काठमाण्डौ । निःशुल्क बिमा वा सित्तैमा बिमा जस्ता शब्द प्रयोग गरेर कुनै पनि बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी वा बिमा कम्पनीसँग सम्झौता गरेका औद्योगिक र व्यवसायिक प्रतिष्ठानले प्रचारप्रसार गर्न नपाउने भएका छन् । 

बिमा समितिले सबै बिमा कम्पनीहरुलाई एक सर्कुलर जारी गर्दै बिमाको प्रचार प्रसार गर्दा निःशुल्क बिमा वा सित्तैमा बिमा जस्ता शब्द प्रयोग नगर्न वा यस्ता शब्द राखेर कोही कसैसँग सम्झौता समेत नगर्न भनेको हो । 

यस्ता शब्दहरु राखेर प्रचार प्रसार गर्ने अभ्यासबाट बिमा क्षेत्रमा नकारात्मक असर पर्ने समेत बिमा समितिको निश्कर्ष छ । 

विभिन्न बिमा कम्पनीहरुले सहकार्य गरेका उद्योग, व्यवसाय र बैंक तथा वित्तीय संस्थाहरुमार्फत बिमा सेवा उपलब्ध गराउने कार्यमा निःशुल्क वा सित्तैमा शब्द राखी सम्झौता नगर्न र नगराउन पनि निर्देशन जारी गरेको छ । 

बिमा सेवाको प्रचार प्रसार सम्बन्धी कार्यमा सम्झौता गर्ने बिमा कम्पनीको नाम पनि अनिवार्य हुनुपर्ने समेत समितिको निर्देशन छ ।