काठमाण्डौ । विगठित नेकपा एमाले तथा पुनगर्ठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनावमा आफ्नो दलले तीन चौथाई बहुमत ल्याउने दाबी गरेका छन् । 

एमाले र माओवादी एक भई बनेको नेपाल कम्युनिष्ट पार्टीको घोषणासभालाई सम्बोधन गर्दै ओलीले जनताको सपना पूरा गरी आगामी चुनावमा नसोचेको बहुमत ल्याएरै छाड्ने उद्घोष गरेका हुन् । 

उनले आफूहरुले २ पार्टी एक गर्न खोज्दा धेरैले ठट्टाको रुपमा बुझेका र आफूले तीनचौथाई बहुमतको कुरा गर्दा धेरैलाई ठट्टा लाग्नसक्ने बताए ।

‘कतिपयलाई यो ठट्टा लाग्ला ।’ उनले भने–‘६ महिनाअघि कस कसलाई के के कुरा ठट्टा लाग्थ्यो भन्नुस त । २ दिनअघि समेत यही ठाउँमा कतिबेला पार्टी एकता हुन्छ भनेको थिएँ, यो कुरा पनि कतिपयलाई ठट्टा नै लागेको थियो।’

उनले कम्युनिष्ट पार्टीबीच ऐतिहासिक एकता गरेर आफूहरुले पूर्वजहरुको सपना साकार बनाएको समेत दाबी गरे । ‘केहीबेर अगाडि बोल्ने क्रममा प्रचण्ड जीको गला मात्र अवरुद्ध भयो, यदि पुष्पलाल जिवित भएको भए खुशीले नाच्नुहुन्थ्यो ।’ ओलीले भने–‘उहाँले यो दिन देख्न चाहनुभएको थियो, कम्युनिष्ट पार्टी बहुमतसहित सरकारमा रहेको हेर्न चाहनुभएको थियो, उहाँ नभए पनि उहाँको सपना हामीले पूरा गरेका छौ ।’

टेम्पो चलाएको हो र एउटा मात्र अध्यक्ष हुनुपर्ने ?
सम्बोधनको क्रममा पार्टी एकता र त्यसलाई सार्थक बनाउने महाअभियानलाई हाक्ने नेतृत्वलाई जेट विमान हाँक्ने पाइलटसँग तुलना गर्दै भने–‘कतिपयले एकीकृत पार्टीको अध्यक्ष किन २ जना भन्नुहुन्छ । हामीले टेम्पो चलाएको हो र एकजना मात्र अध्यक्ष बस्नलाई ? टेम्पो चलाएजस्तो होइन, जेटमा २ वटा पाइलट हुन्छ कहिलेकाही । २ वटा अध्यक्ष बनेर के गरेको होला भन्ने लाग्ला कतिपयलाई । आवश्यकताले यस्ता कुराहरु ल्याउँछ । एउटा महाअभियान हामीले चलाउनुछ, त्यसका लागि हामी २ जनाले सल्लाह गरेरै, विचार विमर्श गरेरै अगाडि बढाउने अठोट गरेका हौ ।’ 

आफू आज नै जीवनमा सबैभन्दा धेरै खुशी भएको उल्लेख गर्दै उनले भने –‘ड्राइभर ड्राइभरको सिटमा बसेको हुन्छ, गुड्ने त चक्का हो नि । हाम्रा कार्यकर्ता र जनता टायर बनेर, हिलामा धस्सिएर, चर्को घाममा कुदेका छन् । म त ड्राइभरको सिटमा न बसेको छु । त्यसकारण सबैभन्दा बढी म तपाई आम जनमानसलाई विशेष धन्यवाद र पार्टी एकताको श्रेय दिन चाहन्छु । यो तपाईहरुको खुशीको दिन हो ।’

उनले २ पार्टी मिसिएको मात्र नभई अन्तरघुलित भएको भन्दै अब दुवै पार्टीका नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा समाहित भएका उल्लेख गरे । ‘हिन्दमहासागरमा गएर कोशीको पानी कहाँ खोज्ने ? कोशीको कहाँनिर, सेतीको कहाँनिर छ भनेर खोजेर हुँदैन ।’ उनले थपे–‘अघिसम्म हामीले एमाले भनेर, माओवादी केन्द्र भनेर भन्यौ । अब अर्को पार्टीको नेता होइन । अब २ वटै पार्टी सिद्धियो ।’ 

उनले २००६ सालमा स्थापना भएको पार्टी नै पुनर्गठन भएको उल्लेख गर्दै एकतापछि कम्युनिष्टहरु फुट्न जान्दैनन्, जुट्छन मात्रै भन्ने मान्यता स्थापित हुने जिकिर गरे । 

नेपालको कम्युनिष्ट आन्दोलनले नयाँ उचाई प्राप्त गरेको उल्लेख गर्दै उनले प्रतिकात्मक रुपमा भने–‘कहिले कहिले ठण्डी मौसममा पतझड हुन्छ, स्याउको रुखबाट पात झरेको बेलामा रुख मर्यो कि भन्ने भ्रम हुन्छ, केही पछि लटरम्म स्याउ फलेको देखेर छक्क पर्छन मानिसहरु । नेपालको कम्युनिष्ट आन्दोलनमा अब विन्टर सिजन कहिल्यै आउनेछैन, अब अगाडि बढ्यो, सेटब्याकको कुरै छैन ।’ 

उनले पार्टी एकीकरणपछि संघदेखि प्रदेश हुँदै स्थानीय सरकारसम्म एउटै पार्टीको बहुमत स्थापना भएको उल्लेख गर्दै सुन्दर संभावना साकार पार्ने गरी अगाडि बढ्ने र यो अभियानमा आफूहरुलाई कसैले पनि हल्लाउन नसक्ने दाबी गरे । 

‘तर, सही नीति बनाएर अगाडि बढेनौ भने कसलाई दोष दिने ? यही भएर हामीले सही नीतिसहित राष्ट्रनिर्माणमा अगाडि बढ्ने अठोट गरेका छौ ।’उनले थपे ।

ओलीले साना कम्युनिष्ट पार्टीहरुलाई समेत एकताको सूत्रमा बाँधिन आग्रह गरे । विप्लव माओवादीलाई लक्षित गर्दै ओलीले भने–‘कम्युनिष्टहरु चारैतर्फ बहुमतमा छन्, यति राम्रो र ऐतिहासिक वातावरण बनेको छ । यही क्रममा कोही कोही चाहि सुतली बम पड्काउँदै हिँडिरहेका छन् ।’ उनले कम्युनिष्टको नाममा संकीर्णता र अंहकारबाट मुक्त हुन र राष्ट्र निर्माणको संकल्पमा सामेल हुन समेत आग्रह गरे । 

उनले एउटा चुनाव हार्दैमा कांग्रेस बढी नै आत्तिएको टिप्पणी गर्दै समृद्धि र देश निर्माणको यात्रामा गुणदोषको आधारमा असल प्रतिपक्षीको भूमिका निर्वाह गर्न आग्रह गरे। 

उनले २ ठूला कम्युनिष्ट पार्टीको एकीकरण तानाशाही शासन ल्याउन नभएको प्रष्ट पार्दै अगाडि भने–‘यो एकता हामीले देश बनाउने संकल्पका लागि गरेका हौ । भ्रष्टाचार रोक्नका लागि यो संकल्प हो, हुन नदिन र नगर्नका लागि हो । मैले धेरै ठाउँमा भनेको छु म भ्रष्टाचार गर्दिँन र हुन पनि दिँन्न । कानूनी राज र सुशासन हाम्रो उद्देश्य हो ।’ 

उनले छिमेकी देशसँग सुमधुर वातावरण बनाएर सहयोग लिने र विकास थाल्ने बताए । ‘हाम्रो यो एकता गरिबी, पछौटेपनको विरुद्ध हो । अल्पविकिसितबाट विकासन्मोख राष्ट्रमा उठाउने, गरीबी देशबाट हटाउने कुरामा ध्यान केन्द्रीत हुनेछ ।’  

तीन महिनाभित्र तलैसम्म एकता
अध्यक्ष ओलीले एकीकृत पार्टीको जनसंगठन तथा मातहतका कमिटीहरुलाई मिलाउने र विगठित २ पार्टीलाई तलैसम्म एकीकृत गर्ने काम ३ महिनाभित्र पूरा गरिसक्ने उद्घोष समेत गरे ।