- भक्तराज रसाइली

काठमाण्डौ । समय र धैर्यताले मानिसले सफलताको शिखर चुमाउँछ । करिब २० वर्षअघि अध्ययन र रोजगारीको भोकले राजधानी काठमाण्डौ पसेका एक युवा सेयरबाटै करोडपति बनेको सक्सेस स्टोरी यो साता पस्कन गइरहेका छौं ।

युवा लगानीकर्ता प्रमोद सापकोटाको जागिर र जीवन धान्ने पेसा नै सेयर बजार भइरहेको छ । दोलखा चरिकोट घर भई हाल मध्यपुर ठिमी बस्दै आएका सापकोटा प्राप्ति इन्भेस्टमेन्ट एन्ड रिसर्च सेन्टरका अध्यक्ष पनि हुन् । एक कृषि सहकारीका संस्थापक पनि उनी पूर्णकालीन सेयर लगानीकर्ता हुन् ।

वि.सं.२०५६ सालमा अध्ययन र रोजगारीकै तिर्खाले गाउँबाट काठमाण्डौ छिरेका सापकोटाले आईए पढ्दापढ्दै २ वर्ष छापाखाना (प्रेस) मा काम गरे । स्नातक अध्ययन सरस्वती क्याम्पसमा अध्ययनरत रहँदारहँदै ब्रोकर हाउसमा जागिर गर्नसमेत भ्याए ।

मासिक ५५ हजारसम्म तलब बुझ्दै आएका सापकोटाले ब्रोकर हाउसमा १० वर्षको अनुभव हासिल गरे । ‘ब्रोकर अफिसमा ट्रेडिङमा काम गर्दागर्दै रस पस्यो अनि यसैमा मन बस्यो’, सापकोटाले भने ।

जिरो लेभल र कमजोर ब्याक ग्राउन्डबाट आएका सापकोटा भेट्रान लगानीकर्ता अम्बिकाप्रसाद पौडेलबाट निकै प्रभावित रहेछन् । ब्रोकर कार्यालयमा सुरुमा काम गर्दा ६ हजार ५०० मात्र बुझ्दै आएका उनले सुरुआतमा प्राथमिक सेयरको लगानीबाट हात बढाए । ‘एनडेप विकास बैंकको सुरुमा भरेको आईपीओ होजस्तो लाग्छ, मैले २० कित्ता हाता पारेँ’, सापकोटा विगत सम्झन्छन् ।

दोस्रो बजारमा भने सापकोटाले एनएचपीसी (नेशनल हाइड्रो) को सेयर प्रतिकित्ता १३८ रुपैयाँमा किने तर त्यही सेयर ६०० मा बेचेर अधिक मुनाफासमेत कुम्ल्याउन भ्याए । ‘यसरी नाफा कमाउँदै गएपछि सेयर बजारमा रस भिज्दै गयो’, सापकोटाले भने, ‘२०७२ को बूलमा जागिर छोडे र इन्भेस्टमेन्ट कम्पनी अनि सहकारीमा सक्रिय रहँदै आएको छु ।’

ब्रोकर हाउसको जागिरमा मन नरहेपछि आफैंले केही गर्ने र छुट्टै पहिचान बनाउन कम्पनी र सहकारीमा लाग्ने अठोटसहित उनी आर्थिक गतिविधिमै सक्रिय बने तर अरुको जागिरे भएर हैन कि आफू कम्पनीको मालिक बनेर । शिखर इन्स्योरेन्स प्रतिकित्ता ९०० मा किनेर ४ हजार प्रतिकित्ताका दरले समेत बेच्न सफल सापकोटा अहिलेसम्म घाटा खानु नपरेको जिकिर गर्छन् । 

नेप्से इन्डेक्स ११ सय विन्दू आइपुग्दासमेत सापकोटाको पोर्टफोलियो भने सकारात्मक नै भएको दाबी गर्छन् । विगत ७ वर्षदेखि दोस्रो बजारमा जमेर लागेका उनै सापकोटा धैर्य र साहस भए सेयरबाट करोडपति बन्न सकिने बताउँछन् । 

अढाइ तले घर र जग्गा अनि २ छोराछोरी तथा परिवारको सम्पूर्ण खर्चसमेत सेयर बजारकै लगानीले सघाउ पुर्याइरहेको सापकोटाले सुनाए । केही बन्न र केही गर्न भनी जागिर छाडेरै सेयर बजारमा होमिएका उनी बिना अध्ययन सफल नभइने जिकिर गर्छन् । 

कम्पनीको व्यवस्थापन टिम, स्क्रिप्ट र कम्पनीको विस्तृत विवरण अध्ययन गरेर सुझ्बुझपूर्ण लगानी गरिए सेयरबाट कमाउन सकिने सापकोटाको ठम्याइ छ । तर उनले सेयरमा १० प्रतिशत लगानीकर्तामात्र सफल भइने बाँकीले भने गुमाउने परिपाटी रहेको उनको बुझाइ छ । ‘यतिखेर नेप्से सूचकांक ११ सयको बटम लाइनले लगानीको उपयुक्त समय भएको मेरो व्यक्तिगत बुझाइ छ’, सापकोटाले भने, ‘बचतलाई लगानी गर्ने, बचतलाई बढाउँदै खर्च कम गरे सेयरको लगानी सुनौलो अवसर बन्न सक्छ।’

नेपालको सेयरबजार दीर्घकालीन लगानीका लागि राम्रो रहेको सापकोटाले तर्क सारे ।

पूँजी बजारमा हाल नेप्सेको अनलाइन कारोबार प्रणालीमा समस्याहरु यथावत रहनु दूर्भाग्यपूर्ण रहेको सापकोटा बताउँछन्। उनी भन्छन्, ‘नियामकले नीति नियम बनाउँदा सकोकारवाला पक्षसँग छलफल गर्दा राम्रो रिजल्ट आउँथ्यो ।’

नेपालमा पूँजी बजारका नियामकहरुको भूमिका पछाडि नै परेको बताउँदै सापकोटाले सेबोन र नेप्सेले प्रभावकारी भूमिका निर्वाह गर्न जोड दिए । यसका साथै सापकोटाले बैंकलाई ब्रोकर लाइसेन्स कुनैपनि हालतमा रोकिन नहुने र बजार विस्तारका लागि बैंकलाई ब्रोकर लाइसेन्स अपरिहार्य भएको उनको ठम्याइ छ ।

सेयरबजारमा साहस र धैर्यताले कमाउने सापकोटाको सुझाव छ । बिजशालासँग उनले भने, ‘सेयर बजारमा नसोचेको पनि कमाउन सकिने क्षेत्र हो । बचत पैसा बैंकमा राख्नभन्दा सेयरमा लगानी गरिए डबल हुन्छ ।’

सेयर बजारमा प्रवेश गर्नुअघि सफल लगानीकर्ताहरुको स्टोरी उनीहरुका रणनीतिलाई समेत अवलम्बन गरेको खण्डमा सेयरबाटै मालामाल भइने सापकोटा बताए। ‘म ५७ सालतिर छिर्दा बजार बियरिस ट्रेन्डमा थियो, ठ्याक्कै भन्नुपर्दा अहिलेकै जस्तो’, उनले भने, ‘म त भन्छु अब सेयर बजार तेस्रो बूलको सेरोफेरोमा छ । २०७९ सालसम्म नेप्से २८०० सम्म पुग्ने मेरो व्यक्तिगत बुझाइ हो ।’