काठमाण्डौ । कतिपय बैंक तथा बित्तीय संस्थाका प्रमुखहरुले सीसीडी रेसियो ८० प्रतिशतभन्दा माथि पुगेर तरलता असहजता देखिएको भन्दै लगानीकर्ता तर्साइरहेका बेला नेपाल राष्ट्रबैंकले भने तरलता अवस्था सुविधाजनक स्थितिमा रहेको प्रष्ट्याएको छ । 

राष्ट्रबैंकले चालु आर्थिक वर्षको पहिलो ५ महिनाको तथ्याङ्कमा आधारित रहेर समीक्षा सार्वजनिक गर्दै समग्र बित्तीय प्रणालीमा तरलताको अवस्था सुविधाजनक रहेको बताएको हो । उसले केही सीमित बैंकहरुमा तरलता असहजता देखिएको स्वीकार गरे पनि निकट भविष्यमै सरकारी खर्चमा वृद्धि हुने र त्यसले बित्तीय बजारको अवस्था थप सहज हुँदै जाने दाबी गरेको हो।

आफ्नो समीक्षामा केन्द्रीयले बैंकले आन्तरिक बित्तीय बजारको अवस्था केही कसिलो रहनुको साथै ब्याजदरमा केही अस्वभाविक प्रवृति देखिए पनि समग्र बित्तीय अवस्था सामान्य नै रहेको निश्कर्ष प्रस्तुत गरेको छ । ‘बैंक तथा  बित्तीय संस्थाले कायम गर्नुपर्ने कर्जा–निक्षेप तथा पूँजी अनुपात सम्बन्धमा नेपाल राष्ट्रबैंकको स्पष्ट अडान र खुल्ला बजार कारोबार तथा ब्याजदर करिडोरमार्फत सक्रिय रुपले तरलता प्रवाह गरिएकोले ब्याजदरमा स्थायीत्व देखिन थालेको छ ।’ केन्द्रीय बैंकले भनेको छ–‘बित्तीय स्थायीत्वको अंकुशको रुपमा रहेको कर्जा–निक्षेप तथा पूँजी अनुपातको सम्बन्धमा नेपाल राष्ट्रबैंकले अवलम्बन गरेको नीतिले कर्जा जोखिम नियन्त्रण गर्नुको साथै कर्जा र निक्षेप वृद्धिबीच सन्तुलन कायम गर्न सहयोग पुग्नेछ ।’