काठमाण्डौ । अस्तव्यस्त नेपालको धितोपत्र बजारलाई सम्बद्ध निकायहरुले चाहेको खण्डमा सुधार धेरै समय लाग्दैन  भन्ने कुराको उदाहरण चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा धितोपत्र बोर्डले गरेका कामहरुले देखाएको छ । 

धितोपत्र बोर्डले धितोपत्रको प्राथमिक तथा दोश्रो बजार सुधारका लागि यो अवधिमा ऐतिहासिक कामहरु गरेको छ । सार्वजनिक निश्कासनका लागि पट्यारलाग्दो लाइन बस्नुपर्ने बाध्यता हटाएको छ भने सार्वजनिक निश्कासनदेखि कारोबारसम्मको समयअवधि ६ महिनाबाट ५० दिनमा छोट्याउन बोर्ड सफल देखिएको छ । 

यस्तै, दोश्रो बजार सुधारका लागि इन्टरनेटमार्फत धितोपत्र खरिद बिक्रीका लागि आदेश दिनसक्ने लगायतका व्यवस्था समेत बोर्डले कार्यान्वयनमा ल्याएको छ । समग्र पूँजीबजारको विकासका लागि बोर्डले यो ९ महिने अवधिमा के के गर्यो र आगामी दिनमा के गर्दैछ त ?

हेरौं बोर्डले नै सार्वजनिक गरेको यो विवरण:

प्राथमिक बजार
१. सार्वजनिक निष्काशन कार्यलाई थप व्यवस्थित गर्ने उद्देश्यले २०७३ माघदेखि सुरु गरिएको आस्वा प्रणालीलाई २०७४ श्रावणदेखि अनिवार्य गरी प्राथमिक बजार सेवा ६५ बैंक तथा वित्तीय संस्थाका २५०० भन्दा बढी शाखामार्फत् देशभर ७७ जिल्लामा पुर्याइएकोमा धितोपत्रको प्राथमिक बजारलाई स्वचालित बनाउन २०७४ फागुन ११ देखि सीआस्वा प्रणाली अनिवार्य गरिएको छ । यसबाट धितोपत्रको सार्वजनिक निष्काशनदेखि कारोवारसम्मको समयावधि छ महिनाबाट ५० दिनमा छोट्टिएको र निष्काशन लागत कम हुनुका साथै लगानीकर्तालाई समेत सहज भएको छ ।

२. पुँजी परिचालनका लागि प्रोत्साहनमूलक व्यवस्था गर्न बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ लागू गरी प्राथमिक निष्काशनमा आवेदन दिने सम्पूर्ण आवेदनकर्तालाई न्यूनतम १० कित्ता सेयर बाँडफाँट गरिनुपर्ने व्यवस्था लागू गरी धितोपत्र बाँडफाँट प्रणाली समावेशी बनाएको छ ।

३. वित्तीय अवस्था सन्तोषजनक नरहेका मुख्यतः जलविद्युत कम्पनीहरुको सार्वजनिक निष्काशन सम्बन्धमा खुलाउनुपर्ने थप विवरण सम्वन्धमा व्यवस्था गरिएको छ ।

दोस्रो बजार
१. धितोपत्र लगानीकर्तालाई मार्जिन कारोवार सुविधा उपलव्ध गराउने तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले मार्जिन कारोवार सुविधा सम्वन्धी निर्देशन जारी गरिएकोमा नेप्सेबाट प्राप्त कार्यबिधिमा सुझाब दिइएकोमा बोर्डको सुझाब अनुसार पुनरावलोकन गरी पुनः प्राप्त कार्यबिधि स्वीकृतिको अन्तिम चरणमा रहेको छ।

२. धितोपत्रको कारोबार प्रक्रियालाई थप सहज, पारदर्शी, सरल, छिटो, छरितो र लगानीकर्तामैत्री बनाउन तथा कारोबार सम्बन्धी अभिलेखलाई थप परिर्मािजत र सुधार गर्दै जाने क्रममा इन्टरनेटमार्पmत धितोपत्र खरिद बिक्रीका लागि आदेश दिनसक्ने व्यवस्था गरिएको छ ।

मर्चेण्ट बैंकिङ्ग र धितोपत्र दलाल
१. मर्चेन्ट बैंकरको वित्तीय अवस्था सुदृढ बनाउन चुक्तापुँजीमा तीन गुणा भन्दा बढीले वृद्धि गर्नुका साथै सङ्गठित संस्थाको संरचना हेरफेर, मूल्याङ्कन, व्यवसायिक योजना, लोन सिण्डिकेशन, वर्किङ क्यापिटल फाइनान्सिङ, भेञ्चर क्यापिटल, प्राइभेट इक्विटी, हेज फण्ड जस्ता कोष सञ्चालन तथा सम्पत्ति व्यवस्थापन लगायतका विषयमा परामर्शदाताको रूपमा कार्य गर्न सक्ने गरी मर्चेन्ट बैंकरको कार्य क्षेत्र विस्तार गरेको छ।

२. धितोपत्र दलालले चुक्ता पुँजी बृद्धि गरी रु.२० लाखबाट रु.२ करोड पु¥याउनुपर्ने, शाखा कार्यालयको लागि आवश्यक मापदण्ड पूरा गरी बोर्डबाट स्वीकृति लिनुपर्ने, दक्ष जनशक्ति, आवश्यक पूर्वाधार विकास गर्नुपर्ने लगायतका व्यवस्था थप गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा नेपाल सरकारको स्वीकृति लिई आवश्यक संशोधन गरिएको छ ।

३. धितोपत्र बजारको सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी, व्यवस्थित र अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुरूप बनाउन बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा मर्चेन्ट बैंकर) सुपरिवेक्षण दिग्दर्शन, २०७४ पहिलो पटक बनाई लागू गरेको छ। 

४. बोर्डले धितोपत्र दलाल व्यवसायीहरुले राख्नुपर्ने ग्राहकको विवरणलाई विस्तृत रुपमा परिमार्जन गरी समयसापेक्ष बनाएको छ ।

अन्य सुधार
१. पहिलोपटक आ.व. २०७४।७५ को धितोपत्र सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक रुपमा घोषणा गरी प्रकाशन गर्न शुरुवात गरेको छ ।

२. बोर्डको कर्मचारी आचार संहिता र बोर्ड संचालकहरुको आचार संहिता लागू भैसकेको पृष्ठभुमीमा सूचिकृत संगठित संस्थाहरुको संस्थागत सुशासन कायाम गर्न सो सम्बन्धी निर्देशिका जारी गरेको छ र सो आगामी श्रावण १ बाट लागू हुनेछ ।

३. धितोपत्र सम्बन्धी ऐन, २०६३ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम धितोपत्र व्यवसायमा संलग्न सवैलाई जिम्मेवार बनाई सम्पत्ति शुद्धीकरण तथा आतङ्गवादी क्रियाकलापमा वित्तीय लगानीलाई निरुत्साहित तथा नियन्त्रण गर्ने उद्देश्यले बोर्डले सम्पत्ती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९ लाई प्रतिस्थापन गरी “सम्पत्ती शुद्धीकरण तथा आतङ्गवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४” लागू गरेको छ ।

४. धितोपत्र बजार नियमन निकायहरुको अन्र्तराष्ट्रिय संस्था IOSCO को सिद्धान्त तथा अन्र्तराष्ट्रिय अभ्यास वमोजिम वोर्ड तथा नेपाल राष्ट्र बैंक बीच सूचना आदान प्रदान तथा पारस्परिक सहयोग सम्वन्धी सम्झौता गरिएको छ ।

५. वस्तु विनिमय वजार सम्वन्धी ऐन, २०७४ को व्यवस्था बमोजिम नेपाल सरकारको स्वीकृतिमा वोर्डले वस्तु विनिमय वजार सम्बन्धी नियमावली, २०७४ लागू गरीएको छ ।

६. देशका विभिन्न स्थानमा पूँजीबजार सम्बन्धी प्रशिक्षण कार्यक्रम संचालन भैरहेका छन् ।

कारबाही तथा जरीवाना
१. सूचिकृत जलविद्युत कम्पनीको नक्कली सेयर कारोबार सम्बन्धमा धितोपत्र दलाल व्यवसायी अग्रवाल सेक्युरिटिज प्रा.लि. र श्रीहरि सेक्युरिटिज प्रा.लि. लाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार रू. १० लाख जरीवाना गरिएको छ ।

२. ग्राहकको पूर्ण विवरण सहितको अभिलेख नराखेको पाइएकोले उक्त दलाल व्यवसायीका सम्बन्धित कार्यकारी प्रमुखलाई रू. ५० हजार जरीवाना गरिएको छ ।

३. ग्राहकको पूर्ण विवरण सहितको अभिलेख नराखेकोमा सिप्रवी सेक्युरिटज प्रा.लि.लाई रू. ५० हजार जरीवाना गरिएको छ।

४. व्यावसायिक आचरण पालना नगरेको पाइएकोले प्रज्ञान सेक्युरिटिज प्रा.लि. लाई रू. ७५ हजार जरीवाना गरिएको छ ।

प्रक्रियामा रहेका काम
१. भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फण्ड, पूर्वाधार कोष, हेज फण्ड, साना तथा मझौला कोष सम्बन्धी व्यवस्था समावेश गरी वैकल्पिक लगानी कोष नियमावलीको प्रारम्भिक मस्यौदा तयार गरिरहेको छ ।

२. कारोबार तथा सूचिकरण सम्बन्धी नियमावली स्वीकृतिका लागि नेपाल सरकार अर्थ मन्त्रालय पठाइएको ।

३. राज्यको संघिय संरचना बमोजिम बोर्डको प्रादेशिक कार्यालय स्थापना गर्ने सम्वन्धमा अध्ययन कार्य शुरु गरिएको छ । 

४. धितोपत्र बजार सरोकारवालाको क्षमता अभिबृद्धिको लागि आवश्यक व्यवस्था गर्न बजार सहभागीहरुको साझेदारीमा धितोपत्र बजार प्रशिक्षण प्रतिष्ठानको स्थापना कार्यको अध्ययन कार्य अगाडि बढाईएको छ ।