काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले गलत सूचना प्रवाह गरेर बजार प्रभावित गराएको समयअवधिको कारोबार रद्ध गर्नुपर्ने सेयर बजारका विज्ञ तथा अगुवा लगानीकर्ताहरुले माग गरेका छन् । 

नेपाल इन्भेष्टमेन्ट बैंकले बुधबार बजार खुलेलगत्तै आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको निर्णय भएको भन्दै सूचना प्रवाह गरेको थियो । नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा प्रकाशित यो सूचना करिब डेढघण्टापछि संसोधन गरिएको थियो । ‘टाइप मिस्टेक’ भएको भन्दै बैंकले २५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयरको चाहि निर्णय भएको जिकिर गरेको थियो । डेढघण्टामै यो बैंकको लाभांशको निर्णय उल्टिएपछि बढेको मूल्यमा समेत उचालिएर सेयर खरीद गर्ने लगानीकर्ताहरु जिल्लिएका थिए । 

यो बिषयमा बैंकले अहिलेसम्म सार्वजनिक रुपमा माफी मागेको छैन । बरु ‘टाइप मिस्टेक’ भएको भन्दै घटनालाई सामान्य ढंगले टुुुंग्याउन खोजिएको छ । 

इन्भेष्टमेन्ट बैंकको गल्तीका कारण सयौं लगानीकर्ता मारमा परेपछि र मौखिक उजुरी परेपछि बैंकलाई धितोपत्र बोर्डले स्पष्टीकरण सोधिसकेको छ । यो बिषयमा नेपाल स्टक एक्सचेञ्जको मौनता रहस्यमय देखिएको छ भने बजारका अगुवा तथा विश्लेषकहरुले भने बैंकमाथि कडा कारबाही हुनुपर्ने र झूठो सूचना प्रवाहित भएको अवधिको बैंकको सेयर कारोबार सम्पूर्ण रुपमा रद्ध गरिनुपर्ने र जिम्मेवार निकाय नेप्सेले पनि यो बिषयमा स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् । 

अगुवा लगानीकर्ता तथा सेयर लगानीकर्ता संघका सल्लाहकार छोटेलाल रौनियारले नेपाल इन्भेष्टमेन्ट बैंकबाट निकै ठूलो गल्ती भएको उल्लेख गर्दै भने-'यो गल्तीलाई सामान्य रुपमा लिनुुहुन्न । त्यसै पनि सेयर बजार संवेदनशील ठाउँ हो, एउटा सानो सूचना गलत आउँदा त्यसले उथलपुुथल ल्याइदिन्छ । इनभेष्टमेन्ट बैंकले समेत गलत सूचना प्रवाह गर्दा त्यसका कारण धेरै लगानीकर्ता फसेका छन् ।' 

उनले नेपाल स्टक एक्सचेञ्जले यो बिषयमा सार्वजनिक रुपमा केही कुरा बाहिर नल्याएकोमा आश्चर्य प्रकट गरे । ‘धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको कुरा बिजशालाले लेखेको छ ।’ उनले थपे–‘तर नेप्सेले पनि बैंकमाथि स्पष्टीकरण सोध्नुुपर्छ ।’ 

उनले लगानीकर्ताको हितलाई ध्यानमा राख्दै इन्भेष्टमेन्ट बैंकको गलत सूचना प्रवाह भएदेखि सो सूचना नसच्चिएसम्मको अवधिको सो बैंकको सबै कारोबार रद्ध हुनुपर्ने माग गरे । ‘नेप्सेले पनि यो बिषयमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ र बैंकले सार्वजनिक रुपमा आफ्नो गल्तीप्रति माफी माग्नुुपर्छ ।’ रौनियारले थपे–‘त्यसपछि गलत सूचना रहेको अवधिसम्मको कारोबार रद्ध गरिनुपर्छ ।’ 
उनले सो समयको कारोबार रद्ध नै समस्याको उत्तम विकल्प रहेको समेत जिकिर गरे । 

यो बिषयमा बैंक तथा नेप्से सहमत नभए लगानीकर्ताले अदालत गुहार्नसक्ने समेत उनको चेतावनी छ । ‘यो त अदालतमा मुद्धा लाग्ने ठूलो इस्यूू हो नि ।’ उनले भने–‘बैंकले आफ्नो छविलाई जोगाउने हो भने सार्वजनिक रुपमा माफी मागेर सो अवधिको कारोबार रद्धका लागि नेप्सेलाई अनुरोध गर्नुपर्छ ।’ 

नेपाली सेयरबजारका जानकार तथा विश्लेषक दिलिप मुंनकर्मीले बैंकबाट गम्भीर गल्ती भएको प्रतिक्रिया दिंदै धितोपत्र बोर्ड र नेप्सेले छानबिन गरी कारबाही गर्नुपर्नेमा जोड दिए । ‘अन्यथा अरू कम्पनीहरूले समेत यस्तो गलत सूचना प्रवाह गरी लागनीकर्तालाई झुक्याउने र आर्थिक नोक्सानी गर्ने काम भइराख्छ ।’ उनले थपे–‘आज जसले पहिलो सूचनाको आधारमा बढी मूूल्यमा शेयर खरिद गर्नुभयो, सोको प्रमाणसहित सेवोनमा उजुरी गर्नुका साथै कम्पनीमाथि क्षतिपूूर्तिको माग गरिनुपर्दछ ।’ 

कम्पनीको गलत सूचनाका कारण भएको हानीनोक्सानी सम्बन्धित कम्पनीबाट भराउने परिपाटी बसाएर शुद्ध र यथार्थ सूचनाप्रति कम्पनीहरूलाई जिम्मेवार बनाइनुपर्नेमा जोड दिंदै मुंनकर्मीले भने–‘बजारमा ईन्साईडर ट्रेडिङ मात्र होईन, गलत सूचना दिएर लगानीकर्तालाई गुमराहमा पार्ने काम पनि गलत हो । यो एक किसिमले जालसाजी वा धोखाधडी हो।’