काठमाण्डौ । बुधबार बजारमा ठूलै पहिरो गएको छ । निरन्तर घटिरहेको बजारका लागि सुखद परिस्थिति नबन्दा र पूँजी बजारमा भएको लगानीको संरक्षणको बिषयमा राज्य र सरोकारवाला निकाय गम्भीर नबन्दा बजारको पहिरो नथामिएको हो ।

एकातिर लगानीयोग्य रकमको अभाव, यहीकारण ब्याजदरमा भएको चर्को वृद्धि र यही बेला लगानीकर्ताहरुमा छाएको मार्जिन कलको त्रास लगायतका कारणले पूँजीबजारमा लगातार पहिरो गइरहेको हो । 

बुधबार बजारमा २४.४ अंकको पहिरो गई नेप्से परिसूचक १२३१.०७ अंकमा सीमित बन्न पुुगेको हो। 

यो दिन ‘क’ वर्गका कम्पनीहरुमा निकै धेरै बिक्रीको चाप देखियो । यहीकारण सेन्सेटिभ इण्डेक्स एकैदिन ५.४९ अंकले घट्यो । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि १.९२ अंकको गिरावट देखियो । 

यो दिन उत्पादनमूलक समूहमा ५८.४८ अंकको वृद्धि देखियो भने बाँकी सबै समूहको सूचकमा रातो पोतियो । 

यो दिन बैकिंग समूह २२.११ अंकले घटेको भने होटल समूह २३.३१ अंकको गिरावट आएको छ । विकास बैंकको सूचक १३.८६ अंकले घटेको छ भने जलविद्युत समूह २२.७ अंक, बित्त समूह ६.४ अंक, बिमा समूह १८६.६९ अंकले घटेका छन् । अन्य समूह ९.८५ अंकले घट्यो भने माइक्रोफाइनान्स समूहमा ४८.५२ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५१ कम्पनीका ९ लाख ३३ हजार ६ सय ९७ कित्ता सेयर ३७  करोड ८३ लाख ८७ हजार ११ रुपैयाँमा किनबेच भयो । 

यो दिन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ३ करोड ४६ लाख बढीको कारोबार गर्यो । यो दिन नेपाल बैंकले २ करोड ६ लाख, नवील बैंकले पनि २ करोड ६ लाख, सानिमा बैंकले १ करोड ४६ लाख, एभरेष्ट बैंकले १ करोड ४३ लाख, कुमारी बैंकले १ करोड १९ लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड ११ लाख, नागरिक लगानीकोषले १ करोड १० लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन युनिलिभर नेपाल लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको मूल्य ६.११ प्रतिशतले वृद्धि भयो । 

यो दिन प्रोग्रेसिभ फाइनान्सको सेयर सबैभन्दा धेरै घट्यो । यो कम्पनीको मूल्य ९.०९ अंकले घट्यो।