-भक्तराज रसाइली
काठमाण्डौ । गैरआवासीय नेपाली(एनआरएनए)हरुको समेत लगानी रहेको सानिमा बैंकले यस हप्ताको सुरुवातदेखि नै गैरकानूनी सेवाको बिषयमा भ्रमपूर्ण र झूठा विज्ञापन गरिरहे पनि नियामक तथा सम्बद्ध निकायले ध्यान नदिएका पाइएको छ । 

थ्री इन वान सानिमा खाताको नाममा ‘नेपालकै पहिलो पटक सेयर खरिद तथा बिक्री अब एक क्लिक टाढा’ भनी बैंकले अनुमति नै नपाएको सेवा प्रवाह गर्ने भन्दै भ्रमपूर्ण विज्ञापन गरी सर्वसाधारणलाई झुक्याउन खोजेको देखिएको हो । 

सर्वसाधारणसँगै बैंकले अनुमति नै नपाएको सेवा प्रवाहको विज्ञापन गरी नियामक निकाय र विद्यमान ऐन कानूनको समेत धज्जी उडाएको छ । बैंकले खुलेआम गैरकानूनी सेवाको बिषयमा लाखौं खर्च गरेर विज्ञापन गरिरहँदा समेत नियामक निकायले यसलाई रोक्ने बिषयमा किन चासो दिएका छैनन् भन्ने बिषय रहस्यमय बनेको छ ।

सानिमा बैंक लिमीटेडले सेयर कारोबारसहित एउटै खाताबाट तीनवटा काम गर्न मिल्ने गरी थ्री इन वान खाता लञ्च गरेको देखिन्छ । उसले गरेको विज्ञापनमा स्पष्ट भनिएको छ–‘नेपालमै पहिलोपटक सेयर खरीद तथा बिक्री अब मात्र एक क्लिक टाढा ।’ 

बैंकले खाताको विशेषताको बिषयमा विज्ञापनमा अगाडि भनेको छ–‘संसारको कुनै पनि स्थानबाट सेयर कारोबार गर्न मिल्ने, बैंक डिम्याट खाताको राफसाफ गर्न कतै धाउनु नपर्ने, न्यूनतम शुल्कमा सेयर कारोबार गर्न सकिने ।’ 

विज्ञापनमा उसले दाबी गरेजस्तो ब्रोकरेज सेवा प्रवाहका लागि यो बैंकलाई कुनै पनि निकायले अनुमति दिएको छैन । नेपाल राष्ट्रबैंकका प्रवक्ता नारायण पौडेलका अनुसार मौद्रिक नीतिमा व्यवस्था भएअनुसार २ वटा बैंकले मात्र ब्रोकर सेवाका लागि दिएको आवेदन मात्र दिएका र कसैलाई पनि यस्तो सेवा प्रवाहका लागि आजको मितिसम्म अनुमति दिइसकिएको छैन । 

अर्कोतर्फ, नेप्सेले सुरु गरेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सीमित ब्रोकरहरुको हातमा मात्र पुगेको र लगानीकर्ताका लागि पूर्ण अनलाइन प्रणालीबाट कारोबार फुकुवा नभइरहेको बेला सानिमाले चाहि कुन आधारमा विज्ञापनमा संसारको कुनै पनि स्थानबाट सेयर कारोबार गर्न मिल्ने भनेको हो ? सर्वसाधारण भ्रममा परेका छन् ।

यस्तै, पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको पूर्ण कार्यान्वयनमा देखिएको प्रमुख जटिल विषय हो–राफसाफ तथा फछ्र्यौट । तर, हालसम्म कारोबारको राफसाफ तथा फ्छर्यौट सेवा संचालनका लागि नेप्सेले कुनै पनि बैंक तथा बित्तीय संस्थालाई औपचारिक रुपमा अनुमति दिइसकेको छैन । यस्तो अवस्थामा सानिमा बैंकले चाहि विज्ञापनमा कुन आधारमा बैंक डिम्याट खाताको राफसाफ गर्न कतै धाउनु नपर्ने भनी उल्लेख गरेको हो ? अर्को भ्रम सिर्जना भएको छ । 

विज्ञापनमा राखिएको अर्को संवेदनशील झूठ हो–‘न्यूनतम शुल्कमा सेयर कारोबार गर्न सकिने कुरा ।’ तोकिएको कमिसन भन्दा पनि न्यूनतम रकममा भन्ने शब्दले नेप्सेले निर्धारण गरेको कमिसन सिलिङ्गलाई नै ठाडै चुनौति दिएको र यसले कमिसन सम्बन्धी कानूनी व्यवस्थाकै धज्जी उडाएको विज्ञहरु बताउँछन् । 

सानिमा बैंकको झूठो प्रचार र भ्रममा पार्ने गरी आएको थ्री इन वान खाताका कारण ब्रोकरहरु समेत रुष्ट छन् । स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले सानिमा बैंकको प्रचारले धितोपत्र कारोबार ऐनको बर्खिलाप भएको बताए ।  

हालसम्मको व्यवस्था अनुसार नेपालमा सेयर खरीदबिक्री गर्न पाउने गरी ५० वटा ब्रोकरले मात्र लाइसेन्स पाएका छन् । तर, अनुमति बिना नै सानिमा बैंकले ल्याएको प्रडक्ट तथा गरिरहेका प्रचार पूर्ण रुपमा गैरकानूनी भएको र यसले बैंककै गरिमा समेत घटाएको पुराना सेयर लगानीकर्ता प्रवीण अग्रवालको टिप्पणी छ ।

सानिमा बैंकको गैरकानूनी काम र भ्रमपूर्ण विज्ञापनमा राष्ट्रिय कलाकारहरु महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मोडलिङ गरेका छन् । बैंकले गैरकानूनी कामको विज्ञापनमा राष्ट्रिय कलाकारहरुलाई समेत विवादमा पार्ने काम गरेको देखिन्छ । यो गैरकानूनी बिषयतर्फ हेर्दै नहेरी पैसाकै लागि महजोडी समेत विवादास्पद विज्ञापनमा प्रयोग भएको देखिन्छ । 
नियामक निकाय नेपाल धितोपत्र बोर्डले सेयर बजारका ५० जना ब्रोकरलाई उनीहरुको सेवाको विषयमा प्रचार प्रसार गर्न(विज्ञापन प्रकाशन तथा प्रसारण गर्न) रोक लगाएको छ । सानिमाले ब्रोकरेज सेवा प्रवाहको अनुमति नै पाइसकेको हुन्थ्यो भने पनि यसरी विज्ञापन गर्नु बोर्डको नजरमा गैरकानूनी हो । तर, अनुमति नै नपाएको बिषयमा समेत खुलेआम प्रचार गरिरहँदा धितोपत्र बोर्ड समेत यो बिषयमा बेखबर देखिएको छ । 

तर, नेपाल स्टक एक्सचेञ्जले पनि यो विषय निकै संवेदनशील भएको निश्कर्ष निकाली बैंकको गैरकानूनी प्रचारको बिषयमा छानबिन थालेको नेप्सेस्थित स्रोतले बताएको छ । 

अझ रमाइलो त के छ भने ब्रोकरेज सेवाको तामझामका साथ प्रचार गरिरहेको सानिमा बैंकले बिहीबार प्रकाशन गरेको १४ औं वार्षिक साधारणसभा सम्बन्धी सूचनामा सम्बन्धित निकायको स्वीकृती लिई बैंक आफैं वा सहायक कम्पनी मार्फत शेयर ब्रोकर सेवा प्रदान गर्ने व्यवस्था गर्नका लागि बैंकको प्रबन्धपत्र संसोधन गर्ने विशेष प्रस्ताव लगिने भनिएको छ । यसबाट बैंक स्वयम्ले समेत उसले गरेको विज्ञापन गैरकानूनी रहेको र उसैको प्रबन्धपत्रको व्यवस्था विपरीत रहेको समेत प्रमाणित हुन्छ । साधारणसभाको सूचनामा ब्रोकरेज सेवा प्रदान गर्न सम्बन्धित निकायको स्वीकृति लिने अजेण्डा पेश नै नभएको अवस्थामा उसले विज्ञापनमार्फत कुन आधार ब्रोकरेज सेवा दिन्छु भनेर दाबी गर्यो भन्ने बिषय निकै हास्यास्पद समेत देखिन्छ । बैंकले मंसिर २७ गते साधारणसभा आह्वान गरेको छ।

अनुमति नै नलिएको सेवाको बिषयमा झूठा प्रचार गर्ने बैंकका सीइओ भूवन दाहाललाई यो विषयमा बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।