-सुदर्शन शर्मा

काठमाण्डौ । भनिन्छ अन्तिम सास रहुञ्जेलसम्म आश रहन्छ । ऋण लिएर सेयर बजारमा लगानी गरी ६५ प्रतिशतभन्दा बढी सम्पत्ति गुमाएका पुरुषोत्तम सापकोटा कुनै चमात्कार नै भइहाल्छ कि भन्ने झिनो आशासहित प्रतिक्षारत छन् । 

सेयर बजार र अन्य विविध विकल्पमा लगानी गर्नेहरुले हतपत आफ्नो गल्ती भन्दैनन् वा लुकाउँछन् । तर, सापकोटा यस्ता सेयर लगानीकर्ता हुन्, जसले आफूले लामो समयदेखि बजारमा लगानी गर्दा कहाँ–कहाँ गल्ती गरेँ भन्ने कुराको एकएक हिसाब राखेका छन् र  मिडियासामु खुलेरै आत्मासमीक्षा गर्न समेत पछि पर्दैनन् ।

धेरै धनी बन्ने सपना देखेर नेपालको सेयर बजारमा लगानी गर्न चाहनेहरुका लागि सापकोटाको यो तीतो भोगाई गतिलो पाठ बन्नसक्छ । नेपालको सेयर बजार यही हो, जसले केहीलाई करोडपति पनि बनाइदिएको छ, तर धेरैलाई यही बजारले उठ्नै नसक्ने गरी डूबाइदिएको छ । डूबेर पनि उठ्न कोशिश गर्नेहरुको जमात यहाँ निकै सानो छ । यही सानो जमातभित्रका एक उदाहरणीय पात्र हुन् सापकोटा । 

गुल्मीका सापकोटा अध्ययनको सिलसिलामा २०४८ सालमा काठमाण्डौ छिरेका थिए । काठमाण्डौमा सुरुवाती दिनहरुमा उनले चीनको खासाबाट कपडा ल्याएर भोटाहिटी क्षेत्रमा बिक्री गरी गर्जो टार्ने काम गरेका थिए । त्यसपछि उनले व्यापारको विविध क्षेत्रमा हात हाले । कतिबाट भनेजस्तै फाइदा भयो भने कतिपयबाट निराशा मात्र हात लाग्यो । 

यो बीचमा उनले आफ्नो पढाईलाई पनि अगाडि बढाइरहे । दिनभरि व्यापार गरेर नाइट सिफ्टमा कलेज पढ्दै उनले संघर्षका कठीन दिनहरु बिताउँदै गए । बीचको समयमा करिब ३ महिना उनी वैदेशिक रोजगारीका लागि जर्मन र नेदरल्याण्डसम्म पुगे, तर स्वास्थ्यले साथ नदिएपछि पुनः स्वदेश फर्किए । 

फेरि व्यापार र अध्ययनलाई निरन्तरता दिंदै काठमाण्डौमा उनले आफ्नो सर्कल बनाए । विभिन्न पेशा व्यवसायका साथीभाईसँग उठबसको क्रममा उनलाई सेयर बजारमा छिर्ने रहर जाग्यो । फलस्वरुप साथीभाईकै लहै–लहैमा लागेर उनले ०६३ सालदेखि सेयर बजारमा खुट्टा राखे । कमर्ज एण्ड ट्रस्ट बैंकको आइपीओमा आवेदन दिएर उनले सेयर बजारको यात्रा सुरु गरेका थिए । सो कम्पनीको २० कित्ता सेयर हात परेको उनले विगत सम्झिए । 

आइपीओ खरीद गरेको केही समयपछिदेखि नै उनले दोश्रो बजारमा पनि पाइला राखे । सो बेला प्रभू फाइनान्स, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबीआई बैंक र नवील बैंकका गरी कुल १२ लाख रुपैयाँ बराबरको सेयर किने । १२ लाखबाट सुरु भएको उनको लगानीमा बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला बजार तल झर्दा झट्का लाग्यो । 

बजार निकै तल झरेपछि उनमा निराशा छायो र सेयर बेचे । उनले बजार ११६५ को विन्दूमा पुगेको बेला समेत सेयर किनेका थिए । तर, त्यसपछि बजार अपेक्षित रुपमा माथि उक्लिन सकेन । बुल रनमा बजार छिरेका उनले जब बियरिस ट्रेण्ड सुरु भयो र अवस्था निकै प्यानिक बन्यो, त्यही बेला अत्तालिएर भएभरको सेयर बेचेर बजारबाटै निस्किने निर्णय गरे । भयो पनि त्यस्तै, बजारमा छिरेको केही वर्षमै तीतो अनुभव र सुपर घाटासहित उनी बजारबाट एक्जिट भए । केही वर्षसम्म उनी आइपीओमा मात्र सीमित बने । 

दोश्रो बजारबाट एक्जिट भए पनि सापकोटामा सेयर बजारप्रतिको नशा चढिसकेको थियो । केही वर्ष बिर्सिने कोशिश गरे पनि उनमा अझै लगानी गर्ने र सेयरबाटै कमाउने हुटहुटी कायमै थियो । भित्र–भित्रै दबिएको त्यही हुटहुटी ०६८ सालमा आएर पुनः विस्फोट भयो । सेयरको भौतिक युगको समाप्ति हुने खबरले बजार चम्किने आँकलनसहित उनी पुनः दोश्रो बजार प्रवेश गरे । 

यसपटकको दोश्रो बजारमा भने उनले सुरुवातमै ६५ लाख रुपैयाँ लगानी गरे, त्यो पनि सबै ऋण काडेर । उनले ऋण काड्ँदै आफ्नो पोर्टफोलियो बढाउँदै लगे । तर, सोचेजस्तो रिटर्न आउन सकेन । बजार अलटाइम हाई १८८१ हुँदा समेत उनले सेयर बेचेनन् । 

‘त्यसबेला केहीले त बजार अब घट्छ भनेर हल्ला गर्थे ।’ विगत सम्झिँदै सापकोटा भन्छन्–‘चलखेल गर्नेहरुले फगत चलाएको हल्ला जस्तो लागेर र वास्ता गरिएन । तर, १८८१ बाट बजार कहिल्यै माथि गएन, बरु झन झन तल आउँदै गयो ।’ 

सापकोटाले १८८१ मा समेत सेयर किनेका थिए । सो बेलासम्म उनको पोर्टफोलियो ऋणबाटै १ करोड ७५ लाख माथिको भइसकेको थियो । उनी जोखिम मोलिरहेका थिए । जे होला, होला भन्ने सोंचका साथ अगाडि बढेका उनले बियरिस ट्रेण्ड सुरु भएपछि कतिपय कम्पनीको सेयर सुपर घाटा खाएर बेच्नुपर्ने अवस्था सिर्जना भयो । 

केही समय आइपीओमा केन्द्रीत भई पुनः ठूलो लगानीसहित बजारमा प्रवेश गरेका उनलाई यो पटक पनि समयले साथ दिएन । नेप्सेको अलटाइम हाइर्म लगानी बढाउँदै गए । ‘अझै किनियो, आउट हुन सकिएन ।’ उनले भने–‘राजनीतिक र अन्य विविध कारणले बजार घट्दैछ भन्ने हल्लालाई सुनिँन ।’ 

उनी नेप्से परिसूचक १५०० को हाराहारीमा हुँदा पुनः बजार प्रवेश गरेका थिए । १८८१ पुग्यो र त्यसपछि बजार तल झरिरह्यो । सो क्रममा उनले अझ सुपर घाटा व्यहोरे । ‘प्रतिकित्ता रु. ४३०० मा किनेको नेपाल लाइफको सेयर ८०० को हाराहरीमा सीमित बन्न पुगेको छ ।’ उनले उदाहरण दिंदै भने–‘पछिल्लो पटक गरेको लगानी ६५ प्रतिशत घटिसकेको छ । १ करोड ७५ लाखको लगानीमा अहिले ६५ प्रतिशत लसमा छु ।’  

यति ठूलो घाटा व्यहोरेका सापकोटा अझै पनि बजारमै केन्द्रीत छन् । किन त ? उनले भने–‘स्टक मार्केटको घाटा अर्को ठाउँबाट पूर्ति गर्न सकिन्न । आगोले पोलेको घाउ आगोले नै सेकेर सञ्चो गराउन खोजेको हुँ । यो बजारमा निकट भविष्यमै बुल आउने आशा छ, त्यसपछि सेयर बेचेर अहिलेसम्मको घाटा पूर्ति गर्ने योजना छ।’

आइपीओबाट उनले कमाए पनि दोश्रो बजार उनलाई अहिलेसम्म फापेको छैन । कुनै कम्पनी विशेषको सेयरबाट कहिलेकाही कमाए पनि समग्रमा उनले कमाएका छैनन् । एशियन लाइफ इन्स्योरेन्सको सेयर १२७१ मा किनेर १८७५ मा बेची केही कमाए पनि समग्रमा आफूले दोश्रो बजारबाट नकमाएको उनको दाबी छ । उनले १२४० मा किनेको एनबी बैंकको मूल्य अहिले २०० रुपैयाँको हाराहारीमा छ । ‘मैले कति घाटा खाएँ हुँला तपाई आफैं हिसाब गर्नुहोस् ।’ एनबी बैंकको उदाहरण दिंदै उनले भने । 

लगानी रणनीति
कम्पनी विशेषको त्रैमासिक विवरण, वित्तीय सूचकहरु हेरेर मात्र उनले लगानीको निर्णय गरे । ‘अहिले लाग्छ यही नै उनको ठूलो गल्ती थियो ।’ किन त ? सापकोटा भन्छन्–‘नेपालको बजारमा इपीएस, वा अन्य सूचक हेरेर लगानी गर्नु बेकार रहेछ । यहाँ त जुन कम्पनीको चुक्तापूँजी कम छ, कुनमा खेल्न सकिन्छ, कुनमा कार्टेलिङ गर्न सकिन्छ भन्ने कुराले बढी महत्व राख्ने रहेछ । जसले चलखेल गर्न सक्छ, बजारबाट कमाउने उसैले रहेछ । केही लगानीकर्ताका नेता, ५० वटा ब्रोकर र केही मारवाडी समुदायको पकडमा बजार छ । यो समूहका हिस्सा बन्न सके सेयरबाट कमाउन सकिन्छ, नभए जस्तोसुकै विद्वान आए पनि नेपालको सेयरबजारमा गुमाउने नै हो ।’ 

सिकेको पाठ
सेयर बजारमा सुपर घाटा खाएर सापकोटाले निकै ठूलो पाठ सिकेका रहेछन् । ‘दोश्रो बजारमा लगानी गर्दा आफ्नो पूँजीको १०–२० प्रतिशत मात्र लगानी गर्नुपर्ने रहेछ । सबै लगानी ऋण गरेर गर्न थालियो भने मेरोजस्तै हालत हुने रहेछ । त्यसकारण कम्पनीको इपीएस, ग्रोथ वा संचालक हेरेर मात्र लगानी गर्नु हुँदैन । कुन कम्पनीको सेयर कर्नर गर्न सकिन्छ । कार्टेलिङ गर्न सकिन्छ भन्ने पनि हेर्नुपर्दो रहेछ । अहिले हेर्नुहोस् त माइक्रोफाइनान्सको सेयर मात्रै माथि गए ।’ उनले भने ।

उनको बुझाईमा अहिलेको बजारमा लघुवित्तको सेयरमा तीव्र कर्नरिङ गर्ने गिरोह सक्रिय छ । स्वार्थ समूह हाबी भएका कारण सोझो ढंगले बजारमा लगानी गरेर कमाउँछु भन्ने सपना नदेखे पनि हुने अवस्था रहेको उनी दाबी गर्छन ।  

सबै स्वार्थी
सापकोटाको बुझाईमा अर्थमन्त्रालयदेखि धितोपत्र बोर्ड, नेप्से, सिडिएससी, लगानीकर्ता नेता तथा ब्रोकर सबै आ–आफ्नो स्वार्थ पूर्तिमै सक्रिय हुने गरेका छन् । 

नेपालको सेयर बजार सीमित वर्गले चलाएको उनको दाबी छ । ‘जब यो दुईतिहाईको सरकार बन्यो, माफियाको अत्यधिक चलखेल भयो ।

अर्थमन्त्रीजस्तो मान्छे सेयर बजारको विरोधमा हुनुहुन्छ । कुनै नियामक निकायमा कांग्रेसी भइदिए, कुनैमा नेकपा भए । उनीहरुबीच जुँगाको लडाई भयो । एउटाले राम्रो नियम ल्याउँछ, अर्कोले रोकिदिन्छ ।’ उनले भने–‘एनआरएनलाई भित्र्याउने, सीआइटीलाई बजार निर्माता बनाउने भन्ने जस्ता विषयमा सुँगा रटाई मात्र भयो । यी विषय प्रत्येक वर्षको नीतिमा ल्याइन्छ, बजारमा प्रभाव पार्न र खेल्न मात्र यी कुराहरु ल्याइँदो रहेछ भन्ने बल्ल बुझ्दैछु।’

उनले सरकारले नै बनाएका कार्यदलका कतिपय सुझाव कार्यान्वयन नहुँदा समेत अर्थमन्त्रीले चासो नदिनुलाई उनको बजारविरोधी छवि प्रष्टिने दाबी गर्छन् । लगानीकर्ताहरु अनसनसम्म बसेपछि अर्थमन्त्रीको निर्देशनमा एक अध्ययन कार्यदल बनेको र त्यसले बजार सुधारका लागि ५८ बुँदे सुझाव दिएको थियो । तीमध्ये २८ वटा सुझाव अझै कार्यान्वयन हुन नसकेका र त्यसमा अर्थमन्त्री वा अन्य सम्बद्ध निकायका कुनै चासो नरहेको उनको भनाई छ । ‘अहिले पनि अर्थमन्त्रीले चाहने हो भने १० मिनेटभित्र बजारका धेरै समस्या समाधान हुन्छन् ।’ उनले थपे–‘तर, उहाँ बजारको विकास होस् भन्ने नै चाहनुहुन्न ।’ 

दुई ठूला कम्युनिष्ट एक भई दुईतिहाईको सरकार बनाए पनि बजारमा राम्रो पकड जमाएर बसेका मारवाडी समुदायले उनीहरुप्रति अविश्वास गरेका सापकोटाको दाबी छ । 

‘जनताको भरोसा नभएको कम्युनिष्ट सरकारका कारण समेत बजार यति धेरै चौपट भएको हो ।’ उनले थपे–‘मारवाडी समुदाय बजारबाट भागिसके । अहिले पनि बजार १० १५ अंकले कुनै कारणवश बढ्यो भने पनि त्यसलाई रोक्न नियामककै मान्छे अनेक कुरा झिक्न थाल्छन्।’ 

उनले लगानीकर्ताका विभिन्न संघसंगठन र तिनको नेतृत्वको समेत आलोचना गरेका छन् । ‘यो बजारलाई संगठन नचाहिने हो । कोही चाहि सेलिलब्रेटी हुन पाइन्छ भनेर कोही राष्ट्रबैंक, कोही ब्रोकरसँग नजिक हुन पाइन्छ भनेर संगठन खोलेर आएका छन्।’ उनले भने–‘निश्पक्ष संगठन कम छन् । लगानीकर्ता लडाएर नियामक निकायले पनि फाइदा उठाइरहेको छ ।’ 

तर, मरेको छैन आशा......
बैंकबाट लोन लिएर सेयर बजारमा लगानी गरेका उनले अहिले पनि मासिक लाखौं रुपैयाँ ब्याज मात्र तिर्ने गरेका छन् । तर, पनि उनमा आशा भनेको मरेको छैन । उतारचढाव बजारको सुन्दर पक्ष रहेको विश्लेषण गर्ने सापकोटा प्रत्येक ३ ४ वर्षमा बजारको साइकिल दोहोरिने र अब बुल रन सुरु हुने आशामा छन् । 

‘अब बियरिस ट्रेण्ड सकिएर बजार माथि जान्छ कि भन्ने आशा छ । त्यही भएर म अझै ४ ५ महिना पर्खिने योजनामा छु ।’ उनले बिजशालासँग भने–‘बजारविरोधी अहिलेको सरकार नै परिवर्तन हुन्छ कि वा व्यवस्था नै पलट हुन्छ कि भन्ने पनि लाग्छ, त्यसपछि बजार माथि जान्छ ।’ 
उनले अहिलेकै अर्थमन्त्री र नियामकमा अहिलेकै नेतृत्व रहुञ्जेल बजार नबढ्ने ठोकुवा समेत गरे । 

उनले नयाँ लगानीकर्ताहरुलाई अधिकांश कम्पनीको सेयर मूल्य घटेर न्यून विन्दूमा झरेको अहिलेको अवस्था नै बजारमा छिर्ने उपयुक्त समय भएको समेत सुझाएका छन् ।