माधव निर्दोष, कार्यक्रम संयोजक : बैंकिङ एक्स्पो–२०१७ तथा अध्यक्ष :मिडिया इन्टरनेशनल

देशमै  पहिलोपटक शुक्रबारदेखि तीन दिने बैंकिङ एक्स्पो सुरु गर्नुभएको छ, कस्तो छ जनसहभागिता ?
नेपालमा नै पहिलोपटक बैंकिङ एक्स्पो सुरु भएको छ । हिजो पहिलो दिन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले कार्यक्रमको भव्य समारोहका बीच उद्घाटन गर्नुभयो । कार्यक्रममा बैंकर्स, विद्यार्थी लगायत अन्य थुप्रै सर्वसाधारणहरुको उल्लेख्य सहभागिता रह्यो । खासमा पैसाको आवश्यकता हुनेहरु, पैसाको बचत गर्न तथा परिचालन गर्न नजानेर समृद्ध बन्न नसकेकाहरुको उत्साहप्रद सहभागिता रहेको छ । बैंक तथा बैंकिङ सेवा, सेयरबजार लगायतबारे जान्न चाहनेहरुको यो उत्साहजनक सहभागिता देख्दा खुसी लागेको छ । बाँकी दिनहरुमा अझै बढीको सहभागिता हुने अपेक्षा गरेको छु ।

एक्स्पोको उद्देश्य के हो ? बैंकिङ एक्स्पोको आयोजना गर्ने सोच कसरी आयो ?
नेपालमा बित्तीय साक्षरताको कमी छ, मानिसमा पैसा कमाउने, बचत गर्ने तथा लगानी गर्नेसम्बन्धी ज्ञानको कमी छ । यिनै कुराहरुलाई मध्यनजर गरी मैले बैंकिङ एक्स्पो आयोजना गरी जनताले चाहेको र आजको एकदमै आवश्यकताको विषय रहेको बैंकिङ तथा वित्तीय जानकारी दिने सोच बनाएँ । मेरो यो सोचमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरु, रेमिट्यान्स कम्पनीहरु, बीमा कम्पनीहरु, मर्चेन्ट बैंकरहरु लगायत पैसा तथा पैसाको कारोबारसँग जोडिएका सबै संस्थाहरुको साथ मिल्यो । खासमा कृषि, व्यवसाय तथा व्यवस्थापन अध्ययन गरेका विद्यार्थीलाई स्वदेशमा नै उद्यमी बन्न प्रेरित गर्ने उद्देश्य लिएर हामीले बैंकिङ एक्स्पो सुरु गरेका छौँ । नेपालमा उत्पादन भएका जनशक्तिले अर्काको देशमा गएर पसिना बगाउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो ।

बैंकिङ एक्स्पोका विशेष आकर्षणहरु के–के छन् ?
बैंकिङ एक्स्पोले आजको आवश्यकतालाई ध्यानमा राखेर निःशुल्क रुपमा बैंकिङ सूचना प्रदान गरिरहेको छ । एक्स्पोमा वाणिज्य बैंक, विकास बैंक, लघुवित्त, रेमिट्यान्स कम्पनी, बीमा कम्पनी, मर्चेन्ट बैंक, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष, नागरिक लगानी कोष लगायतका ४६ वटा स्टलहरु राखिएका छन् । सबै संस्थाले आफूले दिने सेवा तथा सुविधाका बारेमा स्पष्ट पार्नेछन् । एक्स्पोमा बैंक र बैंकका सेवाहरु, बैंकले लगानी गर्ने क्षेत्रहरु, उद्यमशीलता, बैंकिङ प्रविधिको प्रयोग र यसको प्रभावकारिता, सेयर बजार, बीमा लगायतका बारेमा अन्तक्र्रिया गर्ने अवसर मिल्नेछ । पैसा कमाउने, बचत गर्ने तथा लगानी गर्नेसम्बन्धी जुनसुकै जानकारी बैंकिङ एक्स्पोले दिनेछ । त्यसैले, यदि समृद्ध बन्न चाहनुहुन्छ, स्वदेशमै उद्यमी बन्न चाहानुहुन्छ भने एकपटक बैंकिङ एक्स्पो भिजिट गर्नुस् । बैंकिङ एक्स्पो शनिबार र आइतबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

अब दुई दिन बैंकिङ एक्स्पोमा के–के हुँदैछ ?
शनिबार विहान साढे ११ बजे बैंकिङ लगानी र उद्यमशीलताका बारेमा अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ भने साढे दुई बजे बैंकिङ प्रविधिसम्बन्धी अन्तक्रिर्यात्मक कार्यक्रम गरिनेछ । त्यस्तै, आइतबार विहान साढे ११ बजे सेयर बजारसम्बन्धी र साढे दुई बजे बीमा सम्बन्धी अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ । यी कार्यक्रमहरुमा सहभागी भएर सर्वसाधारणले बैंकिङ, बीमा, सेयर बजार, उद्यमशीलता लगायतका क्षेत्रसँग सम्बन्धित आफूले जान्न चाहेका जानकारीहरु प्राप्त गर्न सकिन्छ । यिनै क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरु आएर सर्वसाधारणको जिज्ञासा तथा प्रश्नहरुको जवाफ दिनुहुनेछ ।  

प्रायः ग्रामीण तथा दुर्गम भेगका मानिसहरुलाई वित्तीय साक्षरताको आवश्यकता रहेको भनिन्छ । बैंकिङ एक्स्पो किन राजधानी(सहर)मा आयोजना गरियो ?
काठमाडौँ सहरमा मुलुकका सबै कुनाकाप्चाका जनताहरु छन् । साँच्चै भन्ने हो भने अहिले गाउँमा मानिस नै छैनन्, सबै रोजगारी तथा अन्य कुनै शिलशिलामा सहर पसेका छन् । यस हिसाबले हेर्दा, काठमाडौँमा आयोजना गर्दा जति जनसहभागिता पाइएको छ, त्यो ग्रामीण भेगमा पाइँदैनथ्यो । अनि, वित्तीय साक्षरताको कमी गाउँमा नभएर सहरमा पनि छ । यो कुरा आजको जनसहभागिताले पनि प्रष्ट पारिसकेको छ । काठमाडौँकै मानिसहरु पनि कतिपय साथीभाईसँग सापटी लिएर पैसा चलाउँछन् । आफूले कमाएको पैसा गोजीमै राख्छन् र खर्च गरेर सकाउँछन् । बचत गर्ने तथा लगानी गर्ने बानीको विकास सहरकै मानिसहरुमा पनि भइसकेको छैन । सहरका मानिसले कमाउन जानेको भए पनि बचत गर्न र लगानी गर्न जानेका छैनन् । अनि, बैंकिङ एक्स्पोले सर्वसाधारणलाई थोरैबाट धेरै बनाउन अर्थात पैसा बचत गर्न तथा लगानी गर्न सिकाउने उद्देश्य बोकेको छ । अब विदेश जान्छु भनेर झोला बोकेर सहरसम्म आएका युवालाई गाउँमै फर्केर उद्यम गर्ने बनाउने लक्ष्य बैंकिङ एक्स्पोले लिएको छ ।

तपाईँका आगामी योजनाहरु के–के छन् ? सहरका जनतामा वित्तीय चेतना जगाइसकेपछि अब ग्रामीण भेगमा पनि जाने सोच्नुभएको छैन ?
हामीले गत कात्तिक २६ गतेदेखि वित्तीय जागरण : राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छौ । त्यही अभियानअन्तर्गत आज हामीले बैंकिङ एक्स्पोको आयोजना गरेका हौँ । अब यसै आर्थिक वर्षभित्र पूर्व दुई स्थानमा वित्तीय साक्षरताको कार्यक्रम लिएर हामी जाँदैछौँ । आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने योजना बनाएका छौँ । हरेक गाउँपालिका तथा नगरपालिकामा वित्तीय जागरुकता जगाउने उद्देश्यका साथ हामी लागेका छौँ ।