काठमाण्डौ । राजनीतिक शक्तिको पछाडि लाग्ने र शक्तिको पूजा गर्ने सवालमा नेपालका व्यापारीहरु निकै अगाडि छन् । सत्तामा परिवर्तन आउन खोज्यो वा कुनै दल विशेष निर्वाचनबाट बलियो बनेर आयो भने त्यसका प्रभावशाली नेताहरुलाई भेट्ने नेपालका व्यापारी र व्यवसायीको संगठनबीच दौडधूप नै चल्ने गर्छ । सत्ता हाँक्ने वा सत्तामा प्रभाव राख्ने शक्तिशाली नेतालाई कसले छिटो भेट्ने र आफ्नो दाहिना बनाउने भन्ने ध्याउन्नकै कारण नेपालमा समेत सत्ता परिवर्तनको बेला प्रभावशाली नेताहरुको घरदैलोमा व्यापारीको लाइन नै लाग्छ । 

चुनावमा गरेको सहयोग सम्झिएर नेताहरुले समेत व्यापारीहरुलाई समय दिन कञ्जुस्याई गर्दैनन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि बन्न लागेको सरकारका संभावित प्रधानमन्त्री र सो सरकारमा प्रभाव जमाउनसक्ने नेताहरुलाई भेट्न नेपालका व्यापारीबीच अहिले यस्तै तँछाडमछाड चलिरहेको छ । 

निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम परिणाम आएसँगै बामगठबन्धनको सरकारको संभावित प्रधानमन्त्रीको रुपमा हेरिएका केपी शर्मा ओलीका घरमा व्यापारीहरुको दैनिकजसो भीड हुने गरेको छ । व्यापारीहरु समेत अब बन्ने स्थिर सरकारको प्रधानमन्त्रीलाई भेट्ने, ज्ञापनपत्र बुुझाउने, आफ्नो अनुकुलको माग पूरा गर्नका लागि दवाब दिने बेलैदेखि प्रयासलाई अगाडि बढाउँछन् र बढाइरहेका छन् ।

ओलीको निवासमा मात्रै होइन, व्यापारीहरुको भीड बाम गठबन्धनका प्रभावशाली नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासमा समेत उस्तै देखिन थालेको छ । प्रचण्डलाई समेत बधाई दिने, आफ्नो  निकट सम्बन्ध स्थापित गर्ने र भविष्यका लागि सहज बाटो तय गर्ने मामलामा व्यापारी र व्यवसायीका संघसंगठनले दौडधूपलाई जारी राखेका छन् ।

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरुको टोली तथा अन्य व्यवसायिक संघसंगठनका प्रतिनिधिले ओलीलाई भेटिरहेकै बेला शनिवार विदाको फुर्सदिलो समयको उपयोग गर्दै नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको एक टोलीले प्रचण्डलाई भेट्यो र बधाई दियो । 

भेटघाटमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा संयुक्त बाम गठबन्धनले पूर्ण बहुमत ल्याएसँंगै संक्रमणकालको अन्त्य भई स्थिर सरकार बनेर मुलुकको आर्थिक समृद्धि हुने विश्वास व्यक्त गरे । अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि कानुनमा भएका त्रुटीहरुलाई सुधार गरी लागनीमैत्री वातावरण निर्माण गर्नुपर्ने अवाश्यकता औंल्याए । श्रेष्ठले लामो समयदेखि कालोबजारी ऐनमा सुधार हुनुपर्ने माग उठाउँदै आएका छन् । दरबारमार्गका व्यापारीले ग्राहकलाई कालोबजारी गरी बिछट्टै ठगी गर्दा समेत उनले कालोबजारी ऐन नै त्रुटिपूर्ण भएको भन्दै ठगी गर्ने व्यापारीको खुलेआम पक्षपोषण गरी नेता, मन्त्रालयका सचिव तथा प्रहरीका अधिकारीहरुलाई भेटेर अनुसन्धान प्रभावित पार्ने काम गरेका थिए । 

प्रचण्डसँगको भेटमा उनले आर्थिक विकासका लागि भ्रष्टाचारमुक्त समाजको आवश्यकतामाथि जोड दिएका थिए । तर, सो भेटमा व्यापारी र व्यवसायीहरु पनि सुधार भएर आउने, नाफाको नाममा जथाभावी नगर्ने, स्वस्थ प्रतिस्पर्धा र स्वस्थ बजार प्रणालीको विकास गरी आम सर्वसाधारण ग्राहकले ठगिनुपर्ने अवस्थाको अन्त गर्ने लगायतको  बिषयमा उनीहरुले कुनै प्रतिबद्धता जनाएनन्।  

भेटघाटमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँंगको सहकार्य महत्वपूर्ण रहेको बताए । उनले मुलुकको आर्थिक समृद्धिका लागि सुझाब दिन निजी क्षेत्रसँंग आग्रह पनि गरेका थिए ।