भएर आएपछि पहिलो चरणमा ८६० नयाँ र युवा कर्मचारी भर्ति गरेका थिए । त्यसपछि ६६१ भर्ति गर्ने प्रक्रियामा छ । दुईपटकमा गरी १५२१ नयाँ कर्मचारी भर्ति हुनेछन्। 

हाल बैंकमा कर्मचारी संख्या २३०० रहेको छ । तीमध्ये २०० बाहेक अन्य अधिकांश कर्मचारीहरुको कार्यकाल सकिन १० वर्ष भन्दा कम समय मात्र बाँकी छ । यसकारण पनि बैंकले भविष्यलाई हेरेर युवा जनशक्ति भित्र्याउने अभियानलाई तीव्रता दिइरहेको उनले जानकारी दिए । ‘अहिले हाम्रो बैंकका ९० प्रतिशत कर्मचारी युवा छन् ।’ सीइओ श्रेष्ठले भने–‘१० प्रतिशत कर्मचारी मात्र केही पाका होलान् । हाम्रो बैंकका कर्मचारीको औसत उमेर ३३ वर्ष छ, जुन समग्र २८ वटा वाणिज्य बैंककै कर्मचारीको औसत उमेर निकाल्ने हो भने सबैभन्दा कम उमेरको होला । त्यसकारण अब राष्टिय वाणिज्य बैंक युवा, दक्ष र उत्साही कर्मचारीले भरिपूर्ण युवाहरुको बैंक बनेको छ ।’ 

पचपन्न वर्षको इतिहास बोकेको बैंकमा ५५ वर्ष हाराहारीकै कर्मचारीको संख्या बढी होला भन्ने धेरैको सोचाई भए त्यो अब गलत हुने श्रेष्ठ दाबी गर्छन् । ‘हामीले राष्ट्रिय वाणिज्य बैंकलाई एकदमै युथ, उत्साही, छानिएका र खारिएका कमचारीले काम गर्ने थलो बनाइसकेका छौ । यो बैंक युथहरु भएको बैंकको रुपमा रुपान्तरण भएको छ।’ उनले थपे–‘ हामीले अझै युथहरुलाई आकर्षण गरिरहेका छौ । युथहरुलाई सम्बोधन गर्नसक्ने जनशक्ति हामीसँग छ ।’ 

युवा जनशक्तिलाई बैंकप्रति आकर्षित बनाउनैका लागि आफूहरुले आरबीबी इम्पावरमेन्ट अकाडेमीको सुरुवात गरेको जानकारी दिंदै सीइओ श्रेष्ठले थपे–‘अब पुरानो ढर्राबाट बैंक चल्न सक्दैन । नयाँ ढंगले नगए गाह्रो छ ।’

उनले ६६१ कर्मचारी माग गरेर यसअघि गरिएको विज्ञापनमा ९५ हजारको आवेदन परेबाट समेत राष्ट्रिय वाणिज्य बैंक र समग्र बैंकि« क्षेत्रमा करिअर बनाउन चाहनेहरुको आकर्षण कुन हदसम्म छ भन्ने कुरा प्रष्टिने दाबी गरे । 

उनले नाफामा मात्र नभई अब हरेक हिसाबले राष्ट्रिय वाणिज्य बैंक देशकै नम्बर वान बैंक बन्ने दाबी समेत गरे । ‘अब हाम्रो मिसन नै छ–क्लिन एण्ड स्मार्ट आरबीबी । बाहिरी र भित्री रुपमा पनि सफा बैंक बनाउने, स्मार्ट बनाउने हाम्रो लक्ष्य छ।’ उनले भने–‘टेक्नोलोजीमा पनि सुधार गर्नेछौ र आन्तरिक तथा बाह्य संरचनाहरुमा आमूल सुधार गरी राष्टिय वाणिज्य बंैकलाई भरपर्दो र रहरलाग्दो बैंक बनाउनेछौ ।’

बैंकले शाखा बिस्तारमा समेत आक्रामक मुभ लिएको र आगामी चैत मसान्तसम्म शाखा संख्या बढेर २५० पुग्ने लक्ष्य रहेको श्रेष्ठले जानकारी दिए । हाल यो बैंकको शाखा संख्या २३८ रहेको छ । 

यो बैंकले नेपाल सरकारले अगाडि सारेको सहुलियतपूर्ण कर्जामा समेत निकै ठूलो योगदान दिएको छ । हालसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित सहुलियत कर्जामध्ये ५० प्रतिशत यही बैंकले मात्र प्रवाह गरेको डेपुटी सीइओ केशव लम्सालले जानकारी दिए । 

लम्सालका अनुसार नेपाल राष्ट्रबैंकले नभने पनि राष्ट्रिय वाणिज्य बैंकले कुल कर्जाको कम्तीमा १ प्रतिशत सहुलियत कर्जामा जाने सोंच बनाएको छ ।