काठमाण्डौ । ‘इन्टरनेसनल फिमेल राइड डे’ शनिवार नेपालमा पनि मनाइएको छ । 

फिमेल राइड डेको अवसरमा स्कुटर र्याली र जिमखाना गरिएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कम्पाउण्डबाट प्रारम्भ भएको महिला स्कुटर राइडरहरुको टोली गोदाबरी पुगेको थियो । गोदाबरीमा सोही समयमा जिमखाना समेत आयोजना गरिएको थियो । 

जिमखानामा बर्षा बस्नेतले पहिलो, नीता डिसीले दोस्रो र आज्ञा खनालले तेस्रो स्थान हासिल गरिन् । मोटरसाइकल रेसिङको पहिलो चरणलाई ‘जिमखाना’ भनिन्छ । यसमा मोटरसाइकल वा स्कुटरलाई बाङ्गोटिङ्गो सर्किटमा निश्चित समयमा निश्चित नियमका साथ घुमाउनु पर्छ । 

प्रत्येक वर्ष मे महिनाको पहिलो शनिबार ‘इन्टरनेसनल फिमेल राइड डे’ मनाइन्छ । संसारको जुनसुकै स्थानमा भए पनि महिलाहरु पनि मोटरसाइकल वा कुनै पनि सवारी साधन चढ्न र त्यसैमा रमाउन चाहन्छन् र सो चाहना पूरा गर्नुपर्छ भन्ने यो दिवसको सन्देश रहेको राइडरहरुले बताए । ‘जहाँ, जसरी र जे चढे पनि शनिबार तपाईँकै राइड डे हो’ भन्ने यसको भनाई छ । 

हाल विश्वका धेरै देशमा फिमेल राइड डे मनाइन्छ । नेपाल मोटरसाइकल फेडरेसन(एनएमएफ)को तत्वाबधानमा मनाइएको राइड डेको व्यवस्थापन राइडर्स युनिफाइडले गरेको थियो ।