काठमाण्डौ । उर्जा मन्त्रालयले सरकारले बनाउन लागेका केही प्रतिष्ठित जलविद्युत आयोजनामा लगानीका लागि अनलाइनबाटै प्रतिबद्धता जनाउन सकिने व्यवस्था गरेको एक सातामा २ अर्ब ११ करोड ७५ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । 

आइतबार अपरान्हसम्मको तथ्यांक अनुसार देश विदेशबाट २१ हजार ८ सय २४ व्यक्ति र २१ कम्पनीहरुले अनलाइनमार्फत नेपालको पानी जनताको लगानी योजना अन्तर्गत जलविद्युत आयोजनाको सेयरमा लगानीको प्रतिबद्धता व्यक्त गरेका हुन् । 

उर्जा मन्त्रीको निजी सचिवालयका अनुसार व्यक्तिगत लगानीकर्ताले २ अर्ब ५ करोड १५ लाख १० हजार ४ सय २७ रुपैयाँ र कम्पनीहरुले ६६ करोड १७ लाख ५० हजार रुपैयाँ लगानीको प्रतिवद्धता जनाएका छन् । 

अघिल्लो सोमबार पत्रकार सम्मेलन गरेर उर्जामन्त्री जनार्दन शर्माले ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तरगत अनलाइनबाट लगानी प्रतिबद्धता जनाउन मिल्ने घोषणा गरेपछि २४ घण्टा नबित्दै ६५ करोडको प्रतिबद्धता आएको थियो । त्यसपछि लगानीको बाढी नै आएको हो ।

सरकारले सर्वसाधारणले चाहेजति लगानी जलविद्युत आयोजनामा लगाउन पाउने अफर सार्वजनिक गर्दै त्यसका लागि तत्काल अनलाइन प्रतिबद्धता जनाउन सकिने सोमबारदेखि नै व्यवस्था गरेको थियो । 

मन्त्रालयका अनुसार हालसम्म व्यक्तिगत रुपमा लगानीको प्रतिबद्धता जनाउनेहरुको संख्या धेरै छ । अनलाइन फारम भरेर लगानी प्रतिबद्धता गर्ने क्रम निकै तीव्र गतिमा भइरहेको र निकै ठूलो लगानी जुट्ने संभावना बढेको छ । 

नागरिकबाट उठाइएको रकम जलविद्युत् उत्पादन कम्पनीले अगाडि बढाउने नलसिंहगाड, शारदा, माथिल्लो अरुण, तल्लो अरुणजस्ता महत्वपूर्ण र बहुउद्देश्यीय आयोजनामा लगानी गर्ने सरकारको योजना छ । 

लगानीकर्ताहरुले लाइन नबसी रकम हाल्न सकून् भन्ने उद्देश्यले उर्जा मन्त्रालयले अनलाइनबाट सेयर आवेदन भर्न पाउने सुविधासहितको वेबसाइट सोमबार सार्वजनिक गरेको थियो ।

जलविद्युतमा लगानी गर्न चाहनेहरुलाई प्रोत्साहन गर्न सम्भव भएजति सबै प्रविधिको प्रयोग गरेर सरल बनाउने योजनाअनुरुप पहिलोचरणमा वेबसाइट संचालन गरिएको बताइएको थियो ।

देशभित्र वा बाहिर रहेका नेपालीहरुले आफूले गर्नसक्ने लगानीको प्रतिबद्धता अनलाइनबाटै गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसरी आएको लगानीको प्रतिबद्धताको आधारमा निर्माण गर्नसकिने आयोजना छनौट गरी त्यसको जानकारी लगानीकर्तालाई दिइने छ । यो योजना अन्तर्गत गैरआवासीय, आम नागरिक, सरकारी र संस्थानका कर्मचारी र वैदेशिक रोजगारीमा रहेकाले पनि शेयर लगानी गर्न सक्नेछन्।

यसरी भर्नुहोस् आवेदन
आवेदन भर्न सुरुमा यो वेबसाइट लगइन गर्नुहोस् । नयाँ प्रयोगकर्ताहरुले नयाँ इकाउन्ट बनाउनुपर्छ । त्यसमा गएर इमेल र पासवर्ड हाल्नुपर्छ । र, तपाईको इमेलमा नोटिफिकेसन आउँछ । त्यो नोटिफिकेसनमा क्लिक गरेपछि मात्रै तपाईको एकाउन्ट एक्टिभ हुनेछ । यसपछि मात्र तपाई यो  वेबसाइटमा सेयर लगानी फारम भर्न  योग्य ठहरिनुहुनेछ । पहिलो पेजमा तपाईले आफ्नो व्यक्तिगत विवरणहरु भर्नुपर्छ । त्यसपछि तपाईले अर्को पेज गई लगानीकर्ताको प्रकार छान्नुपर्छ । यसमा गैरआवासीय, आम नागरिक, सरकारी र संस्थानका कर्मचारी र वैदेशिक रोजगारीका गरी चार वर्गका लगानीकर्ता राखिएका  छन् । त्यसपछि  तपाईंले  इच्छाएका व्यक्तिको विवरण भर्नुपर्छ । त्यसपछि अर्को पृष्ठमा गएर आफूले लगानी गर्ने कुल रकमको प्रतिबद्धता व्यक्त गर्नुपर्छ । प्रारम्भमा लगानीको प्रतिबद्धता मात्र जनाउने हो, पैसा नै जम्मा गरिहाल्नु नपर्ने सुविधा दिइएको छ । यसरी ६  चरणमा फारम भरेपछि तपाई पनि सरकारले बनाउने भएको जलविद्युत आयोजनाको संभावित लगानीकर्ता बन्नुहुनेछ । सरकारले मागेको बेला आफूले व्यक्त गरेको प्रतिबद्धता अनुसारको रकम तोकिएको बैंक खातामा जम्मा गर्नुपर्नेछ ।