►भक्तराज रसाइली
काठमाण्डौ । अर्थतन्त्रको ब्यारोमिटर मानिने सेयर बजार इण्डेक्स अब निकट भविष्यमै बुलिस ट्रेण्डमा दौडने सेयर बजारका प्राविधिक विश्लेषक तथा प्रशिक्षक धनकुमार राईले दाबी गरेका छन् । उनले नेप्से परिसूचक बढेर २१०० को विन्दूमा पुग्ने दाबी समेत गर्न भ्याएका छन् ।  

‘७ वर्षको अन्तरालको अध्ययन गर्दा अहिले प्राइमरी ट्रेण्ड अपमै रहेको छ। डाओ थेउरी अनुसार बजार बढेर घटिसकेपछि बढ्नका लागि प्रिइन्साइडर अवस्था बन्छ, त्यो अवस्थामा खरीदकर्ता एकजुट हुन र उनीहरुले बजारलाई नेतृत्व दिन समय लाग्छ, त्यो समय हो अहिले । यतिबेला ट्रेण्ड परिवर्तन गर्ने समय भएको र अन्य सूचक पनि सुखद रहेकोले अब बजार बुलिस ट्रेण्डमा कुद्छ ।’ मुम्बईबाट फाइनान्सियल टेक्नोलोजीको स्पेशल कोर्ष पूरा गरी स्वदेश फर्किएका राईले बिजशालासँग भने–‘बजार घटिरहेको छ, तर घटिरहनका लागि भोल्यूम बढ्नुपर्छ । बजारको टे«ण्ड डाउन छ भन्नका लागि भोल्यूम बढ्नै पर्छ । तर, बजार अहिले त्यो बेसिक पोइन्ट विपरीत छ, त्यस आधारले पनि बढ्छ, ढुक्क भए हुन्छ ।’ अहिलेको बजारले क्रेताको नेतृत्व खोजेको उल्लेख गर्दै त्यो समय धेरै टाढा नरहेको उनको भनाई छ । 

उनले इलियट वेब थेउरीलाई अगाडि सार्दै भनेका छन्–‘ पाँच तीनको संगम हुन्छ मार्केटको साइकल बन्नलाई  । अहिले साइकलको अन्तिम अवस्था भएकोले बजारले प्राइमरी ट्रेण्डमै फर्किनुपर्छ । यस आधारले पनि बजार बढ्छ ।’ 

कुराकानीको क्रममा उनले प्राविधिक विश्लेषणको अपरिहार्यतामाथि पनि जोड दिए । उनले प्राविधिक विश्लेषणले बजार बढाउने नभई लगानीकर्तालाई बजारको स्तर बताउने, प्रवेश गर्ने र निस्किने विन्दूको बिषयमा सही जानकारी दिने काम गर्ने प्रष्ट्याए । ‘बजार बढाउनका लागि प्राविधिक विश्लेषण तयार भएकै होइन ।’ उनले थपे–‘नेपालमा प्राविधिक विश्लेषणबिना सेयर बजारमा कमाउन सकिन्न । क्याण्डल स्टिक चार्टको परिकल्पना नै मास साइक्लोजीलाई कम्प्राइज गरेर तयार भएको हो। क्याण्डलका ती अनुहारहरु हामीसँग छन्, जसले मास साइक्लोजीलाई डिपिक्ट गर्छ । तसर्थ त्यसलाई पढेर बजारमा काम गर्दा निर्णय लिन सजिलो हुन्छ, त्यही भएर सफल लगानीकर्ता बन्न प्राविधिक विश्लेषण सिक्न आवश्यक छ ।’ 

उनले अबको बजार बुलिस नै रहेको बारम्बार दोहोर्याए । अहिले नेपाली बजारका सेयर लगानीकर्ताले जोखिम न्यूनिकरण नगरी आफ्नो पोजिसन राखेकोले प्यानिकनेस आएको दाबी गर्दै भने–‘यो सबै बजारको दिशा कता छ भन्ने थाहा नभएर हो । प्राइमरी ट्रेण्ड अप भएको हुनाले म निश्चिन्त छु  बजारमा बुलिस ट्रेण्ड सुरु हुनेमा ।’

नेपाली लगानीकर्ताको सबैभन्दा ठूलो समस्या नै ज्ञानको अभाव रहेको उनको भनाई छ । लगानीकर्ताहरुमा प्राविधिक विश्लेषणलाई विश्वास गर्ने बानी र धैर्यता समेत नभएको उनको टिप्पणी छ । 

‘अझै पनि ठूला र आफ्ना छेउको लगानीकर्ताले भनेअनुसार लगानी गर्ने बानी छ । आफूले अध्ययन गरेर लगानी गर्ने बानी नै छैन ।’ उनले भने–‘फण्डमेन्टल्ली हेर्ने इण्डेक्सहरु पनि धेरै छन्, त्यो बारेमा पनि ज्ञान छैन । यी सबैको ज्ञान राखेर गर्नुपर्ने कारोबार हो सेयर बजार । सेयर बजार भनेको आफूसँग लिजरमा भएको पैसा लगाउने ठाउँ हो।’ उनले सेयर बजारमा दैनिक कारोबार गरेर जसले कमाउँछु भनेर सोचेको छ, ऊ डूब्ने दाबी समेत गरे । 

अहिले नेपालका लगानीकर्तामा जस्तो प्यानिकनेश देखिएको छ, यस्तो अवस्था संसारभरिकै बजारले भोग्ने गरेको उल्लेख गर्दै उनले भने–‘संसाभरिकै बजारमा यस्तो प्यानिकनेश र खुशी दोहोरिरहन्छ । प्यानिक लगानीकर्ताहरुको पैसा प्यानिक नहुने लगानीकर्तामा सर्छ, यो संसारभरि नै हुन्छ र चलिरहन्छ । यस्तो बेलामा प्राविधिक विश्लेषण गरेर मात्र अगाडि बढ्नुपर्छ।’

विगत २ वर्षदेखि नेपाली सेयर बजारलाई निरन्तर नियालिरहेका राईले बजार नबढ्ने बेला बढ्ने र नघट्ने बेला घट्ने भइरहेको उल्लेख गर्दै भने–‘हाम्रो बजार सानो छ । यहाँ टाठाबाठाको चलखेल अवश्यम्भावी छ । यस्तो अवस्थामा प्राविधिक विश्लेषणले जोखिम न्यूनिकरणमा निकै ठूलो सहयोग गर्छ ।’