काठमाण्डौ । संघीय गणतन्त्र जर्मनीका राजदूत रोलाण्ड शेफरले नेपालमा विशेषतः मझौला उद्योगमा लगानीको सम्भाव्यता यथेष्ट रहेको उल्लेख गर्दै यस्ता उद्योगहरुमा लगानी गर्न जर्मनी लगानीकर्ता इच्छुक रहेका बताएका छन् ।

नेपालउद्योग परिसंघका पदाधिकारीहरुसँग मंसिर २८ गते परिसंघको सचिवालयमा भएको भेटवार्ताको क्रममा राजदूत शेफरले सो कुरा बताएका हुन् ।

भेटवार्ताको क्रममा राजदूत शेफरले नेपालमा हालै शान्तिपूर्ण रुपमा सम्पन्न निर्वाचनसँगै आर्थिक विकासको सम्भावना र विश्वासको राम्रो वातावरण सिर्जना भएको उल्लेख गर्दै जर्मन सरकार निजी क्षेत्रको विकास र द्विपक्षीय लगानी र शिपमूलक तालिमको क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए।

शेफरले पर्यटन विकास, जर्मनी लगानीकर्ताहरुको नियमित भ्रमणका साथै नेपालको निजी क्षेत्रसँग सम्बन्धित आर्थिक नीतिको सुधारमा समेत विशेषज्ञको सहयोग गर्न समेत आफूहरु इच्छुक रहेको सुनाए ।

भेटवार्ताको क्रममा परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा आगामी दिनमा सरकार एवं राजनीतिक दलहरुले आर्थिक विकासलाई प्रमुख एजेण्डा र प्राथमिकतामा राखेका र विश्वासको वातावरण समेत श्रृजना भएकोले प्रविधिको क्षेत्रमा विशेषज्ञता भएको जर्मनी जस्ता मुलुकले नेपालको निजी क्षेत्रलाई सहयोग उपलब्ध गराउन सक्ने सम्भावना प्रशस्त रहेको प्रष्ट्याए । उनले परिसंघ दूतावाससँग सहकार्य गर्न तयार रहेको बताए । 

उनले परिसंघले नेपालको आर्थिक विकासमा पूर्वाधार विकास नै महत्वपूर्ण भएकोले नेपाल सरकार एवं सबै राजनीतिक दलहरु र नीति निर्माताहरुलाई प्राथमिकतासहितका यस सम्बन्धमा कार्ययोजनाका लागि विभिन्न तहबाट पहल गरिएको र यसमा जर्मन दूतावासबाट समेत सहयोगका लागि राजदूतसमक्ष प्रस्ताव गरेका थिए ।