काठमाण्डौ । सेयर लगानीकर्ता संघले नेपाल राष्ट्रबैंकको गभर्नरमा महाप्रसाद अधिकारीको नियुक्तिलाई ‘उचित ठाउँमा उपयुक्त व्यक्ति’ भन्दै स्वागत गरेको छ । 

अध्यक्ष उत्तम अर्यालले एक विज्ञप्ति जारी गर्दै नवनियुक्त गभर्नर अधिकारीको स्वागत गरेका हुन् । 

‘लामो समयसम्म नेपाल राष्ट्रबैंकमा नै सेवा गरी डेपुटी गभर्नरबाट सेवा निवृत्त हुनु भएका महाप्रसाद अधिकारी ज्युलाई गभर्नर जस्तो पदमा नियुक्ति गरिनु “उचित ठाउँमा उपयुक्त व्यक्ति “ भएको र नेपालको पुँजीबजारको विकास र विस्तारमा यहाँको कार्यकाल कोसेढुंगा सावित हुने संघको विश्वास र आशा छ।’ विज्ञप्तिमा भनिएको छ-‘विगतमा राष्ट्र बैंकमा दशकौं वर्षको कार्यकालको अनुभव भएको र राष्ट्र बैंकको हरेक पक्षसँग अभ्यस्त भई भित्र के कस्तो वातावरण छ भन्ने अत्यन्तै व्यवहारिक ज्ञान भएका तपाँई नेपाल सरकारको आर्थिक सल्लाहकारको निकायको रूपमा रहेको ने.रा.बैंक जस्तो गरिमामय संस्थाको माथिल्लो पद गभर्नर जस्तो उच्च पदमा नियुक्त हुनुभएकोमा तपाँईलाई हार्दिक बधाई तथा तपाँईको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालको अर्थतन्त्रलाई उच्च सकारात्मक बाटोमा पुर्याउन यहाँको कार्यकाल सुवर्ण युगमा रूपान्तरण होस भन्ने आशा व्यक्त गर्दछौं।’

संघले विषम परिस्थितिमा गभर्नर जस्तो पदको हालको आवश्यकता र जिम्मेवारीलाई महसुस गरी गभर्नर नियुक्त गरेकोमा सरकारलाई पनि धन्यवाद ज्ञापन गरेको छ ।