काठमाण्डौ । नयाँ कार तथा मोटरसाइकलको खरिदारी कुनै पनि व्यक्तिका लागि खास अवसर हो । कार तथा मोटरसाइकल खरीद गरेर लैजानुुअघि कयौं यस्ता कुराहरु हुन्छन्, जसको बारेमा तपाईले विशेष ध्यान दिनुपर्छ । भदौ १३ गते मंगलबारदेखि काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको ‘नाडा अटो शो’ जस्तो धेरै ग्राहकहरु आउने शो तथा उत्सव, दशैंतिहार जस्ता चाडपर्वको भीडभाडमा तपाईले पाउने कतिपय सुविधा तथा जान्नैपर्ने बिषयहरुमा समेत डिलरले सबै कुरा बताइदिंदैनन् । यहीकारण केही महत्वपूर्ण पक्षहरुलाई कार वा मोटरसाइकल लिनुुभन्दा अगाडि धेरैपटक चेकजाँच गर्नुपर्छ । तपाईले गाडी किन्नुुअघि आफूले लैजान लागेको साधनको राम्रोसँग निरीक्षणदेखि त्यस्ता साधनको खरीदमा दिइने नगद छुट तथा अन्य स्किमहरुको बिषयमा पनि विशेष ध्यान दिनुपर्छ । 

प्रि-डेलिभरी निरीक्षण
‘नाडा अटो शो’ तथा चाडपर्वको अवसरमा कार तथा मोटरसाइकलको सोरुम तथा स्टलहरुमा निकै ठूलो भीड र उस्तै डिमाण्ड समेत हुन्छ । हतारो गर्ने हुँदा यस्तो बेलामा धेरै ग्राहकहरु प्रि–डेलिभरी निरीक्षणको काम गर्न भूूल्छन । त्यसकारण तपाईले कार लिनुुअघि सबै कुराको मिहीन निरीक्षण गर्नुपर्छ, ताकि त्यो साधन घरमा लगिसकेपछि कुनै पनि खराबी ननिस्कियोस् । 

फ्री सामान
कार तथा मोटरसाइकल खरीदको क्रममा कतिपय सामान फ्रि पाइन्छ । जस्तो, कारको खरीदमा फ्री कार कभरदेखि मोटरसाइकलको सीट कभर, हेल्मेट लगायतका सामान समेत फ्रीमा दिइने गरिन्छ । यस्तै, तपाईले डिलर्स वा स्टलमा रहेका गाडी कम्पनीका कर्मचारीसँग इञ्जिन आयल र कुलेन्ट लेभल देखाउनका लागि अनुरोध गर्नुहोस् । यदि यस्तो लेभल कम छ भने तपाईले खरीद गर्न लागेको कार खराब हुनसक्छ । यस्तै, विभिन्न पार्टस तथा सबै चक्काहरुले राम्रोसँग काम गरेका छन् या छैनन् भन्ने कुराको पनि चेक गर्नुपर्छ । टूूल्सको पनि चेकजाँच गर्नुहोस् । ब्याट्री अझ महत्वपूर्ण पक्ष हो, त्यसकारण खरीद गर्न लागेको सवारी साधनको ब्याट्री सही कण्डिसनमा छ कि छैन यसको पनि निधो गर्नुपर्छ । यसबाहेक वारेण्टी कार्ड समेत माग्नुहोस् । 

छुट
कार तथा मोटरसाइकल डिलर्सले ‘नाडा अटो शो’ तथा चाडपर्व, नयाँ वर्षको अवसरमा छुटको विभिन्न स्किम ल्याएका हुन्छन् । नयाँ तथा पुराना भेरिएन्टहरुमा यस्ता अफर आउँछन्, जसको बिषयमा तपाईले राम्रोसँग जानकारी हासिल गर्नुपर्छ । यसबाहेक नम्बर प्लेट र सोसम्बन्धी आवश्यक डकूमेन्ट, ब्लुुबुक, भेइकल आइडेन्टीफिकेसन नम्बर लगायतको बिषयमा पनि जानकारी लिनुपर्छ । भेइकल आइडेण्टी फिकेसन नम्बरसँगै तपाईले खरीद गर्न लागेको कारको उत्पादन मिति लेखिएको हुन्छ । 

एक्सेसरिज
आम रुपमा नयाँ कार तथा सवारीका अन्य साधनसँगै कयौं एक्सेसरिजहरु पनि आउँछन् । यस्ता चिजहरु राम्रो कण्डिसनमा होलान् भनेर ढुक्क हुनुुहुँदैन, राम्रोसँग चेकजाँच गर्नुपर्छ । यस्ता वस्तुहरुमा समेत तपाई ठगीमा पर्न सक्नुुहुन्छ । कार खरीद गर्दा त्यसमा जडान म्यूजिक सिस्टम एक महत्वपूर्ण एक्सेसरिज हो । यसमा तपाईले यूूएसबी डिभाइस, अक्स वायर, सीडी प्लेयर लगायतले राम्रोसँग काम गरेको छ कि छैन जाँच गर्नुपर्छ । यसबाहेक सेन्ट्रल लक, पार्किङ सेन्सर तथा क्यामेरा जस्ता फिचर्समा पनि विशेष ध्यान दिनुपर्छ । 

पेपरवर्क
सवारी साधन(कार वा मोटरसाइकल) खरीद गर्नु एक महत्वपूर्ण अवसर पनि हो, त्यसकारण यस्तो बेलामा नहडबडाई निर्णय लिनुपर्छ । यसका लागि आवश्यक कागजात राम्रोसँग चेकजाँच गर्नुपर्छ । तपाईले खरीद गर्न लागेको गाडीको ब्लुुबुकमा लेखिएको तपाईको नामको शुद्धता, इञ्जिन नम्बर, चेसिस नम्बर, गाडी नम्बरमा पनि विशेष ध्यान दिनुपर्छ । यसबाहेक बिमाको सर्टिफिकेट, यूजर म्यानुुअल र ब्याट्री, स्टेयरिङ, टायर्स लगायतको बिषयमा पनि विशेष ध्यान दिनुपर्छ ।