न्यूयोर्क । अनुसन्धानबाट कुनै लक्षण नै नदेखिएका बिरामीहरु कोरोना भाइरसको संक्रमणलाई तीव्र रुपमा फैलाउने प्रमुख कारण देखिएका छन् । यो डेटा बाहिर आएसँगै अमेरिकी चिकित्सक तथा अनुसन्धानकर्ताले प्रत्येक मानिसलाई अनिवार्य रुपमा फेस मास्क लगाउन सुझाव दिनुपर्छ कि भन्ने कोणबाट सोच्न थालेका छन् । 

केही टापूहरुमा फैलिएको कोरोना भाइरसका तथ्याङ्कहरुमा आधारित रहेर गरिएको अध्ययनमा ५० प्रतिशत संक्रमित त्यस्ता भेटिए, जसमा कोरोना भाइरसको कुनै लक्षण नै थिएन । 

अमेरिकामै पनि हालसम्म कुल संक्रमितमध्ये २५ प्रतिशत कुनै लक्षण नै नदेखिएकाहरु रहेका अध्ययनको क्रममा देखिएको छ । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन(सीडीसी)का डाइरेक्टर ड. रोबर्ट रेडफिल्डलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ–‘हाम्रो अध्ययनको क्रममा धेरै संक्रमित यस्ता भेटिएका छन्, जसमा कोरोनाको कुनै लक्षण नै थिएन । अमेरिकामै पनि यस्ता संक्रमितको संख्या २५ प्रतिशतभन्दा माथि हुनसक्छ ।’ 

अमेरिकाकै टप संक्रामक रोग विशेषज्ञ डा. रोबर्टले भविष्यमा कोरोना भाइरसले अझै ठूलो प्रकोपको रुप लिनसक्ने संभावनालाई टार्न फेस मास्कको विषयमा हालै जारी गाइडलाइनलाई पुनरपरीक्षण गरिन आवश्यक रहेको बताउँछन् । 

डा. एन्थोनी फउसीले अब आफू सर्वसाधारणले पनि फेसमास्क अनिवार्य लगाउनुपर्छ भन्ने तर्कमा सहमत हुँदै गएको बताएका छन् । 

यदि अमेरिकाका संघीय अधिकारीहरुले फेस मास्कको व्यापक प्रयोगको सिफारिस गरे भने यो विश्व स्वास्थ्य संगठन र सिडीसीको सिफारिसभन्दा ठीक उल्टो हुनेछ । किनभने यी दुई अर्गनाइजेसनले स्वास्थ्यकर्मी, बिरामी व्यक्ति तथा कुनै बिरामी व्यक्तिको हेरचाहमा खटिएकाहरुले मात्र मास्क लगाउन आवश्यक रहेको बताइरहेका छन् । 

‘मानिसहरुको जमातले व्यापक रुपमा मास्क लगाउँदा लाभ हुनसक्ने संभावनालाई पुष्टि गर्ने कुनै पनि ठोस प्रमाण चाहि हामीसँग छैन ।’ विश्व स्वास्थ्य संगठनको हेल्थ इमेरजेन्सी कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले सिएनएनसँग भनेका छन् । 

विज्ञहरुले सामाजिक दूरी कायम गर्नु र लकडाउनलाई कडाई गर्नुबाहेक तत्काल कोरोना भाइरस नियन्त्रणको गतिलो उपाय समेत नभएको बताइरहेका छन् । 

‘कोरोना भाइरसको संक्रमण रोक्ने काम त्यति सजिलो छैन । यसमा सर्वसाधारण नागरिकहरुलाई प्रत्येक देशलाई सजग गराउन सके भने मात्र यो संभव छ ।’ विज्ञहरुले भनेका छन् । 

‘हामीसँग कोरोना भाइरस हटाउने कुनै जादूको छडी छैन ।’ ह्वाइट हाउसको कोरोना भाइरस रेसपोन्स कोअर्डिनेटर ड. डेबोरह ब्रिक्सले भनेकी छिन्–‘यसका लागि कुनै जादूमय खोप र थेरापी पनि छैन । यो त केबल आनीबानीमा आधारित छ । यो भाइरल महामारीको कोर्सलाई परिवर्तन गर्न हाम्रा प्रत्येक बानीव्यहोरा महत्वपूर्ण कडी हुन् । कम्तीमा ३० दिन मात्रै पनि यो विषयमा ध्यान दिने हो भने केही न केही परिवर्तन अवश्य हुनेछ।’ 
-सिएनएनबाट भावानुवाद