काठमाण्डौ । अग्रज बैंकर तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक एसजेबी राणाले नेपालजस्तो सानो साइजको अर्थतन्त्र भएको मुलुकका लागि बैंकको संख्या ६ वटा भए पुग्ने बताएका छन् । 

बिजशालासँगको विशेष कुराकानीमा उनले देशको अर्थतन्त्रको आकार बढिरहँदा पूँजीको आकार साना भएका बैंकहरुको संख्या धेरै भएको  र पूर्वाधारसँग सम्बन्धित प्रोजेक्टमा लगानी गर्दा एउटा मात्र बैंकबाट संभव नहुने अवस्था रहेकोमा अब बैंकहरुबीच ‘बिग मर्जर’को अपरिहार्यता देखिएको बताएका हुन् । 

‘बिग मर्जरको इस्यू नीतिगत रुपमै ल्याइनुपर्छ ।’ बिजशालासँग उनले भने–‘कतिपय साथीहरुले १४–१५ वटा बैंक बनाइनुपर्छ भन्नुभएको छ, त्यो पनि धेरै भयो । ६ वटा मजबुत बैंक भए नेपालको इकोनोमी साइजका लागि काफी हुन्छ ।’ 

नेपाल बैंकर्स एशोसिएसनका पूर्व अध्यक्ष समेत रहेका राणाले ‘बिग मर्जर’को बिषयमा विभिन्न निकाय र बैंकहरुका संचालक समिति तथा व्यवस्थापन तहहरुमा समेत छलफल सुरु भएको उल्लेख गर्दै हालका गभर्नर डा. चिरञ्जिवी नेपालकै पालामा नीतिको रुपमा यसले प्रवेश पाउने संभावना आफूले कम देखेको दाबी समेत गरे । 

‘मलाई लाग्छ, डा. नेपालपछि आउने गभर्नरले बिग मर्जरको इस्यूलाई नीतिगत रुपमा अगाडि बढाउनुहोला ।’ उनले भने–‘बिग मर्जरको इस्यूमा जुन गतिमा छलफल भइरहेको छ, यो विषय आउँदो आर्थिक वर्षको बजेट र त्यसको आधारमा बनाइने मौद्रिक नीतिमै समेटिन्छ जस्तो लाग्दैन ।’ 

नेपालका लागि बैंकको उपयुक्त संख्या कति हो ? भन्ने प्रश्नमा उनले सिंगापुर र मलेशियाजस्ता देशको उदाहरण पेश गर्दै भने–‘सिंगापुरमा ४ वटा मात्र बैंक छ । मलेशियामा ५–६ वटा मात्र छ । तर, मलाई के लाग्छ भने स्कील अफ अपरेशन चाहिन्छ बैंकिङमा । टेक्नोलोजी प्रयोग गर्नुपर्छ । हामीलाई साइज अलिक बढी चाहिन्छ । नेपालका लागि ६ वटा बैंक पर्याप्त हुन्छ ।’

देशमा पूर्वाधार योजनाहरु धमाधम आइरहेका र त्यसलाई सपोर्ट गर्न हालका बैंकहरुले कन्सोर्टियम मोडलमा काम गरिरहे पनि यो मोडल निकै जटिल रहेको दाबी गरे । उनले देशको अर्थतन्त्रको आकार समेत फैलिरहेकै बेला बैंकको साइज ठूलो बनाई संख्या घटाउने उपयुक्त समय पनि अहिले नै रहेको दाबी समेत गर्न भ्याए । तर, क्यापिटल बढाउने नाममा हिजोको जस्तो गल्ती दोहोर्याउन हुने उनको सुझाव छ । ‘हिजो पनि ४ गुणासम्म पूँजी बढाउने नीति आयो, तर सबै हकप्रदबाट पूँजी बढाउनतिर लागे, जसले बैंकको संख्या घटाउन सकेन ।’ उनले थपे–‘अब मर्जर वा पूँजी वृद्धिमा अतिरिक्त पूँजी थप गर्ने विषयलाई पूर्ण प्रतिबन्ध लगाई मर्जरबाटै बैंकको पूँजीको साइज बढाउने नीति लिनुपर्छ ।’ 

‘बिग मर्जर’को बिषयमा एनबिएमा तीव्र छलफल हुने गरेको र यो विषयमा कहिलेकाही राष्ट्रबैंकसँग समेत छलफल हुने गरेको उल्लेख गर्दै उनले भने–‘मर्जरको सवाल संचालक समितिसँग जोडिन्छ । अहिले म्यानेजमेन्ट तहमा मात्र ‘बिग मर्जर’को बढी कुरा भयो, संचालकहरुबीच पनि कुरा भएपछि मात्र काम अगाडि बढ्छ । त्यसकारण राष्ट्रबैंकले पनि बिग मर्जरका लागि प्रोत्साहित गर्ने गरी संचालकहरुसँग छलफल अगाडि बढाउनुपर्छ ।’ 

संचालकको संख्या बढाऊ
सिनियर बैंकर राणाले ‘बिग मर्जर’का लागि नेपाल राष्ट्रबैंकले हाल व्यवस्था गरेको संचालक समितिको सानो आकार पनि बाधा बनिरहेको दाबी गरे ।

‘बिग मर्जर’पछि बन्ने ठूलो संस्थामा समेत संचालकको संख्या ७ जना मात्र हुँदा यसले यो इस्यूको विकासमा नै व्यवधान खडा गरिरहेको छ ।’ राणाले भने–‘बिग मर्जरलाई स्मूथ्ली अगाडि बढ्न दिने हो भने इन्सेन्टिभलाई छाडेर बोर्डको साइज बढाउनतिर लाग्नुपर्छ ।’ 

हिजोको गल्ती
बैंकर राणाले मर्जरको नाममा पूँजी वृद्धिका लागि हिजो लिइएको नीति गलत रहेको टिप्पणी गरे । ‘त्यो बेलामा राइट इस्यूबाट पूँजी बढाउने कुरा रोकिएको भए अहिलेसम्म मर्जरको इस्यूमा धेरै प्रगति भइसकेको हुन्थ्यो ।’ उनले भने–‘यो गल्ती अब दोहोरिनुहुन्न ।’ 

विगतमा लिइएको मर्जरको गलत इस्यूकै कारण अहिले बैंकिङ उद्योगमा धेरै नकारात्मक प्रभाव परेको समेत उनले दाबी गरे । ‘जथाभावी लेण्डिङ गर्नुपर्ने अवस्था सिर्जना भयो, यहीकारण लगानीयोग्य कर्जाको सधैं समस्या हुने अवस्था बन्यो ।’ उनले थपे–‘कुनै बैंकको इक्वीटी अर्को बैंकको लोन भएर बसिरहेको छ, यो अवस्था ठीक भएन । अब बिग मर्जरमा राष्ट्रबैंकले अतिरिक्त क्यापिटल थप्ने विषयलाई रोक्नुपर्छ । दुई वा बढी बैंकको मर्जर हुनुपर्छ । हिजोको गल्ती सुधार्नुपर्छ, संख्या घटाएर गर्नुपर्छ ।’ 

केन्द्रीय बैंकको मर्जर सम्बन्धी गलत नीतिकै कारण अहिलेका बैंक तथा वित्तीय संस्थाहरुमा कर्पोरेट गभरनेन्सको अभाव देखिएको, अस्वस्थ प्रतिस्पर्धा चलेको उल्लेख गर्दै गुड प्राक्टिससहितको बैंकिङ संस्कार हुर्काउन समेत संख्या घटाएर ६ वटामा सीमित पार्नुपर्ने धारणा व्यक्त गरे ।

इन्भेष्टमेन्टसँग हिमालयनको मर्ज हुँदैछ ?
सीइओ राणाले बजारमा इन्भेष्टमेन्ट बैंकसँग हिमालयन बैंकको मर्ज हुँदैछ भन्ने हल्ला फैलिएको भए पनि यो विषयमा आफूलाई धेरै जानकारी नभएको दाबी गरे । ‘संचालक समितिबीच कुरा भएको छ या छैन मलाई थाहा हुने कुरा भएन ।’ उनले भने–‘हामी म्यानेजमेन्टबीच भने कुरा भएको सही हो । यो कुरा संचालक समितिको बसको कुरा भएकोले व्यवस्थापनबीचको कुराले धेरै अर्थ राख्दैन ।’ 

तर, उनले भोलिका दिनमा मर्जमै जाँदा समेत आफूहरुले ‘हिमालयन’ नाम नछाड्ने जिकिर गरे । ‘मर्जरको इस्यू बोर्डको हो, तर भोलिका दिनमा इन्भेष्टमेन्ट वा अन्य कुनै पनि बैंक वा वित्तीय संस्थासँग मर्जरमा जाँदा हामी ‘हिमालयन’ नाम चाहि छाड्दैनौ ।’ उनले बिजशालासँग भने–‘नामले पनि महत्वपूर्ण अर्थ राख्छ । फेरि नेपाली माटोका लागि सुहाउँदो नाम हो हिमालयन । त्यसकारण भोलि जोसुकै आओस् हामी हिमालयन नाम चाहि छाड्दैनौ ।’