काठमाण्डौ । एक महिनाकै छोटो अवधिमा नेप्से परिसूचक ३०० अंकले बढ्दै दैनिक कारोबार रकमसमेत ४ अर्ब नाघेको छ । पछिल्ला केही दिनयता नेप्सेले दैनिकजसो नयाँ नयाँ कीर्तिमान बनाउँदै गइरहेको छ । 

केही महिनाअघि दैनिक कारोबार रकम ३० करोड सेरोफेरोमा घुमिरहँदा हिजोआज ३ अर्ब कारोबार हुनु स्वभाविक झैं बन्दै गइरहेको देखिन्छ।

नेप्से परिसूचक न्यून विन्दूमा हँुदा सूचीकृत कम्पनीहरुका सेयरमूल्य निकै तल आइसकेका थिए । अकस्मात लघुवित्त समूहमा आएको उछाल बिमा हुँदै हाल बैंकिङ समूहसम्म सर्ने पूर्वसंकेत देखिन थालेको छ भने हाइड्रो समूहमा समेत लगानीकर्ताहरुले ध्यान दिन थालेका छन् ।

सेयर बजार बढिरहँदा यसको चर्चापरिचर्चा व्यापक बन्दै गएको छ । हिजोका दिनमा सेयरमूल्य सस्तो हुँदा बजारबाट सेयर किन्न डराएका व्यक्तिहरु आज महङ्गो मूल्यमै तछाडमछाड गर्दै सेयर किनिरहेका छन् । दैनिक कारोबार रकम बढेसँगै नयाँ नयाँ लगानीकर्ताहरुको प्रवेशलाई थेग्नै नसक्ने अवस्थासम्म बेहोर्नुपरिरहेको ब्रोकरहरु सुनाउँछन् ।

आखिर नेप्से परिसूचकमा किन अभूतपूर्व उछाल आयो वा आउँदैछ ? बजार सम्बद्ध सरोकारवाला के भन्छन् ?

भरत रानाभाट(अध्यक्ष)-स्टक ब्रोकर्स एशोसिएन अफ नेपाल
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको बजारप्रतिको बुझाइ र सकारात्मक सद्भावले लगानीकर्ताहरुको मनोबल बढेको छ । दैनिक कारोबार रकम ४ अर्बमात्र हैन कि निकट भविष्यमै १५ अर्बसम्म पुग्ने रोडम्याप तयार हुँदैछ । नेप्सेको अनलाइन प्रणालीका केही कमजोरीका बाबजूद पनि अनलाइन लगइन लिई धितोपत्र कारोबार गरेकै कारणसमेत भोल्यूमलाई ठूलो टेवा पुगेको देखिन्छ । नेप्से परिसूचक १३०० क्रस भएपछि म्युचुअल फण्ड, इन्भेष्टमेन्ट कम्पनीहरु पनि आक्रामक ढंगले सेयर खरीद गरिरहेका छन् । 

मधु जोशी, ब्रोकर नम्बर ४४-डाइनामिक मनी मेनेजर्स एण्ड सेक्युरिटीज प्रालि
बजार बढ्न थालेपछि नयाँ मान्छेहरुको आगमन निकै बाक्लिएको छ । चियापसलमा समेत सेयर बजारको वृद्धिकै विषयमा चर्चा हुन थालेको छ । बैंकबाट सहजरुपमा ऋण पाइनू र हाम्रै ग्राहकहरुले पनि बैंकबाट सेयर कर्जा लिई लगानी गर्नेको संख्या समेत ह्वात्तै बढेको छ । मारवाडी समुदायका ग्राहकहरु पनि हाल सेयर बजारमा प्रवेश गरिसक्नु र पुराना लगानीकर्ताहरुलगायत सबैको कमब्याकले समेत नेप्से बढेको हो ।

महेश्वरभक्त मल्ल, ब्रोकर नम्बर ११-मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनी
हाल बढिरहेको बजारमा किन्नेको संख्या बढे पनि भोलिका दिनमा बजार करेक्सन आउँदा बेच्नलाई यही जनमानस उर्लेर आउने परिपाटी छ । बजारलाई करेक्सन आवश्यक छ । ८ दिनमा २०० अंक नेप्से परिसूचक बढ्नु आफैंमा खतरामूलक पनि छ । पुराना लगानीकर्ताको पुनरागमन भएसँगै उनीहरुले नराम्रा कम्पनी बेचेर राम्रा कम्पनीमात्र पोर्टफोलियोमा राख्ने पछिल्लो ट्रेण्ड छ । हिजो र आज भने धेरै लगानीकर्ताहरुले प्रफिट बूक गरेका छन् । 

सन्तोष बस्नेत-लगानीकर्ता
आम लगानीकर्ताहरुको मनोभावना उच्च  र सकारात्मक बन्दै जानु अनि नियामक निकायको राम्रो कदमले यस्तो भएको हो । आम लगानीकर्ताहरुको खरिद क्षमता बढ्नमा बैंकबाट प्रवाह भएको सेयर कर्जामा खुकुलोपन हो । बजारको गति अलिक बढी भइरहेको छ, चलखेल हो कि भन्ने कताकता मनमा शंकासमेत उब्जाएको छ ।

टंकराम गौतम-सेयर प्राविधिक विश्लेषक
आगामी फागुन १९ गतेको एउटा टाइमलाइन फ्रेम छ, त्यो अवरोध पार गरेपछि १७३१  र त्यसपछि २०२८ को विन्दू स्पष्ट रुपमा देखिन्छ । भोल्यूम र कारोबार संख्याले पूर्ण सपोर्ट गरेको छ भने निकट समयमा नै बैंकिङ सेक्टरमा अभूतपूर्व उछाल आउने देखिन्छ ।

सूकराम पाण्डे-सेयर प्राविधिक विश्लेषक
बजारमा सकारात्मक पाटाहरु धेरै भएकाले लगानीकर्ताहरुमा सकारात्मक सोच हाबी भइरहँदा मनोबल उक्सिरहेको छ । माइक्रो र नन्लाइफ सेक्टरले अलटाइम हाइ चुम्दा अब लाइफ इन्स्योरेन्स सेक्टरले पनि अलटाइम हाइ ब्रेक गर्ने चित्र कोरिँदै छ । म सचेत भएर लगानी गर्न सुझाउँछु । विशेषगरी नयाँ लगानीकर्ताहरुले आधारभूत  र प्राविधिक पाटोलाई समेत अध्ययन र रिसर्च गरेर मात्रै लगानी गर्नुहोला । यसतो बेलामा हल्लाका पछाडि लाग्नु हुँदैन ।