-कमल पन्थी, डेपुटी सीइओ(महालक्ष्मी लाइफ इन्स्योरेन्स)

महालक्ष्मी लाइफ इन्स्योरेन्स जीवनबिमा कम्पनीमध्येकै कान्छो संस्था  हो । तपाईहरु बजारमा आएलगत्तै हलचल ल्याइदिनुभयो, के त्यस्तो गर्नुभयो र यसरी हलचल आयो ? 
डेढ वर्षसम्म लाइसेन्स नआएका कारण विभिन्न इस्यूमा हामी चर्चामा रह्यौं । त्यसमा मिडियाले पनि सपोर्ट गरे र चर्चामा ल्याए । कुरा र इस्यू साना–साना थिए र पनि महालक्ष्मी चर्चामा आइरह्यो । 

पछिल्लो अवस्थामा अर्थमन्त्रालय र बिमा समिति समेत नेगेटिभ भएको बेलामा हामी कोर्टमा गएर मुद्धा जितेर आयौं । राज्य नै लागिरहेको विषम परिस्थितिमा समेत हामी आउन सफल भयौं । यसकारण समेत ‘यो संस्था चानचुने छैन है’ भन्ने सन्देश गयो, यसले समेत हामीप्रतिको चासो बढ्यो । 
योसँगै, डेढ वर्षको बीचमा हामी बस्यौं । बिमा समितिका मान्छेहरुलाई यो टिम यत्रो हुँदा समेत चूपचाप बसिरहेको छ, पक्कै पनि केही न केही गरिरहेकै होला भन्ने अनुभूत भएको हुनसक्छ । महालक्ष्मी बलियो छ भन्ने पर्यो उहाँहरुलाई । 

पछिल्लो समय जब हामी बजारमा उत्रियौं, त्यसपछि हामीले एकपछि अर्को गर्दै प्रडक्टमा नवीनता ल्यायौं । 

प्रमोटरको राम्रो टिम बन्यो । म्यानेजमेन्ट राम्रो भयो । सीइओ सर यो क्षेत्रमा खारिनुभएको व्यक्ति हुनुहुन्छ । सेयर होल्डरको कुनै हस्तक्षेप छैन । व्यवसायिक ग्रुप भएको प्रमोटर रहेका छन् । आफैंमा पृथक संस्था बनेको छ । 

बजारमा जाँदा सुरुवातदेखि नै हामीले प्रडक्टमा नवीनता दिन सक्यौं । बिमामा लगभग सबैले ल्याउने एउटै खालको प्रडक्ट हो । तर हामीले स्वाद फरक पार्यौ । बजारमा नयाँ ९ वटा संस्था आउँदा प्रडक्टमा खासै फरक स्वाद देखिएन, तर महालक्ष्मी आउँदा फरक स्वादसहितको प्रडक्ट आयो । यसले गर्दा पनि हामी फरक भयौं । 

यसरी, प्रडक्टको इन्नोभेसन भयो, एजेन्सीको सवालमा पनि बजारमा भएको भन्दा फरक गर्न खोज्यौं । यसले गर्दा पनि बजारभन्दा केही पृथक हामीलाई देखियो । 

प्रडक्टमा तपाईहरु पृथक देखिनुभएको छ । काठमाण्डौमा प्रडक्ट लञ्च गरी देश दौडाहामा पनि हुनुहुन्छ । शाखा बिस्तार र चेतना अभिवृद्धिमा पनि हुनुहुन्छ । मोफसलबाट कस्तो रेसपोन्स पाइरहनुभएको छ ?
एकदमै राम्रो रेसपोन्स आइरहेको छ । प्रडक्टहरुको विषयमा कतिपय ठाउँमा कन्फ्यूजन थियो, तर बिस्तारै हामीले कुरा बुझाउँदै लगेका छौ । कतिपयलाई प्रडक्ट महङ्गो भयो कि भन्ने पनि भयो । त्यो भ्रम हामीले चिरिसक्यौं । 

नयाँ टिम छ, यसले केही गर्छ भन्ने विश्वास जनसाधारणमा पनि देखिएको छ । तर, जब प्रतिफल आउँछ, तब मात्र हामीलाई जनताले कति रुचाए भन्न सकिएला । अहिलेको रेसपोन्सले चाहि हामी उत्साहित छौ । 

बिमा बजारमा डबल बिमावाला प्रडक्टको निकै चर्चा छ । यसअघि समेत विभिन्न बिमा कम्पनीहरुले ‘डबल’कै अफर ल्याएका थिए, तर ठ्याक्कै डबल चाहि बिमितले नपाएको अवस्था थियो । महालक्ष्मीले चाहि के आधारमा डबल दिन्छौ भनिरहेको छ भन्ने प्रश्न पनि उठेको छ नि ?
बोनस भनेको कम्पनीको नाफाबाट आउने हो । नाफा हुनलाई आम्दानी राम्रो हुनुपर्यो, खर्च कम हुनुपर्यो । खर्चमा कटौति गरी विजिनेश राम्रो हुनुपर्छ । हाम्रो अनुभव अनुसार कुन–कुन खर्चमा कटौति गर्न सकिन्छ भन्ने बिषय पनि महत्वपूर्ण हुने रहेछ । हामीले खर्चमा धेरै कटौति गरेका छौ । भोल्युम पनि चाहिन्छ, खर्च पनि कटौति पनि गर्नुपर्ने हुन्छ । यी दुईवटा फण्डामेन्टलमा हामी बसिरहेका छौ, यसले चाहि केही हदसम्म खर्च घट्छ । हामीसँग एउटा विजिनेश प्लान पनि छ । यो रेटमा हामी बस्छौ भन्ने पहिलादेखि नै योजना छ । न्यूनतम टार्गेटसहित बसेका छौ, यसकारण समेत हामीले सक्छौ भन्ने लाग्छ । हामी डबल सहजै दिन सक्छौ । 

देशको अर्थतन्त्र हेर्दा त्यति धेरै स्थिर छैन । बैंक ब्याजदर स्थिर छैन । यस्तो उतारचढावपूर्ण बजारमा तपाईहरुले गर्ने लगानीबाट सधै उच्चतम प्रतिफल आउँछ भन्ने पनि नहोला । यस्तो अनिश्चितता भएको बजारबाट कमाएर बिमितहरुलाई कसरी डबल दिन सक्नुहुन्छ ?
बिश्वको बजारमा हेर्दा वित्तीय संस्था धेरै टाट पल्टिरहेका हुन्छन् । तर बिमा कम्पनी मात्र त्यस्ता कम्पनी हुन् जुन चाहि टाट पल्टिएको इतिहास छैन । बिमा कम्पनी टाट नपल्टिने कारण चाहि कम्पनीले उसको दायीत्वको रिइन्स्योरेन्स गरेको हुन्छ । र, त्यो बिमा कम्पनीमा ठूलो घटना घट्यो, कुनै डिजास्टर भयो वा क्लाइन्टलाई चाहि ठूलो लगानी पर्दा दाबी बढी आउँछ, अरु कम्पनीमा दवाब पर्ला । बिमा कम्पनी भनेको दाबी हो । एउटा बिमा कम्पनीमा प्रभाव पर्दा विश्वका विभिन्न कम्पनीसँग सम्बन्ध भएकोले एउटा कम्पनीमा प्रभाव पर्दा विश्वका सबै कम्पनीमा प्रभाव पर्ने र पैसा त्यहाँबाट आउने भएको हुनाले बिमा कम्पनी डूब्दैन । 

हामीले मिनिमम रेट तय गरेका छौ । नेपालको १० देखि १२ वर्षको ब्याजदरको रेट एउटै छ । हामी त्यही रेटमा खेलिरहेका छौ । त्यो रेटले भोलिका दिनमा ब्याजदर निकै तल गयो भने त्यसबेला मात्र कम्पनी आफैंले तिर्नुपर्ने हुन्छ । नभए, यो प्रडक्टमा कहीँ पनि द्विविधा छैन । 

तपाईहरुले ‘डबल’ नै भनेर फोकस गरेर प्रडक्ट ल्याउनुभयो सुरुवातमै । तपाईहरुले बजारलाई दिन खोज्नुभएको सन्देश चाहि के हो ? जस्तो पहिला धेरैले डबल भने तर, दिएनन्, हामी चाहि दिन्छौ भन्न खोज्नुभएको हो कि ? अथवा के हो ?
मैले ०५८ सालमा फाइनान्समा काम गर्दा एलआइसीको पोलिसी किनेँ । त्यसबेला नेपाल लाइफ र मेटलाइफ पनि आइसकेका थिए । त्यसपछि एउटा प्रडक्ट किनेँ, त्यो चल्दै गयो । त्यो बीचमा मेरी श्रीमति मेटलाइफमा काम गर्थिन । मेटलाइफले विमितलाई अनेक सपना देखाएको थियो । मैले पनि यसमा श्रीमतिलाई सपोर्ट गरेँ । आजको दिनमा क्लेम लिएर जाने बेलामा भनिएको कुरा पूरा भएन । म आफैंले पनि एलआइसीमा गरेँ, त्यसको पनि पाइएन । १ लाखको गरेको थिएँ, पाउने बेलामा १ लाख ६० हजार जति मात्र पाएँ । यस्तै समस्या अन्य कम्पनीमा पनि देखियो । भन्ने बेलामा ‘डबल’ भन्ने, तर पाउने बेलामा डबल नपाउने समस्या देखियो । यसले जहिले पनि आफू झुक्किएको अनुभव हुन थाल्यो । 

कतिपय ठाउँमा कम्पनीले डबल नभने पनि बेच्ने मान्छेले ‘डबल’ भन्दै बेचेको पनि देखियो । त्यो हुँदा कम्पनीबाट बिमित सधैं ठगिएकै हुन्त ? त्यो कमजोरीलाई अवसरको रुपमा किन नलिने ? कहीँ न कहीँ संभावना त छ नि त ? त्यसैमा खेलेर हामीले प्रडक्ट डिजाइन गरेका हौ ।

हामीसँग काम गर्ने एजेन्टहरुले हिजोको दिनमा ‘डबल’ भनेका थिएँ, आज भएन भनेर भाग्न नपरोस् । कतिपय कम्पनीका साथीहरुले सिकाए पनि सुरुवाती दिनहरुमा । मार्केटिङ गर्ने साथीहरुले पनि यो कुरा भनेका हुनसक्छन् । अभिकर्ताले पनि जानेर वा नजानेर यो कुरा भनेका हुनसक्छन् । तर पाउने बेलामा बिमितले सधैं नपाएको अवस्था पनि देखियो । अहिलेका दिनमा पनि त्यस्ता प्रवृति देखिएको छ, यो विकृतिलाई चिर्न सकिन्छ भन्ने लागेर ल्याएका हौ । बजारमा नयाँ सन्देश दिनुपर्छ र नयाँ काम पनि गर्नुपर्छ भनेर यो प्रडक्टमा जोड दिएका हौ । 

बजार जहिले बोनसबाट डोमिनेन्ट भयो । तर विश्वको बिमा बजार भनेको रिस्कबेस्डमा गइसकेको छ । भारतमै पनि टर्मलाइफको बहार आएको छ । अब बजार बोनसको होइन, रिस्कबेस्ड प्रडक्टको बन्दैछ । यस्ता किसिमका प्रडक्टहरुको दिन आएको छ । यसमा जानुपर्ने आवश्यकता भइसकेको छ। 

सुरुवातमा ३ वटा प्रडक्ट ल्याउनुभयो । हालसालै अर्को नवीन प्रडक्ट ल्याउनुभएको छ । कति समयको अवधिमा प्रडक्ट लञ्च गर्ने योजना बनाउनुभएको छ ?
हामीले यो वर्ष आक्रामक रुपमा काम गर्दा पनि १० वटा जति प्रडक्ट बनाउँछौ होला । हामीले भर्खरै नयाँ प्रडक्ट ल्याएको छौ, बिल्कुलै नयाँ खालको । अन्य प्रडक्टमा पनि काम गर्दैछौ । मेरो मान्यता चाहि वर्षमा ३ देखि ४ वटा प्रडक्ट नयाँ ल्याउनुपर्छ भन्ने हो । सबै प्रडक्ट सफल हुन्छ भन्ने पनि छैन । 

तपाई लामो समयदेखि जीवनबिमा क्षेत्रमा कार्यरत हुनुहुन्छ । तपाईको विश्लेषणमा नेपालको जीवन बिमाको क्षेत्रमा नयाँ प्रडक्ट ल्याउने कुरामा कम्पनीहरु खरो उत्रिन नसकेका हुन् ? अथवा, अस्वस्थ प्रतिस्पर्धा चलिरहेको हो कि ? वा प्रडक्टहरुमा केही नवीनता पनि आउन खोजिरहेको हो ?
इन्नोभेसन केही न केही चाहि हुन थालेको छ । २–३ वटा प्रडक्टहरुमा फरकपन पनि आएको छ । तर, अझै गर्नसक्ने ठाउँ धेरै छ । कतिपय पुराना कम्पनीहरु नयाँ गर्न खोजिरहेका छैनन्, मेरो ब्राण्ड जान्छ भन्ने डरले नयाँलाई रोकेका हुन् कि भन्ने पनि लाग्छ । हामीलाई सुरुवात गर्नुछ, हामी जुनसुकै क्षेत्रमा जानसक्ने भयौं। तर, पुरानो कम्पनी ब्राण्ड स्थापना गरेर बसिरहेका हुन्छन्, नयाँ क्षेत्रमा जाँदा आउने चुनौतिका कारणले पनि घट्ने हो कि भन्ने डरले इन्नोभेसन कम भएको हो कि जस्तो लाग्छ । प्राविधिक रुपमा भन्दा नेप्लिज कम्पनीहरुको रिसर्च कमजोर नै छ ।

रिसर्चको पाटोमा तपाईहरु कसरी अगाडि बढ्नुहुन्छ ? तपाईहरुले पहिला छुट्टै रिसर्च टिम नै तयार गर्ने कुरा पनि घोषणा गर्नुभएको थियो?
हामी यसतर्फ अगाडि बढिरहेका छौ । शाखा बिस्तार र चेतना वृद्धिमा अभियान संचालन गरिरहेका कारण भनेजस्तो रिसर्चको पाटोमा काम हुन सकिरहेको छैन । अहिले हामी रिसर्च एण्ड डेभलपमेन्ट भन्दा पनि अहिले हामी फिडब्याकलाई जोड दिन्छौ । हाम्रा अभिकर्ताबाट आउने फिडब्याकले पनि रिसर्चको काम गर्छ । आएको फिडब्याकलाई वैज्ञानिक आँखाबाट हेरियो भने राम्रो काम हुन्छ । तर, ढिलोचाँडो रिसर्चका लागि हाम्रो टिम नै बनाउने योजना छ । 

तपाईहरुको शाखा सञ्जाल बिस्तारको योजना चाहि के छ ?
चैत मसान्तभित्र हामीले २३ वटा शाखा खोलिसकेका छौ । यो आर्थिक वर्षभित्र हामीले ७५ वटा शाखा सञ्जाल बिस्तार गरिसक्छौ होला । 

प्रसङ्ग बदलौं, समग्र बिमा क्षेत्रतर्फ लागौं । पछिल्लो समय बिमा कम्पनीहरुमाथि लाग्दै आएको आक्षेप: कर्मचारीको अस्वस्थ ढंगको तानातान, प्रडक्टहरुको अस्वस्थ कपीपेष्ट, अभिकर्ताहरुको पनि त्यस्तै तानातान र त्योसँगै बढी विजिनेश गर्छु भन्ने उद्देश्यले बिमा समितिले जति निर्देश गरेको छ, त्यो भन्दा बढी खर्च गर्न पनि तयार भए भन्नेछ । जथाभावी उपहार बाँडेका कारण बिमा समितिले सर्कुलर नै जारी गर्नुपर्यो । यो के भएको हो ? नयाँ कम्पनीहरुले वातावरण बिगारेका हुन् कि ? अथवा हामी कतै चुक्दैछौ कि ? अथवा नयाँ पुराना सबैको चुक भएको हो कि ? 
कर्मचारीको हकमा उनीहरुले वृतिविकासको अवसर खोजिरहेको हुन्छ । नयाँ कम्पनीमा वृतिविकास होला भनेर पुराना छाडेर आउने क्रम रह्यो, स्वभाविक प्रक्रिया हो यो । वृतिविकास चाहने मान्छेलाई नयाँ कम्पनी आएपछि अप्सन उपलब्ध भयो नै । नयाँ कम्पनी आइसकेपछि बिमा बजारको क्षमता, कर्मचारीको आवश्यकता कुरा गर्दा त्यति प्रतिस्पर्धी जनशक्ति उत्पादन हुन सकिरहेको छैन । यसले गर्दा नयाँ ९ वा १० वटा नयाँ कम्पनी आउँदा १०० जनाभन्दा बढीको खाँचो पर्यो, त्यसरी पनि कर्मचारी तानियो । 

मेरो कर्मचारी गयो भन्नुभन्दा पनि मेरो कर्मचारीलाई टिकाइराख्न वा फर्काउन मैले के गर्नुपथ्र्यो, के गरिँन ? भनेर समीक्षा हुन आवश्यक छ । कर्मचारी सन्तुष्ट नभएसम्म उसले अप्सन खोजिरहन्छ । अहिले भइरहेको अवस्था पनि त्यही हो । कतिपय ठाउँमा पुरानोबाट कर्मचारी नयाँमा आए ठूलो आशासहित । उसले त्यो वातावरण पाएन भनेर फेरि पुरानोमा गएको अवस्था पनि छ । 

यसरी हेर्दा अति महत्वकांक्षी कर्मचारी र सामान्य कर्मचारी गरी २ वर्गका कर्मचारी विमामा छन् । अति महत्वकांक्षीलाई हामीले लिने बेलामा पनि विचार गर्नुपर्छ । 

तर, यो प्रक्रिया चाहि नौलो होइन । नयाँ कम्पनीमा केही न केही एड्भान्स होला भनेर पनि मूभमेन्ट भएको हुनसक्छ । कर्मचारीहरुको काम गर्ने तरिका सिस्टेमेटिक नहुँदा समेत कर्मचारीमा एउटा मूभमेन्ट भएको छ । 

अभिकर्ताको हकमा मेरो मान्यता चाहि नयाँ अभिकर्ता सिर्जना गर्नुपर्छ भन्ने नै हो । हामी नयाँतर्फ लागिरहेका छौ । तर, पुराना कोही साथी आए हामी स्वागत गरिरहेका छौ । हामीसँग ९० प्रतिशत जति अभिकर्ता नयाँ नै हुनुहुन्छ । 

अर्कोपाटो, पुरानो कम्पनीमा आबद्ध भएपछि त्यहाँ हुने बेनिफिट तुरुन्तै छाड्न नमिल्ने कारणले समेत धेरै अभिकर्ता अरुतिर सरेका छैनन् । जसको सिस्टेमेटिक छैन, त्यहाँ चाहि बढी समस्या छ । सिस्टमले गाइड गरेको ठाउँमा यो समस्या छैन । 

अब पछिल्लो समयमा आएको विषय अभिकर्ताले पाउने सेवा सुविधा र उपहारको कुरातर्फ हेरौं । अहिले बिमासमितिको गाइडलाइन १८ प्रतिशतको छ । त्यसमा बिमा समितिले सर्कुलर जारी गरेको छ । १८ प्रतिशतको गाइडलाइन आइसकेपछि अर्को गाइडलाइन आइराख्नुपर्ने आवश्यकता थिएन, किनभने त्यो नै एउटा मजबुत गाइडलाइन थियो । तिमीले कमाएको १८ प्रतिशतलाई खर्चमा सीमित गर भन्ने हो । अलिक बढी माइक्रो म्यानेजमेन्ट भयो कि भन्ने लागेको छ । कोही कसैले यो सीमा पनि नघाए होला, पोखरीमा एकदुईवटा माछाले पानी धूमिल बनाउन खोेज्दा बिमा समितिले यो कदम चालेको पनि हुनसक्छ । 

हामी त गाइडनलाइनमा बसेर काम गरिरहेका छौ । हाम्रो त स्पष्ट योजना रहेकाले हामी सफल हुँदै गएका हौ । 

सधैभरि उठ्ने गरेको एउटा प्रश्न–जीवन बिमा कम्पनीको कोषमा निकै ठूलो रकम थुप्रिएर बसेको छ । लगानीका पर्याप्त विकल्पहरु नहुँदा बैंकको मुद्दतिमा राख्नुपर्ने अवस्था थियो । बिमा समितिले लगानी सम्बन्धी व्यवस्था पनि परिमार्जन गरी केही नयाँ विकल्पहरु खुल्ला गरेको छ । त्यो पर्याप्त छ कि छैन ? तपाईको धारणा के हो ? लगानीका उपकरणहरु वा विकल्पहरु जे–जे खोजिरहनुभएको छ, त्यो उपलब्ध छ कि छैन ? अन्य विकल्प के–के हुनसक्ला ? 
लगानीका लागि हामीसँग अहिले परम्परागत विकल्प मात्र छन् । संसोधनमा केही कुरा आउन खोजेको छ । यसले केही हदसम्म आयस्रोतको दायरा बढाउनसक्छ । बिमा कम्पनीहरुले लङटर्म लगानी गर्न पाए भने रिटर्नमा सहयोग पुग्छ । 

हामीले अलिक संभावनायुक्त क्षेत्र खोजिरहेका छौ । सुरक्षित लगानीको विकल्प ल्याइनु उपयुक्त हुन्छ । हिजोको दिनमा सेयर मात्र लगानीको अप्सन थियो, यसमा जोखिम बढी थियो । यसलाई व्यवस्थापन गर्न सिस्टेमिटक बनाउन सकिएन भने गाह्रो छ । 

बिमा क्षेत्रका लागि अझै पनि लङटर्म लगानीका योजनाहरु अझै आइसकेको छैन । १५ वर्षको स्किम ल्याउँदा त्यही अवधिको लगानीको उपकरण आउनुपर्छ । भौतिक पूर्वाधारमा गर्दा पनि ठूलो देखिएको हो, तर हाइड्रोको रिटर्न त्यति चाँडो देखिन्न । 

पूर्वाधारमा जाने भन्दा एउटा कम्पनी पूँजीले पूँजी पुग्ने अवस्था देखिन्न । यसमा विभिन्न जीवन बिमा र नन् जीवन बिमा कम्पनीको कन्सोर्टियम मोडलमा लगानी हुनसक्ला । तर, एउटैबाट लगानी गर्न गाह्रो होला । 

लगानी गरेको पैसा आइडल राखेर हुँदैन । पूँजीबजारबाट हामीले गाउँ गाउँबाट आएको पैसा चलायमान बनाइराखेको अवस्था छ । 

बैंकहरुमा एसेट लायवलिटिजको मिसम्याच भएका कारण समेत समस्या बढी आइरहेको छ । ब्याजदरमा बैंकहरु अनुशासित बनिदिने हो भने समस्या कम आउने थियो । चेन इम्प्याक्ट पर्न कम हुने थियो । बैंकहरुले १ वर्षको निक्षेप उठाएर १५ वर्षे कर्जा प्रवाह गर्ने गर्छन् । 

बिमाको पहुँच वृद्धि, सचेतना वृद्धि स्वस्फूर्त रुपमा बिमा गर्न आउने मान्छे छैनन् । फोर्सफुल बिमा भइरहेको छ । अभिकर्ता ढोका ढोका धाउनुपर्ने अवस्था छ । व्यवसाय बिस्तार त गरिरहनुभएको छ, अर्कोतर्फ जनचेतना अपेक्षित ढंगले बढ्न सकेको देखिएन । यो त अलिक नमिलेजस्तो भएन र ?
केही हदसम्म म तपाईले भनेको कुरामा सहमत छु । नयाँ विधेयकले धेरै कुरा समेट्छ जस्तो लाग्छ मलाई । जनचेतना वृद्धिमा लगानी भएको छैन । एजेन्टको उत्पादकत्व वृद्धिका लागि लगानी भएन, यसमा कारण भनेको एजेन्ट टिकिरहँदैन भन्ने मान्यता पनि हो । आज मैले कुनै एजेन्टमा लगानी गरौंला, ऊ भोलिसम्मै टिकिरहन्छ भन्ने निश्चितता छैन । ग्रास रुटमा हामी जान नसकेकै हो । नलेजको वृद्धिमा समेत हामीले ध्यान दिएका छैनौ । 
सचेतनाको काम पनि राम्रोसँग हुनसकेको छैन । कम्पनी पनि लाग्नुपर्छ यसमा । 

यसमा बिमा समितिको भूमिका चाहि हुन्न ?
बिमा समिति पनि लाग्नुपर्ने हो । हामीकहाँ बजार विकासको बारेमा समेत सोचिन आवश्यक छ। बिमा समितिको प्रयासमा यस्तो काम भयो भने राम्रो हुन्छ । बिमितबाट आएको १ प्रतिशत रकम बिमा समितिमा पनि कलेक्सन भएको हुन्छ । केही हदसम्म त्यो फण्डलाई प्रयोग गरिए राम्रो हुन्छ । कम्पनीहरुले अवेयरनेशको नाममा आफ्नो मात्र विज्ञापन गरे । यसमा कलेक्टिभ रुपमा काम गर्न सकिन्छ । तर, नियामकले विशेष इनिसिएसन लिनुपर्ने देख्छु । 

हामीकहाँ ५ लाख अभिकर्ता छन्, तिनीहरु पुगेकै छन् । अपेक्षित रुपमा हुन नसकेको होला । पहुँचमा निकै ठूलो ग्रोथ त भएकै छ, तर अपुग छ अझै । यसले समय लिन्छ । मानिसलाई कुनै घटना परिघटना नभएसम्म बिमाको आवश्यकता महसुस नहुने भएकोले मिलेर काम गर्नुपर्छ । बिमा समितिको नेतृत्वमा केही गर्ने हो भने यो संभव छ । बढेको चाहि छ, तर भएको छैन । टेक्नोलोजी ट्रान्सफरमेसन सिस्टमबाट जान सकियो भने सचेतनामा वृद्धि हुनसक्छ । 

नेपालको अर्थतन्त्रको साइजअनुसार यहाँ बिमा कम्पनीको संख्या धेरै भयो जस्तो लाग्दैन ?
अहिले नै त्यसरी धेरै भनिहाल्ने अवस्था छैन । ४–५ वर्षपछि चाहि यो कुरा आउनसक्ला, विषय सान्दर्भिक हुनसक्ला । बिमाको पहुँच वद्धि गर्ने ठूलो काम बाँकी नै छ । पहुँचमा राम्रो वृद्धि भइसकेपछि चाहि यो सोचिन आवश्यक छ । पहुँच धेरै बढाउन बाँकी रहेको अवस्थामा संख्या धेरै भइहालेको अवस्था होइन ।