काठमाण्डौ । सुरक्षित र अनुशासित यात्रा कायम गर्न ट्राफिक प्रहरीले विभिन्न किसिमका नियम कार्यान्वयन गरिरहेको छ । ट्राफिक नियम चुस्त पार्न दण्डजरिवानाको पनि व्यवस्था गरिएको छ ।

लेन मिच्ने, नो पार्किङमा पार्किङ गर्ने, वान वेमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी कुदाउने, सुरक्षाका लागि हेलमेट वा सिटबेल्ट नलगाउने आदिमा ट्राफिक जरिवारना तिर्नुपर्ने हुन्छ । कहिलेकाहीँ हतारमा यी नियम चालकहरुबाट उल्लंघन हुन पुग्छ । अनि सुरु हुन्छ जरिवाना तिर्ने झन्झटिलो प्रक्रिया ।

जरिवाना तिर्नकै लागि सुरुमा बैंकमा गएर लाइन बस अनि पैसा बुझाइसकेपछि डिपोजिट स्लिप सम्बन्धित ट्राफिक कार्यालयमा बुझाएपछि मात्रै आफ्नो कागजपत्र वा सवारीसाधन फिर्ता लिन पाइन्छ ।

अब भने बैंकमा गएर ट्राफिक जरिवाना तिर्नका लागि लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनलाइनबाटै जरिवान तिर्न मिल्ने व्यवस्था मिलाउने तयारी गरेपछि सवारीचालकलाई आफ्नो सबै कामधाम छाडेर बैंकमा गएर जरिवाना तिर्नुपर्ने बाध्यता अन्त्य हुन लागेको हो ।

सवारीचालकले अब मोबाइलबाटै जरिवाना रकम तिर्ने व्यवस्था गर्ने तयारी भइरहेको महाशाखाले जनाएको छ । मोबाइल बैंकिङ, वालेट वा अन्य कुनै विद्युतीय भुक्तानी माध्यमबाट चालकहरुले सीधै जरिवान तिर्न मिल्ने व्यवस्था तीन महिनाभित्रमा सुरु गरिने महाशाखाले जनाएको छ ।

यो व्यवस्था लागू गर्न महाशाखाले अहिले सफ्टवेयर निर्माण गरिरहेको छ । अहिलेलाई मोबाइलबाटै जरिवाना तिरे पनि चालकले आफ्नो कागजपत्र वा सवारीसाधन भने सम्बन्धित ट्राफिक कार्यालयमै गएर बुझिलिनुपर्ने हुन्छ ।