-भक्तराज रसाइली
काठमाण्डौ । विश्वभरका सेयरबजारलाई बेला बेला समस्या पारिरहने बिषय हो इन्साइडर ट्रेडिङ । अर्थात, निश्चित स्वार्थ समूहको मिलेमतोमा सोझा लगानीकर्तालाई घात हुने गरी कुनै पनि कम्पनीको सूचना बजारमा आउनुअघि नै चुहाएर हुने भित्री कारोबारको धन्दा । 
 
नेपालको सेयरबजार समेत इन्साइडर ट्रेडिङको समस्याबाट ग्रस्त छ । यो विषय नेपाली बजारमा वर्षौदेखि उठ्दै आए पनि न यसको सही समाधान खोजिएको छ, न त त्यसका लागि सम्बद्ध कुनै पनि निकायले जिम्मेवार भएर प्रयास नै गरेका छन् । बरु इन्साइडर ट्रेडिङको धन्दामा आफ्नो हिस्सेदारी सुनिश्चित गर्दै त्यस्ता समूहहरुलाई सहयोग गर्ने अधिकारीहरु नै नियामक निकायका जिम्मेवार पदमा पुगेका छन् । 
 
नेपालको सेयर बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको पूर्वसन्ध्यामा समेत केही कम्पनीका कारण इन्साइडर ट्रेडिङको बिषय फेरि एकपटक बाहिर आएको छ । सोझा लगानीकर्तालाई फसाएर टाठाबाठाले सबैतिर सेटिङ मिलाएकै कारण इन्साइडर ट्रेडिङलाई मद्धत पुग्ने गरी सम्बद्ध कम्पनीले गतिविधि गरेको पुष्टि हुँदा समेत उनीहरुले उन्मुक्ति पाएका छन् । आखिर इन्साइडर ट्रेडिङको रोग कहिल्यै निको हुन सक्दैन त ? अथवा, के हुनसक्छ लगानीकर्ता मार्ने यो धन्दाको स्थायी उपचार ?
 
कुनै पनि कम्पनी विशेषको सेयरमा भित्री कारोबार भएको विभिन्न मिडियाले दाबी गरेपछि मात्र नेप्सेले कदम चाल्नु र तात्नु लाजमर्दो देखिन्छ । आफैं यस्तो धन्दा नदेख्ने नेप्सेको आँखा सधैं मिडियाले उघारिदिनुपर्ने बिडम्बनापूर्ण अवस्था रहेको बजारका विज्ञहरु बताउँछन् ।
 
कारोबार २–४ दिन रोकिदिने र प्रष्टीकरणको सामान्य कर्मकाण्ड मात्र हुनु र त्यसपश्चात सजायका रुपमा आगामी दिनमा नगर्ने भन्ने उर्दी जारी गर्दै कारोबार पुनः खोलिनु पनि आम लगानीकर्ताहरुको हितबिरुद्ध रहेको जानकार बताउँछन् ।
 
धितोपत्र सम्बन्धी ऐन नियमको व्यवस्था बमोजिम लगानीकर्ताहरुसमक्ष सार्वजनिक गराउनुपर्ने जानकारी एवं सूचना सार्वजनिक नगरी उक्त जानकारी एवं सूचनाका आधारमा कम्पनीसँग सम्बन्धित व्यक्ति वा निजको नजिकको व्यक्तिले धितोपत्र कारोवार गरेमा यस प्रकारको कारोबारलाई धितोपत्रको भित्री कारोबार(इन्साइडर ट्रेडिङ) भनिन्छ ।
 
यस प्रकारको कारोबार गर्न धितोपत्र सम्बन्धी ऐननियमले बन्देज गरेको छ । इन्साइडर ट्रेडिङमा कम्पनीका अध्यक्षसहित सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, प्रमुख लेखाअधिकृत तथा व्यवस्थापनको उच्च तहमा रहेका कर्मचारीहरु, लेखापरीक्षक लगायतको संलग्नता हुने सम्भावना उच्च हुन्छ ।
 
यही वर्ष मात्र एचआईडीसीएल(जलविद्युत लगानी तथा विकास कम्पनी) र अर्को युएनएल(युनिलिभर नेपाल लिमीटेड)को महत्वपूर्ण सूचना नेप्सेमा आउनुअघि नै बीचैमा चुहिएको थियो । नेपाली सेयर बजारमा इन्साइडर ट्रेडिङ हुनु सोझा लगानीकर्ताहरुमाथि हुने अन्याय र लगानीमाथिको खेलवाड भएको जानकारहरुको बुझाई छ ।
 
प्रा.डा. मनोहरकृष्ण श्रेष्ठका अनुसार कम्पनीका पब्लिक डाइरेक्टर, अडिटर, व्यवस्थापन र बोर्ड अफ डाइरेक्टरबाट नै यस्तो गैरकानूनी धन्दा हुने गर्छ । बलियो नैतिकता नभएका कारणले यस्तो धन्दा फस्टाइरहेको उनको ठम्याई छ । नियामकको कमजोरी, नियामक निकायमा राजनीतिक नियुक्ति भएकै कारणले पनि यसले दिनानुदिन प्रश्रय पाइरहेको श्रेष्ठले दाबी गरे । उनले त सेबोनका उच्च अधिकारीको नाम नै किटान गरेर  कमिसनको चक्करमा भित्री कारोबार हुने गरेको जिकिर गरे । प्रमाणित गर्न गाह्रो हुने र विशेष गाइडलाइन पनि नभएका कारण यसले विकराल रुप लिइरहेको उनले बिजशालालाई बताए । उनका अनुसार यस मामलामा बीमा समिति पनि अछूतो छैन । नियामक निकायमा बसेकाहरुले कतिपय कम्पनीको महत्वपूर्ण सूचनाबाट हुने यस्ता धन्दा कमिसन र ह्वीस्कीमा साटासाट गर्ने गरेका आरोप समेत श्रेष्ठले लगाए । नेप्से निजीकरण गरिनुपर्ने र सेबोनमा राजनीतिक नियुक्ति रोकिनु नै यसको समाधान रहेको श्रेष्ठको दाबी छ । 
 
शेयर विज्ञ रबिन्द्र भट्टराईको भनाईमा जबसम्म अर्काको नाममा सेयर किन्ने कुराको अन्त्य हुँदैन, भित्री कारोबार रोक्न गाह्रो छ । सजायका लागि कानूनको अभाव पनि रहेको र मनिटरी पनिसमेण्ट पनि नभएकाले यो जटिल समस्या रहेको भट्टराईको भनाइ छ ।
 
नेपाल पूँजीबजार संघका अध्यक्ष नवराज सुबेदीका अनुसार पोलिसी मेकर लेभलबाट नै यस्तो धन्दा हुने गर्छ । जस्तै जीबीएलबीएस, आरबीसीएल कम्पनीका नोटिस गए पनि एकदिन ढिला प्रकासित हुनु कम्पनीका सञ्चालक आफैं बजारको खेलाडी हुनु लगायत थुप्रै समस्याका कारण यो धन्दाको अन्त हुन नसकेको उनको दाबी छ । 
 
नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता निराञ्जय घिमिरले पनि कम्पनीका सञ्चालक, कर्मचारी, शेयरधनी, अडिटर र कम्पनीसँग पहुँच राख्ने जोकोहीले भित्री कारोबार गर्ने गरेका दाबी गरे । यस किसिमका कारोबारमा भएका यस्ता धन्दाको बिषयमा अनुसन्धान गर्ने झञ्झट रहेको र अब धितापत्र बोर्डले छुट्टै नियमावली बनाएर सोझा लगानीकर्ता मार्ने यस्तो चलखेल अन्तका लागि पहल थाल्ने प्रतिबद्धता व्यक्त गरे ।
 
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले कम्पनीका अधिकारीहरु नै संलग्न रहँदा इन्साइडर ट्रेडिङको धन्दा फस्टाएको बताए । उनले भने–‘कर्पोरेट कल्चरको विकास गर्नु नै यसको समाधान हो ।’