काठमाण्डौ । सेयर लगानीकर्ता दवाब समूहले नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिमा बिचौलिया हाबी हुने र पूँजीबजारलाई लामो समयसम्म गतिहीन बनाउने उद्देश्यले केही तत्वहरु चलखेलमा लागेका हुनसक्ने आशंका गर्दै अन्यौलको अवस्था हटाउन सरकारसँग माग गरेको छ । 

समूहका अध्यक्ष हरि ढकालले सोमबार एक विज्ञप्ति जारी गर्दै बजारको नियामक धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त रहेको लामो समय भइसक्दा समेत नियुक्तिमा सरकारले हतारो नदेखाएको भन्दै यसबाट चलखेल भई बजार अझै धराशायी बन्नसक्ने भन्दै यथासक्य चाँडो अध्यक्ष नियुक्तिको माग गरेका हुन् । 

‘नियुक्ति प्रक्रियामा विचौलिया हावी भै पूँजीबजारलाई लामो समय सम्म गतिहिन बनाउन उद्धत तत्वहरुबाट धितोपत्र बोर्डको नेतृत्व चयनमा हुन सक्ने चलखेलमा सचेत रहन अर्थमन्त्रालयलाई खबरदारी समेत गर्दछौं ।’ ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘ आगामी कार्यकालको लागि धितो पत्र बोर्डमा नियुक्ति प्रक्रिया अगाडि बढ्दै गर्दा आम लगानीकर्ताको अपेक्षा भनेको विषम परिस्थितिमा गुज्रिरहेको बजारलाई सही दिशा प्रदान गर्न सक्ने पूँजीबजारसँग सम्बन्धित दक्ष ज्ञान भएका आर्थिक रुपमा पारदर्शी, अनुभवी र सुझाव समितिले प्रस्तुत गरेको ५८ बुँदाहरु मध्ये कार्यान्वयन हुन बाँकी रहेका लगानीकर्ताका मागहरुलाई कार्यान्वयन गर्न सक्ने सक्षम र दक्ष नेतृत्व नियुक्ति हुनुपर्छ भन्ने भावनालाई समेत मध्यनजर गर्दै अर्थतन्त्रको ऐनाको रुपमा रहेको पूँजीबजारको नियामक निकायको नेतृत्वविहिन अवस्था धेरै लामो समय सम्म रहन हुन्न भन्दै अविलम्ब नियुक्ति प्रक्रियालाई यथाशीघ्र चाँडो टुंग्याउन सरकारसँग जोडदार माग गर्दछौं ।’

दवाब समूहले नेपालको पूँजी बजार विगत ४ वर्ष देखि निरन्तर घट्दो क्रममा रहेको अवस्थाले गर्दा शेयर बजारका लगानीकर्ताहरुमाझ चरम निराशा र पूँजीबजार प्रति अविश्वासका कारण कतिपय कम्पनीका आइपीओ समेत बिक्न छाडेकोप्रति चिन्ता समेत व्यक्त गरेको छ ।