काठमाण्डौ । पोखराको पर्यटकीय क्षेत्र सराङ्कोटमा तेश्रो सराङ्कोट पर्यटन महोत्सव सुरु भएको छ । महोत्सवको शुक्रबार पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे ।

सो अवसरमा अध्यक्ष ओलीले काठमाडौंबाट पोखरासम्म रेल ल्याएरै छाड्ने प्रतिवद्धता दोहोर्याए । काठमाडौंबाट पोखरासम्म पुग्ने रेलमार्ग निर्माणका लागि प्रक्रिया  सुरु भइसकेको र केही वर्षभित्रै सञ्चालनमा आउने उनले बताए । रेलमार्ग निर्माणमा केही ढिलाई भए पनि यसलाई कसैले रोक्न नसक्ने ओलीको भनाई थियो । 

सराङकोट टोल विकास संस्था समन्वय समितिको आयोजना तथा सराङकोट समाज सेवा युवा क्लब, स्मृति युवा क्लब र सराङकोट पर्यटन विकास समितिको सह–आयोजनामा सुरु भएको उक्त महोत्सव भदौ २५ गतेसम्म चल्नेछ । महोत्सवमा करिब ६० व्यापारिक तथा हस्तकलाका स्टल राखिएका छन । 

महोत्सवको अवसरमा सराङ्कोटको परिचय बोकेको साराङ खेल कौशल समेत प्रर्दशन गरिएको थियो ।

महोत्सवमा सामूहिक नृत्य प्रतियोगिता, प्याराग्लाईडिङ प्रतियोगिता, झाँकी प्रदर्शनी प्रतियोगिता, दुना टपरी गाँस्ने प्रतियोगिता, कृषि सामाग्री तथा हस्तकला सामाग्री प्रर्दशनी प्रतियोगिता तथा साराङ्ग खेल मुख्य आर्कषण रहेका छन् ।

१० दिने महोत्सवको एकलाख स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । सराङ्गकोटमा अहिले पनि हरेक दिन विहान सूर्योदय र पोखराको दृश्यावलोकन गर्नेहरुको भीड लाग्ने गरेको छ । सराङ्गकोटबाट पोखरा उपत्यका, अन्नपूर्ण, धौलागिरी र माछापुछ्रे लगायतका हिम श्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।  

सराङ्गकोटबाट आकासमा चरा उडे झै प्याराग्लाईडिङ शयर र जिप फ्ल्यार लगायतका साहसिक गतिविधिका लागी दैनिक सयौं पर्यटक पुग्ने गरेका छन् । महोत्सवले सराङ्गकोटको मौलिक कला, संस्कृति र स्थानीय पहिचानलाई संसारभर फैलाउने विश्वास लिइएको छ ।