काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमीटेडले ९६ करोड ६१ लख बराबरको साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले १०० रुपैयाँ  अंकित  दरको कुल ९६ लाख ६१ हजार कित्ता आइपीओ निश्कासन लगायतका प्रस्ताव पारित गर्ने उद्देश्यले आगामी माघ ११ गते विशेष साधारणसभा आह्वान गरेको छ ।

जसका लागि कम्पनीले बिहीबारदेखि बुक क्लोज गरेको छ । यसको अर्थ बुधबारसम्म यो कम्पनीको सेयर खरीद गर्नेहरु विशेष साधारणसभामा सहभागी हुन पाउनेछन् ।

दोलखा जिल्लामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको यो कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । जसको ४६ प्रतिशतले हुन आउने ९६ करोड ६१ लख रुपैयाँ बराबरको सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा, संस्थाका कर्मचारी, म्युचुअल फण्डहरु र सर्वसाधारणका लागि जारी हुन लागेको हो । विशेष साधारणसभाले आइपीओ निश्कासनको प्रस्ताव पारित भएपछि अन्य प्रक्रिया अगाडि बढ्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

कम्पनीमा ८८ प्रतिशत सेयर स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ । 

कम्पनीले  मनाङ जिल्लास्थित नार खोलामा ३१.७७ मेगावाट क्षमताको माथिल्लो नार जलविद्युत आयोजनाको मंसीर १४ तथा सोलुखुम्बु जिल्लामा अवस्थित इङ्खु खोलामा २४.२२ मेगावाट क्षमताको माथिल्लो इङ्खु जलविद्युत आयोजनाको मंसीर २५ गते विद्युत विभागबाट  उत्पादनको सर्वेक्षण अनुमति पत्र प्राप्त गरेको छ । कम्पनीले संखुवासभा जिल्लामा  ४५ कसुवाखोला आयोजनामा समेत लगानी गर्ने बताइएको छ ।