काठमाण्डौ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कराँचीस्थित पाकिस्तान स्टक एक्सचेन्ज (पीएसई) मा भएको हमलाका लागि भारतलाई जिम्मेवार रहेको आरोप लगाएका छन्।

गत सोमबार भएको पीएसईमा भएको हमलामा ९ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए। यस क्रममा हमला गर्न आएका ४ जना आक्रमणकारीको समेत मृत्यु भएको थियो। 

संसद्मा जबाफ दिँदै प्रधानमन्त्री खानले पीएसईमा भएको हमलामा भारतको भूमिका रहेको अभिव्यक्ति दिएका हुन्। तथापि यो हमलाको जिम्मा बलुचिस्तान आर्मीले लिइसकेको छ। 

हमलाका लागि एउटा गाडीमा ४ जना आतंककारी आएका थिए र उनीहरुका साथबाट भारी मात्रामा विष्फोटक पर्दाथ र ४७ थान राइफल बरामद भएको थियो। गत वर्ष कराँचीमै रहेको चिनियाँ दूतावासमा भएको हमलाको जिम्मेवारीसमेत यही समूहले लिएको थियो। 

पाकिस्तानका विदेशमन्त्री मोहमद कुरैसीले पनि कराँची हमलाका लागि भारतको हात रहेको आरोप लगाएका छन्। उनले बलुचिस्तान आर्मीको भारतसँग प्रत्यक्ष सम्बन्ध रहेको दाबी गरेका छन्। पाकिस्तानका विदेशमन्त्रीको यो आरोपलाई भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आधारहीन भन्दै खण्डन गरेका छन्। – एजेन्सी