अचेल एउटा गीत सबैको जिब्रोमा झुण्डिएको छ, त्यो हो ‘के माया लाग्छ र ?’ यस गीतमा प्रयुक्त उख्खुमै, हुरहुरी, गुटुङटुङ जस्ता नेपाली ठेट शब्दहरु अचेल कुराकानीका सिलसिलामा पनि प्रयोग भइरहेका पाइन्छन् । ‘सुन साइँली’बाट नेपाली गीतलेखनमा चर्चामा आएका गीतकार हर्क साउद अहिले फेरि चर्चामा छन्, यस्तै शब्द र यही गीतका कारण पनि । 

डोटीबाट काठमाडौं आउँदा पढ्ने र सरकारी जागिर खाने सपना बोकेर आएका हुन् उनी । जागिर त खाएनन् तर व्यवसायमा लागेर केही साथी कमाएको छु भन्ने लाग्छ उनलाई । अहिले काठमाडौंको बागबजारमा, आरधना क्याफे सञ्चालन गरिरहेका उनी भन्छन्, ‘गीतकारको परिचय पनि यसैको नाफा हो ।’

उनै गीतकार साउदसँग व्यवसाय र गीत-संगीतका विषयमा  बिजशालासँग शनिवारका लागि गरिएको कुराकानीको सम्पादित अंशः

तपाईं हिमाल साउद कि हर्क साउद ?
तपाईंलाई जे उचित लाग्छ त्यही लेख्नूस् ।

तपाईं गीतकार कि व्यवसायी ?
म आफूलाई व्यवसायीको रुपमा चिनाउन चाहन्छु तर गीतकारको रुपमा चिनिएको छु ।

किन व्यवसायीको रुपमा चिनिन चाहनुहन्छ ?
संघर्ष त सबै कुरामा छ । तर व्यवसायले चाहिँ बाँच्न सिकाउँछ ।

गीत लेखेर पनि बाँच्न सकिन्छ होला नि ?
साहित्यमै लागेर बाँचेको, आर्थिक उन्नति गर्ने पनि पाइन्छ तर सबैको हकमा एउटै कुरा लागू हुँदैन । मेरो व्यवसाय चाहिँ लेखनमा आउनु अघि नै थियो । त्यसैले यो प्राथमिकताको कुरा भयो । 

तपाईं के–के लेख्नुहुन्छ ?
लोकसंस्कृतिको वैभवमा हुर्केको मान्छे म । लोकसंस्कृतिमा रमाउँदै त्यसको प्रभावमा हुर्केको हुँ । ‘सुन साइँली’को घट्ना चाहिँ गीत लेखनको टर्निङ पोइन्ट बन्यो । नितान्त गीतमात्र लेख्न रुचाउँछु ।

तपाईंको जीवनको व्यावसायिक कथा चाहिँ कसरी सुरु भयो ?
केही गरौं भनेर सुरु गरेको सामुहिक व्यवसाय हो आरधना क्याफे । तीन जनाको संयुक्त लगानीमा सुरु गरेको यो व्यवसाय बाहेक अन्यमा लगानी र रुचि छैन ।

शेयरमा लगानी छ कि ?

साथीहरुको कुरा सुनेर कतैकतै आइपीओ पनि भरेको छु । कहाँ के कति छ भनेर हिसाबको लेखाजेखा भने छैन ।

जीवनबीमा गर्नुभएको छ ?
आफ्नो जीवन बीमा भने गरेको छ । यस बारेमा पनि विस्तृत जानकारी राख्दिनँ । 

व्यवसाय सुरु गर्नुअघि के गर्नुहुन्थ्यो ?
व्यवसाय गर्नुअघि रेष्टुरेण्टमा नै कामदारको रुपमा आबद्ध थिएँ ।

कहिले कसरी सुरु भयो आरधना क्याफे ?
काठमाडौंमा सन् १९९८ मा आएँ । पढाइ र दैनिकीका लागि नै पुग्ने गरी कमाएर संघर्ष गरेको अनुभव छ । कमाइ गरेर बचेको अलिअलि पैसा र सरसापट मिलाएर चलिरहको क्याफे खरिद गरेका थियौं ।

१० लाखको लगानीबाट थालनी गरिएको यो रेष्टुरेण्ट सञ्चालन भएको ११ वर्ष भइसक्यो ।

व्यवसाय कस्तो छ अहिले ?
अहिले व्यवसाय ओरालो लागेको छ । २०६५ सालपछिका बीचमा २–३ वर्ष एकदम फस्टाएको भए पनि अहिले मलाई लाग्छ, श्रम पसिना समय सबै समर्पण गर्दा पनि वर्षेनी संकटमा चल्नुपरेको छ । हामीलाई नफापेकै होला कि जस्तो पनि लाग्छ, पैसा नकमाउनू भनेर कसैले चाहेको हो कि ।

ब्रेक इभन पनि होला नहोला जस्तो अवस्था छ । भुकम्प आएको समयपछि नाकाबन्दी भयो । त्यसपछि व्यापार ओरालो लाग्यो ।

व्यवसायलाई ठूलो बनाउन जहिले पनि धरमरको अवस्था रह्यो । कहिले घरको अवस्थाले नमिल्ने, कहिले राजनीतिक कारण असहज हुने । पहिले बनाएको संरचना भत्काएको र खुम्चिनुपरेको कारण पनि व्यवसायमा निक्कै घाटा परेको छ ।

११ वर्षमा पनि व्यवसाय संघर्षकै फेजमा छ , किन होला ?
कुनै समय तत्कालीन माओवादीले सुत्ने अखडा पनि बनाए हाम्रो रेष्टुरेण्ट । भुकम्पको समयमा पनि महिनौं सुत्ने थलो बन्यो । 

यहाँ कस्तो छ भने नि, आन्दोलनको समयमा १० मिनेट बागबजारको सडकमा आन्दोलन भयो भने दिनभर रेष्टुरेण्ट सुनसान हुन्छ । 

संघर्षमा हामीले शतप्रतिशत दिएका छौं । नाकाबन्दीमा रानीवनबाट दाउरा बोकीबोकी भए पनि सर्भ गरेका थियौं हामीले । पसिना त भरिया दाइले पनि बगाउनुहुन्छ नि । तर उनीहरुको जीवनमा कहिले पनि परिवर्तन छैन । देशको राजनीतिक अवस्थाले ठूलो प्रभाव पार्छ । देशमा शान्ति अनिवार्य हुन्छ व्यवसाय र जीवनमा अमन चैन आउनलाई । 

अहिले फेरि कोभिड १९ ले तहसनहस पारेको छ नि हैन र ? कति नोक्सान भयो ? 
कोभिड १९ ले कति नोक्सान गर्यो हिसाब गरेको छैन । लाखौं नोक्सानी भएको छ तर कहीँ कतै राज्यको सहयोग र सरकारको केही भरथेग छैन । निद्रा माया मारेर विहान ८ बजेदेखि रातको १२ बजेसम्म समय दिएर लागिरहँदा पनि सोचेजस्तो र हुनुपर्नेजस्तो हुन सकेको छैन । लाग्छ, वर्षमा १० दिन ध्यान गर्न जान पाउँ । ५ दिन आन्तरिक पर्यटन प्रवद्र्धन हुने गरी देश घुम्न पाउँ । परिवारसँग समय विताउँ । तर रहर बन्धकीमा छन् ।

शारीरिक थकानलाई मानसिक मनोवलले अगाडि धकेलिरहेको छ । तर कहिलेसम्म त ?

अब के हुनुपर्ला त व्यवसायीलाई राहतका लागि ?
हामी ठिङ्ग उभिएर व्यवसाय चल्दैन । सबै कुराको स्थिरता हुनुपर्छ । मैले पुष माघको काउलीको मेनु बनाएर ३० रुपैयाँको काउली १५० मा विक्री गरेँ, अहिले काउलीको मूल्य नै १५० पुग्यो भने मेनुको रेट बढाउँन सकिन्न । अनि व्यवसायको ग्राफ नै भत्किन्छ । कृषि उत्पादन लगायतको दररेटमा एकरुपता हुनुपर्दछ ।

व्यवसायीलाई सुरक्षा, अप्ठेरो परेको बेलामा साथ दिए, तिरीरहको कर तिर्न पनि मजा हुन्थ्यो ।

बचत कसरी गर्नुहुन्छ ? कति बचत गर्नुभयो ?
बचत गर्न सम्भव रहेन । एकताका बचेको रकमले अहिलेसम्म चल्नुपरेको कारण बचत हुनसकेन ।

निराश त हुनुभएको छैन नि ?
आशावादी हुनुपर्छ सधैं । म जहिले आशावादी छु । यो व्यवसाय नरहे पनि संंघर्ष गरेर बाँच्न सक्छु भन्ने लाग्छ ।

गीतयात्रा बारे कुरा गरौं न ।
‘सुन साइँली’बाट सुरु भएको मेरो गीत यात्राले आज एउटा सन्तोषको अवस्था सिर्जना गरेको छ तर घमण्ड भने लाग्दैन । गीतकारहरु गुमनाम हुन्छन् । पछाडि पर्छन् भन्ने कुरा पनि होइन कि भन्ने किसिमको तरङ्ग आएको छ । के माया लाग्छ र ? भन्ने प्रश्नको जवाफ माया नै पाएको छु । यात्रामा काँडा फूल सबै हुन्छन् । तर, मिडियाहरुले दिएको साथका लागि आभारी छु । कामप्रति मेरो लगाव बढाएको छ अझै ।

‘के माया लाग्छ र’ हिट भएको लगत्तै ‘तीनपाते’ आएको छ । के हो यो ?
तीनपाते म्यूजिकल फिल्म हो । वाल्यकालदेखिको प्रेम, पितापुर्खाले गर्दै आएको पेशालाई समय अनुसार ब्राण्डिङ गरेर पैसा कमाउन सफल व्यवसायी बनेको प्रसङ्ग तीनपातेमा छ । तीनपाते जोगाउन मुस्किल र महङ्गो चिया हो  । विम्बमा यो अवसर पनि हो । चियाको तीनपात, जोगाउन सके हजारौंको मूल्य पर्ने चिया बन्न सक्छ । माया पनि त महङ्गो हुन्छ नि ।

गीतको पूरानो शैली छाडेर लेखिएको छ यसमा । यसको मेकिङ पनि त्यसै किसिमको छ ।

अरबौंको व्यवसाय गर्न जान्ने किसानहरु समृद्ध भइसके । व्यवसाय ह्वात्तै त हुन्न । हामीले गर्ने काम एकदम स्थानीयपन दिने प्रयास हो ।

गीत लेखेर के कमाउनुभयो ?
अहिलेसम्म आउँदा मैले नाम कमाएँ । मूभिको काम गर्दा मैले धेरथोर आर्थिक कमाइ पनि गरेको छु । मैले ६ वटा मूभिमा गीत लेखेको छु । युनिसेफले के माया लाग्छ र ? को भर्सनमा सचेतना सामाग्रीका लागि काम गर्ने भएको छ । यस्तो कुराले उत्साह थप्छ ।

आर्थिक आम्दानी कत्तिको गर्नुभयो ?
आर्थिक रुपमा धेरै कमाएको छैन । आशा छ व्यवसायी बन्न सक्छु कि । तर यो उद्योग नै व्यावसायिक हुनु जरुरी छ । एक्लो एक्लो कामले नहुने रहेछ । त्यसैले अहिले हामी टिममा छौं ।

सन्तुष्टि केले दिएको छ त ?
यहाँ हाम्रोमा काम सिकेर विदेशमा स्थापित भएका भाइसाथीहरुको कथा सम्झिँदा गर्व लाग्छ । सन्तुष्टि मिल्छ ।

भाँडा पुछेको, भुइँ पुछेको, यहीँ गरेको मिहेनेतले नै मलाई आज चिनाएको हो । आफ्नो कामप्रति सन्तुष्ट छु ।

नेपाली गीत संगीतमा के कुराको बढी चिन्ता लाग्छ ?
गीतलेखन माला उन्ने काम हो । त्यै फूल हो कसरी उन्ने भन्ने कुरा कला हो । गीतसंगीतमा लाग्नेहरुले घमण्ड गर्नुहुन्न कहिले पनि । हरेक काम व्यवसाय बन्छ, बन्न सक्छ ।

गीतसंगीतको क्षेत्रमा कत्ति ठूलो मिहेनतले काम गरिएको हुन्छ । संगीतको ज्ञान भएको व्यक्तिले गीतको सबै पक्षको नकारात्मक टिप्पणी गर्ने संस्कार विकास भइरहकोप्रति चाहिँ चिन्ता लाग्छ ।

एउटा म्यूजिक भिडियो मेकिङमा व्यवसाय कसरी हुन्छ ?
एउटा म्यूजिक भिडियोको काम साँच्चै ग्रामीण लेवलमा गर्ने हो भने यसको व्यावसायिक प्रभाव कत्ति धेरैलाई पर्छ । स्थानीय व्यापारीको व्यवसाय हुन्छ, मेकिङ क्रुबाट । यातायात, होटल, लज र स्थानीय उत्पादनको राम्रो व्यवसाय हुन्छ । 

यूट्युवमा करोडौं भ्यूज हुँदा गीतकारले कति कमाउँने रहेछ ?
२–३ करोड भ्यूज भए पनि गीतकारको रुपमा केही नपाउने अवस्थाको अन्त्य हुने कुरामा विश्वस्त छु ।

अबको सपना के छ ?
सपना देख्न छोड्नुहुन्न तर धेरै पनि देख्नुहुन्न । अबका दिनमा यो व्यवसायलाई निरन्तरता दिन्छु । गीतलेखनमा लागिरहन्छु । यसबाटै बाँचिन्छ भन्ने त मलाई लाग्दैन । बार्गेनिङ गरेर गीतलाई व्यवसाय मात्र बनाउने मन पनि छैन ।

गीत भनेको सिर्जना हो । त्यसैगरी लाग्छु ।

समग्र रुपमा आर्थिक सामाजिक स्थिरता आओस् भन्ने उनको चाहना छ । देशको अर्थतन्त्र बलियो हुनसकोस् ।