काठमाण्डौ । माइक्रोफाइनान्स भनेर साना किसान विकास बैंकलाई हेप्नुु हुँदैछ भने तपाई पछुताउनुपर्नेछ । कारण, यो कम्पनीले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म कमालको प्रगति हासिल गरेको छ । 

सानाकिसानले अघिल्लो वर्ष २२ करोड ३४ लाखमा सीमित खूद नाफालाई बढाएर ३३ करोडको उचाईमा पुर्याएको छ । 

यस्तै, खूद ब्याज आम्दानीतर्फ पनि यो माइक्रोफाइनान्सले उल्लेख्य प्रगति गरेको छ । अघिल्लो वर्ष ४८ करोड ७९ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर समीक्षा अवधिमा ६३ करोड ८२ लाखको उचाईमा पुुगेको छ । यस्तै, ३४ करोड ९४ लाखमा सीमित संचालन मुनाफा वृद्धि भई ५१ करोड ८२ लाख पुुगेको छ । 

यो माइक्रोफाइनान्सले ११ अर्ब ९४ करोड सापटी लिई १३ अर्ब ९९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ९ अर्ब ६७ करोड सापटी लिई ११ अर्ब ३ करोड कर्जा परिचालन गरेको थियो । 

साना किसानले रिजर्ब कोषतर्फ पनि राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म ९१ करोड ६१ लाख रुपैयाँमा सीमित यस्तो कोषमा समीक्षा अवधिमा १ अर्ब ११ करोड रकम जम्मा भइसकेको छ । 

माइक्रोफाइनान्सको खराब कर्जा अनुपात भने केही बढेको छ । अघिल्लो वर्षसम्म ०.०७ प्रतिशत रहेको यस्तो कर्जा वृद्धि भई ०.१० प्रतिशतमा पुुगेको हो । २.८९ प्रतिशतबाट बढेर ३.८६ प्रतिशतमा कस्ट अफ फण्ड पुुगे पनि यो नियन्त्रणभित्रै छ । 

यो अवधिमा सानाकिसानको प्रतिसेयर आम्दानी ६५.७३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३२०.८५ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य २९७०.१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.८५ गुणा कायम भएको छ ।