काठमाण्डौ । वर्तमान अवस्थामा डिजिटल बन्दै गइरहेको बैंकिङ क्षेत्रमा ग्राहकले आकर्षक सेवासुविधा पाउन थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै विभिन्न नयाँनयाँ प्रोडक्टहरु भित्र्याइरहेका हुन्छन् । जसले गर्दा ग्राहकले बैंकको लामो र पट्यार लाग्दो लाइन लागेर पैसाको कारोबार गर्नुपर्ने बाध्यताबाट छुटकारा पाएका छन् ।

पहिलेपहिले जुन काम पासबुक र चेकबुकका माध्यमबाट हुने गथ्र्यो अहिले त्यसको काम एउटा कार्डले गर्ने गर्दछ । त्यो उपयोगी कार्डको नाम हो ‘डेबिड कार्ड’ ।

नेपालमा पनि हिमालयन बैंकले सन् १९९५ मा देशमा पहिलोपटक एटीएम कार्ड भित्राएसँगै यसको प्रयोगकर्ता बर्सेनि बढिरहेका छन् । अहिले नेपालका सबैजसो बैंकहरुले आफ्ना ग्राहकलाई डेबिट कार्डको सुविधा प्रदान गरिरहेका छन् ।

बैंकमा खाता भएका सबैले प्रायः डेबिट कार्डको प्रयोग गरिहेका हुन्छन् । तर कमैलाई मात्र यसमा लुकेका आफ्ना वित्तीय जानकारीबारे थाहा होला । 

के तपाइँले कहिल्यै आफूले बोकेको डेबिट कार्डको नम्बरलाई ध्यान दिएर हेर्नुभएको छ ? यदि हेर्नु नै भएको छ भने पनि के तपाइँलाई ती नम्बरको पछाडि लुकेका जानकारीका बारेमा थाहा छ ? यदि थाहा छैन भने पनि चिन्ता नलिनुहोस् । यहाँ हामी तपाइँलाई ती नम्बरका पछाडि लुकेका तथ्यका बारेमा प्रकाश पार्दैछौँ ।

डेबिट कार्ड वा क्रेडिट कार्ड दुवैमा कोरिएका प्रत्येक नम्बरको अर्थ हुन्छ । यी कार्डका नम्बरलाई कोड गर्ने गरिन्छ । यिनै नम्बरमा तपाइँको अकाउन्ट (बैंक खाता) का साथसाथै यी कार्ड जारी गर्ने कम्पनीको पनि सम्पूर्ण विवरण लुकेको हुन्छ ।

१. डेबिट कार्ड र क्रेडिट कार्डमा रहेको पहिलो नम्बरले त्यो कम्पनीलाई जनाउँदछ, जसले कार्ड जारी गर्छ । जस्तै बैंक, वित्तीय संस्था र अन्य कम्पनी । यसलाई मेजर इन्डस्ट्री आइडेन्टिफाएर (एमआईआई) भनिन्छ । यो नम्बर अलग–अलग इन्डस्ट्रीका लागि अलग–अलग तोकिएको हुन्छ । 

एमआईआई जारी गर्ने इन्डस्ट्रीमा आईएसओ इन्डस्ट्री, एयरलायन्स, बैंकिङ तथा वित्तीय संस्था, बैंक तथा मर्चेन्ट कम्पनी र अन्य हुन्छन् ।

२. डेबिट कार्ड र क्रेडिट कार्डको पहिलो ६ वटा नम्बरले कार्ड जारी गर्ने कम्पनीलाई दर्शाउँछ । यसलाई इस्युअर आइडेन्टिफिकेसन नम्बर भनिन्छ। जस्तै अमेरिकन एक्सप्रेस, भिजा, मास्टर कार्ड, मेइस्ट्रो, डिस्कभर आदि । 

३. सातौँ नम्बरदेखि लिएर एन–१ (कार्डको अन्तिम नम्बरलाई छोडेर) सम्मका नम्बर तपाइँको बैंक खाताको नम्बरसँग सम्बन्ध रहेको हुन्छ । यी नम्बरले तपाइँको बैंक खातासँग हुबहु मेल खाँदैन तर खाताको नम्बरसँग सम्बन्ध भने राखेको हुन्छ ।

४. डेबिट र क्रेडिट कार्डमा लेखिएको अन्तिम नम्बर चेक डिजिटको नामबाट लिइन्छ । यसका माध्यमबाट कार्ड मान्यताप्राप्त हो कि होइन भनेर थाहा पाइन्छ । – एजेन्सी