काठमाण्डौ । हाल परीक्षणमा रहेको स्वचालित अनलाइन सेयर कारोबार प्रणाली अन्तरगत केही दिनभित्रै लगानीकर्ता स्वयम्ले खरीद तथा बिक्री आदेशको अभ्यास गर्न पाउने भएका छन् । 

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृतले लगानीकर्ताहरुको एक समूहलाई यस्तो जानकारी दिएका हुन् । 

बिहीबार साउदलाई भेट्न नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल नेतृत्वको समूह नेप्से मुख्यालय पुगेको थियो । सो क्रममा साउदले खरीदबिक्रीको आदेश नेप्सेको परीक्षण सिस्टममा लगानीकर्ता स्वयम्ले हाल्न सक्ने व्यवस्था गर्न लागिएको बताएका हुन् । ‘अर्को हप्ताभित्रमा लगानीकर्ताले अभ्यासका लागि यो सुविधा पाउने उहाँको आशय थियो ।’–अध्यक्ष पोखरेलले भनिन् । 

सो क्रममा सीइओ साउदले असार मसान्तमा भएको नेप्से प्रमुख परिवर्तनको लफडाले अनलाइन प्रणालीको पूर्ण कार्यान्वयनको पूर्व निर्धारित समयतालिका केही परिवर्तन भएको र अब यो प्रणालीको पूर्ण कार्यान्वयनमा कम्तीमा पनि २ हप्ता ढिलाई हुनसक्ने संभावना व्यक्त गरेका थिए । 

साउदका अनुसार यूजर एसेप्टेन्स टेस्ट(यूएटी)को काम असोजको तेश्रो साताभित्र हुने र यूएटी गर्ने कम्पनीले आइएसओ सर्टिफाई गरिसक्नेछ । त्यसपछि सेवोनले स्वीकृति दिएपछि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आउनेछ । 

सो क्रममा नेप्सेले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप अनलाइन कारोबारको बारेमा बुझ्नका लागि ५० वटा ब्रोकरलाई श्रीलंका लगायतका देशहरुको भ्रमणमा बिहीबार नै पठाइएको जानकारी समेत साउदले दिएका थिए ।