काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन वर्षभित्रै काठमाण्डौमा मेटो रेल चलाउने गरी काम थालिएको बताएका छन् । 

सरकारले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बिषयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

रेलमार्गलाई काठमाडौँ, केरुड र लुम्बिनीसँग जोड्न अध्ययन भइरहेको उल्लेख गर्दै उनले भने–‘तीन वर्षभित्र काठमाडौँमा मेट्रो चल्छ, यो योजनाविहीन ढंगले भनेको होइन ।’

प्रधानमन्त्री ओलीले  कोशी, कर्णाली र गण्डकमा पानी जहाजको माध्यमबाट समुद्रसम्म जाने र पानीजहाजबाट सामान ढुवानीको समेत व्यवस्था हुने वचनबद्धतालाई दोहोर्याए ।

विराटनगर र नेपालगञ्ज विन्दुबाट अन्तर्राष्ट्रिय जहाज अवतरणका लागि हवाइजहाजले प्रवेश पाउने, अप्टिकल फाइबर ओछ्याउने र अर्काे वर्ष विद्युतभार कटौती अन्त्य गर्ने ढंगबाट काम भइरहेको बताउँदै उनले उत्पादित विद्युत् प्रसारण लाइनको व्यवस्थापन गरेर आवश्यकतानुसार व्यवस्थापन गरिने बताए । 

सबैखाले एकाधिकारलाई अन्त्य गरिने दृढता उनले व्यक्त गरे । जुनसुकै वंशज नेपाली नागरिक सन्तानले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न कुनै व्यवधान नहुने बताउँदै उनले समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुने प्रष्ट पारे । उनले भने, “संविधान संशोधन गर्न सकिने दस्तावेज भएकाले आवश्यकता र औचित्यका आधारमा संशोधन हुनसक्छ । यससम्बन्धी समस्या समाधार गर्न सरकार तयार छ ।” 

संघीयताको नयाँ अभ्यासका क्रममा आउने समस्यालाई छलफलका आधारमा सहमतिमा ल्याएर स्थानीय र प्रदेशसभा सरकारलाई प्रतिफलमूलक बनाइने पनि उनले बताए । 

ओलीले सरकारी संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गरी भ्रष्टाचार, तस्करी र कालाबजारी अन्त्य गरिने बताए । 

उनले भने, “भ्रष्टाचार नियन्त्रण र उन्मूलन गरिन्छ, वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण, कर छल्ने र अनुचित कार्यको अन्त्य गरिनेछ । कर्मचारी प्रशासन ठीक ढंगले अघि बढाइने छ । प्रशासनलाई चुस्तदुरुस्त बनाउने नीति लिइनेछ । 

प्रधानमन्त्री ओलीले अब प्रतिपक्षलाई राम्रो कामलाई राम्रो तथा नराम्रो कामलाई नराम्रो भन्न आग्रह गर्दै सरकार प्रतिपक्षसँग एक भएर अघि बढ्न तयार रहेको बताए । 

देशलाई अहिलेको आर्थिक स्थितिको विन्दुबाट अघि बढाइने, नेपाल सधैं गरीब र पछि रहिरहन नसक्ने र  अब नेपाललाई तेस्रो विश्वबाट पहिलो विश्वमा पुर्याउने नीति तथा कार्यक्रमले उद्देश्य लिएको समेत बताए । 

मुलुकलाई सम्पन्न गराउने समृद्धि र विकासमा केन्द्रित नीति तथा सुखी नेपालीको राष्ट्रिय आकांक्षा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिको लक्ष्य प्राप्तिका लागि कुन बाटोबाट जान्छौँ भन्ने स्पष्ट रहेको बताए ।

देशको सुरक्षा, सम्मान, हित र पूर्वाधारलगायतका आधारबाट जनताबाट जनतालाई सुख र समृद्धि तुल्याउने नयाँ राजनीतिक प्रणालीको अभ्यास भइरहेको बताउँदै उनले कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण, व्यापक रोजगारी सिर्जना, उत्पादन र रोजगारी, राष्ट्रिय र आत्मनिर्भर अर्थतन्त्रमा जोड दिने र व्यापार घाटालाई सन्तुलनमा ल्याउने कुरा नीति र कार्यक्रम प्रस्तुत भएको बताए ।