काठमाण्डौ । ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम अन्तर्गत सरकारले बनाउन लागेका केही प्रतिष्ठित जलविद्युत आयोजनामा लगानीका लागि अनलाइनबाटै प्रतिबद्धता जनाउन सकिने व्यवस्था गरिएको १५ दिनको अवधिमा २ अर्ब ५७ करोड बढीको लगानी प्रतिबद्धता आएको छ । तर, पछिल्लो समय प्रतिबद्धताको गति सुस्त बनेको छ । 

पहिलो सातासम्म लगानी प्रतिबद्धता गर्नेहरुको संख्या तीव्र रुपमा बढे पनि पछिल्लो सातामा भने केही सुुस्त भएको देखिएको हो । कारण एकसाताको अवधिमा गत आइतबार अपरान्हसम्मको तथ्यांक अनुसार देश विदेशबाट २१ हजार ८ सय २४ व्यक्ति र २१ कम्पनीहरुले अनलाइनमार्फत २ अर्ब ११ करोड ७५ लाख रुपैयाँको प्रतिबद्धता जनाएका थिए । 

पछिल्लो एक हप्ताको अवधिमा भने लगानी प्रतिबद्धता आउने क्रम सुुस्ताएको पाइएको हो । पछिल्लो एकहप्तामा ४५ करोड रुपैयाँको मात्र प्रतिबद्धता आएको देखिएको हो । यो हिसाबले दैनिक ६ करोडको दरले लगानी प्रतिबद्धता आएको देखिन्छ । तर सोमबार अपरान्हसम्म भने सो दिन ३ करोड २८ लाखको मात्र प्रतिबद्धता आएको छ । यो दिन कुल २ सय २२ जनाले लगानीको प्रतिबद्धता जनाएका उर्जामन्त्री जनार्दन शर्माको निजी सचिवालयले जनाएको छ । 

हालसम्म व्यक्तिगत रुपमा २५ हजार २ सय १ जनाले व्यक्तिगत रुपमा २ अर्ब ४८ करोड ३ लाख रुपैयाँको प्रतिबद्धता आएको छ भने २९ कम्पनीले ९ करोडको हाराहारीमा लगानी प्रतिबद्धता जनाएका छन् । 

उर्जामन्त्री जनार्दन शर्माले १५ दिनअघि पत्रकार सम्मेलन गरेर ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तरगत अनलाइनबाट लगानी प्रतिबद्धता जनाउन मिल्ने घोषणा गरेका थिए । यो घोषणाको २४ घण्टामै ६५ करोड बढीको प्रतिबद्धता आएको थियो । 

सरकारले सर्वसाधारणले चाहेजति लगानी जलविद्युत आयोजनामा लगाउन पाउने अफर सार्वजनिक गर्दै त्यसका लागि तत्काल अनलाइन प्रतिबद्धता जनाउन सकिने व्यवस्था गरेको छ । 

नागरिकबाट उठाइएको रकम जलविद्युत् उत्पादन कम्पनीले अगाडि बढाउने नलसिंहगाड, शारदा, माथिल्लो अरुण, तल्लो अरुणजस्ता महत्वपूर्ण र बहुउद्देश्यीय आयोजनामा लगानी गर्ने सरकारको योजना छ । 

जलविद्युतमा लगानी गर्न चाहनेहरुलाई प्रोत्साहन गर्न सम्भव भएजति सबै प्रविधिको प्रयोग गरेर सरल बनाउने योजनाअनुरुप पहिलोचरणमा वेबसाइट संचालन गरिएको बताइएको छ ।

देशभित्र वा बाहिर रहेका नेपालीहरुले आफूले गर्नसक्ने लगानीको प्रतिबद्धता अनलाइनबाटै गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसरी आएको लगानीको प्रतिबद्धताको आधारमा निर्माण गर्नसकिने आयोजना छनौट गरी त्यसको जानकारी लगानीकर्तालाई दिइने छ । यो योजना अन्तर्गत गैरआवासीय, आम नागरिक, सरकारी र संस्थानका कर्मचारी र वैदेशिक रोजगारीमा रहेकाले पनि शेयर लगानी गर्न सक्नेछन्।

छुट्नुु भयो ? यसरी भर्नुहोस् आवेदन
आवेदन भर्न सुरुमा यो वेबसाइट लगइन गर्नुहोस् । नयाँ प्रयोगकर्ताहरुले नयाँ इकाउन्ट बनाउनुपर्छ । त्यसमा गएर इमेल र पासवर्ड हाल्नुपर्छ । र, तपाईको इमेलमा नोटिफिकेसन आउँछ । त्यो नोटिफिकेसनमा क्लिक गरेपछि मात्रै तपाईको एकाउन्ट एक्टिभ हुनेछ । यसपछि मात्र तपाई यो  वेबसाइटमा सेयर लगानी फारम भर्न  योग्य ठहरिनुहुनेछ । पहिलो पेजमा तपाईले आफ्नो व्यक्तिगत विवरणहरु भर्नुपर्छ । त्यसपछि तपाईले अर्को पेज गई लगानीकर्ताको प्रकार छान्नुपर्छ । यसमा गैरआवासीय, आम नागरिक, सरकारी र संस्थानका कर्मचारी र वैदेशिक रोजगारीका गरी चार वर्गका लगानीकर्ता राखिएका  छन् ।

त्यसपछि  तपाईंले  इच्छाएका व्यक्तिको विवरण भर्नुपर्छ । त्यसपछि अर्को पृष्ठमा गएर आफूले लगानी गर्ने कुल रकमको प्रतिबद्धता व्यक्त गर्नुपर्छ । प्रारम्भमा लगानीको प्रतिबद्धता मात्र जनाउने हो, पैसा नै जम्मा गरिहाल्नु नपर्ने सुविधा दिइएको छ । यसरी ६  चरणमा फारम भरेपछि तपाई पनि सरकारले बनाउने भएको जलविद्युत आयोजनाको संभावित लगानीकर्ता बन्नुहुनेछ । सरकारले मागेको बेला आफूले व्यक्त गरेको प्रतिबद्धता अनुसारको रकम तोकिएको बैंक खातामा जम्मा गर्नुपर्नेछ ।