प्रद्युमन पोखरेल(प्रमुख कार्यकारी अधिकृत)–मुक्तिनाथ विकास बैंक लिमीटेड

देशकै सबैभन्दा बलियो विकास बैंक हो मुक्तिनाथ । यसका सबै सूचक बलिया देखिन्छन् । यसकारण यस्तो संस्थाले चाल्नसक्ने कदम र गरिरहेका कामहरुको विषयमा धेरैको चासो पनि रहन्छ । यो अर्थमा अहिले मुक्तिनाथ विकास बैंकले के गरिरहेको छ ? के गर्न खोज्दैछ ?
मुक्तिनाथ विकास बैंकको असोज मसान्तसम्मको वासलात हेर्नु नै भयो होला । हाम्रो वासलातको आकार ५६ अर्बभन्दा बढी भइसकेको छ । निक्षेप साढे ४९ अर्बभन्दा बढी भइसकेको छ । लगानीको आकार पनि पौने ४२ अर्बको भइसकेको छ । ग्रोथको हिसाबले हेर्ने हो भने ‘इयर टू इयर ग्रोथ’ ५० प्रतिशतको दरमा देखिएको छ । यो वर्ष हामी स्थापनाको १३ वर्ष पूरा गरी १४ वर्षमा प्रवेश गर्छौ । पुस १९ गते हाम्रो एनिभर्सरी पनि रहेको छ । 

हाम्रो बैंकको वार्षिक साधारणसभा यही ३० गते(मंसिर ३०) रहेको छ । यो वर्ष हाम्रो नयाँ संचालक समितिको समेत चयन हुनेछ । 

यसमा केही नौलोपन आउँछ ?
अवश्यक आउँछ । तर, जेजस्तो भए पनि सर्वसम्मतिको साथमा हरेक निर्णय हुने गरेको छ, योपटकका पनि यही ट्रेन्डले निरन्तरता पाउनेछ । अन्य बैंक तथा वित्तीय संस्थासँगको तुलनामा मुक्तिनाथ विकास बैंकको संस्थागत सुशासन साह्रै राम्रो छ । अब आगामी संचालक समितिमा पनि संचालक वा अध्यक्षको रुपमा जो–जो आउनुहुन्छ, उहाँहरु सर्वसम्मतिबाट आउनुहुन्छ भन्ने अपेक्षा राखेका छौं । 

तपाई आफैंले भन्नुभयो कि मुक्तिनाथको प्रत्येक वर्षको ग्रोथ ५० प्रतिशतको दरमा छ । मौद्रिक नीतिबाट भएका कतिपय व्यवस्था, स्प्रेडमा भएको कटौति, अन्य चार्जेजहरुमा भएको कडाई लगायतका कारणले बैंकहरुको प्रोफिट्याबिलिटी घट्यो भन्ने गुनासोहरु सुनिन्छन् । तर, यही विषम र अन्यौलको परिस्थितिमै मुक्तिनाथ बैंकको रफ्तार भने निकै राम्रो देखियो । यो कसरी संभव भयो(हुन्छ) ?
एकदमै राम्रो प्रश्न गर्नुभयो । कुनै पनि परिस्थितिमा जब जोखिम र चुनौति आउँछ, त्यो सँगसँगै अवसर पनि आउँछ । आजभन्दा ३ वर्षअघि म मुक्तिनाथ विकास बैंकसँग जोडिएको हुँ । त्यो बेलाको हाम्रो जुन स्प्रेडदर थियो, त्यो निकै राम्रो थियो । त्यो स्प्रेडदरलाई ८.५ प्रतिशतदेखि झारेर ५ प्रतिशतमा सीमित पार्नुपर्ने बाध्यता आइलाग्यो । जुन प्रतिशतले हाम्रो स्प्रेड घट्यो, त्यो प्रतिशतभन्दा बढी प्रतिशतले व्यापार विस्तार गर्न सक्यौं भने हाम्रो आम्दानीमा संकुचन आउँदैन । यो रणनीतिसहित मुक्तिनाथ विकास बैंक अगाडि बढ्यो । त्यसमा हामीले केही महत्वपूर्ण पक्षलाई ख्याल गर्यौं । जस्तो जोखिम व्यवस्थापन । यो एकदमै आवश्यक कुरा थियो । आफ्नो बेसलाई बलियो बनाउनुपर्ने थियो, त्यो बलियो बनाउँदै लग्यौं । 

बैंकको जुन ग्रोथ छ, त्यो अग्र्यानिक हुनुपर्छ भन्ने कुरामा हामीले विशेष ख्याल गर्यौं । यस्तै रणनीतिका कारण हाम्रो राम्रो रिजल्ट आयो । 

हाम्रो वासलातको आकारमा ३०० देखि ४०० गुणाको ग्रोथ देख्नुहुन्छ । अहिलेको अवस्थामा हाम्रो लगानी हेर्नुभयो भने ५० लाख रुपैयाँ वा त्यो भन्दा कमको कर्जाको हिस्सा कुल कर्जाको ८५ प्रतिशत रहेको छ । यसले हामीलाई २ वटा कुरामा सहयोग गर्यो । एउटा वित्तीय समावेशीकरण र अर्को जाोखिम न्यूनिकरण । यहीकारण यत्रो नयाँ–नयाँ नियमहरु र नीतिहरु आउँदा पनि हामीले आफूलाई अब्बल राख्न सकेका हौ ।

पछिल्लो कालमा हरेक बैंकका सीइओहरुले एउटा निश्चित अवधिका लागि रणनीति बनाउने गरेका छन् । तपाईले पनि ‘भिजन २०८०’ बनाउनुभएको थियो । त्यसमा के हुँदैछ ? यो रणनीति सफल भयो भने मुक्तिनाथ बैंक कहाँ पुग्छ ?
२०७५ सालको जेठ महिनामा जब मलाई संचालक समितिले प्रमुख कार्यकारीमा नियुक्त गर्नुभयो, मैले त्यसबेला ५ वर्षे रणनीतिक प्लान पेश गरेको थिएँ । जसमा वि.सं. २०८० असार मसान्तसम्ममा मुक्तिनाथ विकास बैैंकको स्वरुप कस्तो हुन्छ भन्ने कुरा गरेको छु । कतिपय रणनीतिक कुरा म यहाँहरुसँग सेयर गर्न सक्दिँन, तर म यति चाहि भन्न चाहन्छु कि मुक्तिनाथ विकास बैंकको वित्तीय सूचक २०८० असारमा हेर्नुभयो भने धेरै माथि पाउनुहुनेछ । मुक्तिनाथको वित्तीय पहुँच, वासलातको आकार, ग्राहकको संख्या पनि एउटा ऐतिहासिक उचाईमा पुग्नेछ । त्यो बेलासम्म हामीले देशको अर्थतन्त्रमा पुर्याउने योगदानको हिस्सा समेत निकै बढिसकेको हुनेछ । 

मैले यो संस्था डेपुटी सीइओको रुपमा ज्वाइन गरेको हुँ । हाम्रा आदरणीय भरत सर हाम्रो सीइओ हुनुहुन्थ्यो । त्यो बेलाको वासलातको आकार र आजको अकार हेर्नुभयो भने यसले पनि संकेत गर्छ कि आउँदो असार २०८० मा वासलातको आकार कस्तो हुन्छ भनेर ।

अहिलेको ट्रेण्डलाई यदि यहाँले फलो गरिदिनुभयो भने हाम्रो वासलातको आकार कहाँ पुग्छ, देशको अर्थतन्त्रमा हाम्रो योगदान के हुन्छ, वित्तीय समावेशीकरणको हिसाबले हामी कति अगाडि बढ्छौ भन्ने कुरा सहजै अनुमान लगाउन सक्नुहुन्छ । 

बैंक तथा वित्तीय संस्थाका सरोकारवालामध्ये महत्वपूर्ण पक्ष भनेको लगानीकर्ताहरु पनि हुन् । तपाईले एजीएजमको कुरा पनि उठाउनुभयो । यसले यसअघि घोषित लाभांश समेत पारित गर्ला नै । आगामी वर्षहरु सेयरधनीका लागि कति सुखद हुन्छन् ?तपाईको नेतृत्वमा चलिरहेको मुक्तिनाथले राम्रो लाभांश दिने ट्रेण्डलाई निरन्तर राख्नसक्छ?
निसन्देह उत्साहजनक रिटर्न दिन्छ । किनभने ब्यालेन्ससिट साइज, विजिनेशको ग्रोथ र आम्दानीको ग्रोथबाट नै रिटर्न बढ्दै जाने हो । यदि यस्ता चिज इन्ट्याक्ट रहन्छन् भने अहिलेसम्म हाम्रो सेयरहोल्डरले जे पाइराख्नुभएको छ, त्यो निरन्तर हुनैपर्छ । हामी त्यही मुताबिक अगाडि बढ्छौ । रिटर्न घट्दैन, बढ्ने अवस्था नै देख्छु । मुक्तिनाथ विकास बैंकलाई आफैं अझै कसरी सवल, सक्षम बनाउने भन्नेमा हाम्रो ध्यान रहनेछ । सेयरधनीलाई मात्रै नभई सबै सरोकारवालालालाई राम्रो गर्दै जाने हो । 

पछिल्लोकालमा नेपालको बैंकिङ क्षेत्रमा मर्जर र एक्वीजिसनको तातो बहस चलिरहेको छ । कहिलेकाही बजारमा मुक्तिनाथ विकास बैंकसँग अन्य बैंकको नाम समेत जोडिएर आउँछ । अहिले मुक्तिनाथ विकास बैंकको विषयमा चासो राख्ने र भलो सोच्नेहरुले यसको मर्जर वा प्राप्तिको रणनीतिमा आधिकारिक धारणा र लाइन जान्न चाहेका छन् । तपाईहरुको रणनीति के हो ?
पहिलो कुरा, हाम्रो नियमनकारी निकाय नेपाल राष्ट्रबैंकको मर्जर र एक्वीजिसनको आफ्नै नीति छ । अर्को, अरु बैंक तथा वित्तीय संस्था झै मुक्तिनाथ विकास बैंकले पनि आफ्नो रणनीति बनाएको छ । आउँदो वार्षिक साधारणसभामा एउटा अजेण्डा मर्जर र एक्वीजिसनको पनि छ । तर, यसका बाबजुद हाम्रो रणनीति प्रष्ट छ । हाम्रो संचालक समितिको प्रष्ट धारणा छ । मलाई कस्तो लाग्छ भने हाम्रो बैंकसँग एउटा रणनीति छ, जस अन्तर्गत यो विषयलाई यस ढंगले अगाडि बढाउन चाहन्छौ, जस अन्तर्गत हामी त्यस्ता बैंक तथा वित्तीय संस्थाहरुलाई मुक्तिनाथ विकास बैंकसँग मर्ज गराउन चाहन्छौ, जसको वित्तीय सूचकहरु निकै बलियो होस् । र, मुक्तिनाथ विकास बैंकको भिजन, मिसन र भ्यालूजसँग मिल्नसक्नेसँग मात्र हाम्रो मर्जर संभव छ । किनभने त्यस्तो अवस्थामा मात्रै मुक्तिनाथ विकास बैंकलाई बढीभन्दा बढी सिनर्जी क्रियट हुनसक्छ । 

हाम्रा लगानीकर्ताहरु हुनुहुन्छ, उहाँहरुको सम्पत्ति व्यवस्थापनलाई उच्च कदर गर्दै, वेल्थ म्याक्सिमाइजेसनलाई ध्यानमा राखी हाम्रा सबै सरोकारवालाको अपेक्षालाई मिट गर्दै यो संस्थाको सीइओको रुपमा र मेरो संचालक समितिको धारणलाई बुझ्दा यहाँहरुलाई म के आश्वस्त बनाउन चाहन्छु भने मुक्तिनाथ विकास बैंकले कुनै यस्तो कदम चाल्दैन, जसबाट यस संस्थाको आफ्नो सेवा, मूल्य र ब्राण्डमा कुनै गिरावट आओस् । हामी त्यस्तो वित्तीय संस्थासँग पक्कै पनि मर्ज हुँदैनौ, जसले हाम्रो ब्राण्ड इक्वीटी र ब्राण्ड मुक्तिनाथ तथा त्यसको भ्यालूलाई घटाउनेछ । यस्तो आत्माघाती काम हामीबाट कदापि हुनसक्दैन।

राम्रो संस्था आयो भने मर्ज भएर बिलाउन पनि तयार हो कि अथवा एक्वीजिसन मात्र रणनीति हो ?
राम्रो संस्थासँग मर्जर वा एक्वीजिसनमा जाँदा मुक्तिनाथ विकास बैंकको भिजन, मिसन, भ्यालू, ब्राण्ड इक्वीटी, नाम ‘मुक्तिनाथ’ नमेटिने गरी हामी अगाडि बढ्छौ । 

हामीले नेपाल राष्ट्रबैंकको नीतिलाई सपोर्ट गर्नैपर्छ, त्यसअनुसार अगाडि बढ्नै पर्छ । मैले अघि नै भनिसकेँ, वित्तीय सूचक बलियो हुनुपर्यो, जसको आगमनले मुक्तिनाथको ब्राण्ड इक्वीटी झनै बलियो भएर जानुपर्यो । हाम्रा लगानीकर्तालाई बढीभन्दा बढी रिटर्न आउनुपर्यो, यो शर्तमा मात्रै मुक्तिनाथ अगाडि बढ्छ । नाम चाहि मेटिने अवस्था हुँदैन यो बैंकको ।

कुनै बैंक वा वित्तीय संस्थासँग यो विषयमा छलफल भइरहेको अवस्था हो ?
मेरो जानकारीमा छैन । साच्चिकै भन्ने हो भने यो विषयमा मैले संचालकहरुसँग पनि सोधेको छु । उहाँहरुले पनि भन्नुभएको छ कि मुक्तिनाथ विकास बैंकले यस्तो कदम चाल्दैन, जसले यसको ब्राण्ड इक्वीटीमा, अहिलेसम्मको गरिएका आशा तथा अपेक्षामा कुनै कमीकमजोरी आउने गरी कुनै कदम लिँदैन । 

अब बैंकिङ उद्योगको अहिलेको अवस्थाको कुरा गरौं । अन्य वर्ष यो बेला तरलता अभावको समस्या निकै चर्किन्थ्यो । निक्षेप तानातानका लागि बैंकहरुको भागदौड पनि उस्तै हुन्थ्यो । यसपटक त्यस्तो देखिएन । के भएको हो यसपटक ? स्रोतहरु बढेर यस्तो भएको हो ?
आजको दिनमा यहाँले हेर्नुभयो भने तरलताको अवस्था सहज भएको हो कि जस्तो लाग्छ । तरलताको अवस्था सहज हुनुको पछाडि सरकारी पूँजीगत खर्च निकै बढी भएको तपाईलाई लाग्नसक्छ । तरलता धेरै इन्फ्लो भएको छ कि भन्ने पनि सोचिएला । तर कुरा त्यस्तो होइन । सरकारको पूँजीगत खर्च अहिले पनि गत वर्षझै न्यून नै छ । यसको बाबजुद तरलताको अवस्था धेरै असहज भने छैन । यदि यहाँले व्यवसायिक समुदायसँग अन्तरक्रिया गर्नुभयो भने उहाँहरुलाई धेरै मोटिभेसन छैन, नयाँ व्यवसाय सुरु गरिहाल्नका लागि कुनै प्रेरणा छैन । नयाँ कामहरु गर्नका लागि उत्साह नै छैन । विजिनेश कन्फिडेन्ट बलियो भएर गएजस्तो लाग्दैन । त्यसमा नीतिगत कुराहरु हुनसक्छन्, कर प्रणालीसँग सम्बन्धित कुराहरु होलान्, पारदर्शितासँग सम्बन्धित कुराहरु पनि होलान् । बिस्तारै यी कुरालाई पनि बलियो बनाउँदै लैजान आवश्यक छ । सन्तुलित रुपले अगाडि बढ्नुपर्ने समयमा यस्तो गाह्रो अप्ठ्यारो आउनसक्छ । 

यद्यपि यो पुस मसान्तपछि फेरि विजिनेश गतिविधि बढ्नेछ, कन्फिडेन्स बढ्ला, सम्बन्धित निकायबाट उनीहरुलाई मोटिभेट गर्ने काम होला र देशको हाम्रो जुन ग्रोथ टार्गेट छ, त्यो प्राप्तिमा अगाडि बढिएला । यस्तो भयो भने तरलता फेरि टाइट हुने संभावना देख्छु । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा ठगीका घटना बढिरहेका छन् । केही बैंकहरुको चेक र डेटा नै कब्जा गरी ठगीका घटना भए । आइटी सिस्टम ह्याक गरी बैंक फ्रड गर्ने घटना पनि बढिरहेकै छन् । यस्ता घटना न्यूनिकरणका लागि के गर्नुपर्छ ? तपाईहरुले के गरिरहनुभएको छ ?
महत्वपूर्ण प्रश्न हो यो । अहिले जुन किसिमको ठगीका समाचार सुनिरहेका छौ, सबैभन्दा महत्वपूर्ण कुरा, हाम्रो जनसमुदायमा नैतिक चेतना नभएर हो । त्यो नैतिक चेतना समग्रमा नेपालीमा बढाउन आवश्यक देख्छु । बैंक तथा वित्तीय संस्थाको मात्र होइन, समाजको कुरा हो यो । 

अर्को, त्यस्तो ठगीमा संलग्नहरुलाई कानूनी कठघरामा ल्याउने काम गर्ने निकायहरुलाई म धन्यवाद दिन चाहन्छु । यहाँको सुरक्षाप्रणालीलाई हामीले मान्नैपर्छ । एकदमै छिटो एक्सन लिइएको छ । 

तर, यसका बाबजुद सोचनीय पक्षहरु धेरै छन् । सबैभन्दा महत्वपूर्ण कुरा भनेको हरेक बैंक तथा वित्तीय संस्थाहरुले कुनै पनि काम गर्दा त्यो काम गर्ने नीति र प्रक्रिया बनाउन आवश्यक छ । बेला–बेला त्यसमा रिभ्यू गर्न आवश्यक छ । कुनै पनि जोखिम कारोबारबाट आउँछ ।

तपाईले खाता खोल्नुभयो, त्यो खाता खोल्दा डिफाइन पोलिसी हुनुपर्छ । त्यस्तो बेला नै डिफाइन स्ट्यण्डार्ड अपरेटिङ प्रोसिड्यूरलाई फलो गर्ने हो भने त्यहाँ जोखिम न्यून भएर जान्छ । हो यहीँ चूक भएको हुनसक्छ । 

अर्को, त्यो काम व्यक्तिले गर्ने हो । तसर्थ, बैंकिङमा सही व्यक्तिको चयन हुन आवश्यक छ । 

मान्छेलाई नैतिक मूल्यमान्यताको सचेतना हुन आवश्यक छ । यो मामलामा सही व्यक्तिको चयन हुनुपर्छ । 

बैंक तथा वित्तीय संस्थाको यति धेरै शाखा खोलिरहँदा त्यो हिसाबमा मानव संसाधनको आपूर्ति चाहि हाम्रो देशमा हुनसकेन । यसकारण एउटा ठूलो चुनौति नै राम्रो व्यक्ति कहाँबाट ल्याउने भन्ने हुन गयो । त्यसका लागि बैंक तथा वित्तीय संस्थाहरुले इन्ट्री लेभलबाटै कर्मचारीहरुलाई ग्रुम गर्दै लिएर जानुपर्ने अवस्था देखियो । धेरैले यो काम नगरेका कारण पनि यस्ता घटना भएका हुन कि जस्तो देखियो । 

कमीकमजोरी सबै ठाउँमा भएका छन् । बैंकका कर्मचारीलाई जरुरी ट्रेनिङ ओरिएन्टेसन दिन जरुरी छ । किनभने जति बढी उनीहरुको एक्सपोजर र कार्यक्षमता बढाउन सक्यो, त्यति बढी फाइदा संस्थालाई हुन्छ । जोखिम व्यवस्थापन मात्र होइन, अवसर पहिचान पनि त्यही जनशक्तिबाट हुन्छ । मान्छेले नै सबै कुरा गर्ने हो । कुनै सीइओ, संचालक समिति वा सिनियर म्यानेजरले गर्ने होइन । कुनै पनि बैंकको व्यवसाय शाखाबाट हुन्छ । त्यहाँ भएका साधारण कर्मचारीहरु, जस्तै लोअर लेभल, मिडिल म्यानेजमेन्ट लेभल, मिड सिनियर लेभल र सिनियर लेभल म्यानेजमेन्ट, सबै टिमलाई हामीले बढीभन्दा बढी दक्ष बनाउँदै, उनीहरुको क्षमता बढाउदै लगे, त्यसले रिस्कलाई पनि मिनिमाइज गर्छ र अवसरलाई पनि क्यापिटलाइज गर्छ । 

अर्को, आइटीमा अपग्रेडेसन गर्दै लैजानुपर्छ । अहिले नेपालमा जोखिम मात्र होइन, अवसर पनि छ । बाहिरतिर गुगल र अमेजनबाट मनि ट्रान्सफरको काम हुन थाल्यो । हाम्रो छिमेकी भारतमा यो कुरा सुरु भइसक्यो । हेर्नुहोला, आउँदो २०–२५ वर्षपछि बैंकको नाम रहँदैन, तर बैंकिङ सेवा चाहि रहन्छ । त्यो सेवा प्रवाह गर्न फिनटेक कम्पनी आउनसक्छन् वा अरु कम्पनी आउनसक्छन् । यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरुले बेलैदेखि आइटीमा लगानी गर्न आवश्यक छ ।

जहाँसम्म मुक्तिनाथ विकास बैंकको कुरा गर्नुहुन्छ, आजको दिनमा हाम्रो ब्यालेन्ससिटको साइज ५६ अर्बको भइसक्यो, हामीले ८५–८६ करोड नाफा त गत वर्षमै कमाएछौं । हाम्रा लागि आइटीमा लगानी गर्नु ठूलो चुनौति होइन । यसमा हाम्रो सोेंच क्लियर छ, हामीले यसमा आवश्यक लगानी गर्नेछ । हाम्रो मात्रै कुरा होइन, आजको दिनमा समग्रमा बैंक तथा वित्तीय संस्थाले यसमा लगानी गर्छन् । किनभने यसमा अवसर देखिएको छ । त्यसपछि यो जोखिम विस्तारै व्यवस्थापन हुन थाल्छ । 

काम गर्दै जाँदा बाधा अड्चन आउँछन, गल्तीहरु हुनसक्छन्, जोखिमहरु आउँछन् । त्यसलाई मिनिमाइज गर्दै हामी अगाडि बढ्छौ, आत्तिइहाल्नुपर्ने अवस्था म देख्दिँन । 

डेभलपमेन्ट बैंकहरुको छाता संगठन पनि छ । बेला बेला डेभलपमेन्ट बैंकर्स संघकोे तर्फबाट र कतिपय अवस्थामा तपाईहरुले पनि विकास बैंकलाई सरकारले विभेद गर्यो भन्ने गुनासो गर्नुहुन्छ । अहिलेको अवस्था चाहि के हो ? यस्तै, नेपालमा समेत युनिभर्सल बैंकिङको अवधारणा लागू गर्नुपर्छ भन्ने कुरा पनि आउने गर्छ । यसमा तपाईको धारणा के हो ?
अहिले देशमा रहेका विकास बैंकहरुको अवस्था साह्रै सवल छ । विकास बैंकको व्यवस्थापन होस्, विकास बैंकको सीइओमा बसेका व्यक्तिहरुको क्षमताको कुरा नै किन नहोस् वा संचालक समितिको बनावट, पारदर्शीता, संस्थागत सुशासन लगायतका कुरामा विकास बैंकहरु धेरै बलियो अवस्थामा छन् । वाणिज्य बैंकको तुलनामा कुनै पनि कोणमा उनीहरु कम वा कमजोर छन् जस्तो लाग्दैन । 

विकास बैंकहरुले राष्ट्रिय ढुकुटीमा पनि राम्रो योगदान गरिरहेका छन् । करको माध्यमबाट मात्र नभई, राष्ट्रिय अर्थतन्त्रको विकासका लागि पनि राम्रो काम गरिरहेका छन् । वित्तीय समावेशीकरणमा पनि विकास बैंकको महत्वपूर्ण भूमिका छ । 

तर, यसको बाबजुद नीतिगत र प्रक्रियागत लेभलमा केही कमजोरी भएका छन् । विकास बैंकहरुलाई सरकारी खाता संचालन गर्न र सरकारी कारोबार गर्न अहिले अनुमति छैन । यो अनुमति दिइनुपर्छ । किनभने हिजोको जस्तो आजका विकास बैंकहरुको पूँजी न्यून छैन, धेरै बढिसक्यो । आजभन्दा ३ वर्षअघिका वाणिज्य बैंकको भन्दा डबल हुने अवस्था भइसक्यो । मुक्तिनाथकै कुरा गर्दा ४ अर्ब ३२ करोड चुक्तापूँजी पुग्दैछ । यो हिसाबले हेर्दा विकास बैंकहरु सक्षम छन् । म यहाँको मिडियामार्फत वित्तीय पहुँचलाई अझ बढाउन, वित्तीय समावेशीकरणलाई अझै सुदृढ गर्न सरकारी खाता संचालन तथा सरकारी कारोबारहरु पनि विकास बैंकहरुबाट हुन जरुरी छ भन्ने सन्देश प्रवाह गर्न चाहन्छु । सम्बन्धित निकायलाई यहीँबाट त्यस्तो काम गर्न हामीलाई अनुमति दिइयोस् भन्ने अनुरोध छ ।

जहाँसम्म युनिभर्सल बैंकिङको कुरा छ । आजको दिनमा हाम्रो बाफियाले ए, बी, सी, डी भनेर बैंक तथा वित्तीय संस्थाहरुको वर्गीकरण गरिदिएको छ । आउँदो केही वर्षसम्म बैंकहरुको यो वर्गीकरण यथावत रहन्छ जस्तो लाग्छ । हुन त क्याबिनेटबाट पारित ‘वित्तीय क्षेत्र विकास रणनीति’मा ०७८ असार मसान्तसम्ममा युनिभर्सल बैंकिङमा जाने लक्ष्य राखिएको छ । त्यसबेला आफ्नो पूँजीको हिसाबले बैंकहरुले सकेसम्मका वित्तीय सेवा दिनसक्ने भनिएको छ । त्यो अवस्थामा विकास बंैकहरुको महत्व अझै बढेर जानेछ । 
प्रस्तुती: सोमनाथ