काठमाण्डौ । नेप्सेका अधिकारीहरुले सबै पूर्वाधार तयार गरी वाणिज्य बैंकहरु आएका खण्डमा एक प्याराग्राफ लेखेर दुई मिनेटभित्र ब्रोकर लाइसेन्स उपलब्ध गराउन सकिने दाबी गरेका छन् । 

सेयर बजारमा पछिल्लो समय देखिएका समस्याहरुको समाधानका लागि भन्दै नेप्सेका सीइओ तथा अन्य अधिकारीलाई भेटन् पुगेका लगानीकर्ताहरुको दवाब समूहसँग अधिकारीहरुले त्यस्तो दाबी गरेका हुन् । 

‘बैंकले सहायक कम्पनीमार्फत आवश्यक हार्डवेयर, सफ्टवेयर लगायतका पूर्वाधार तयार गरी आएको खण्डमा एक प्याराग्राफ लेखेर लाइसेन्स दिन नेप्सेले कुनै कञ्जुस्याई गर्दैन ।’ नेप्सेबाट थप ब्रोकर लाइसेन्स वितरणका लागि आवश्यक अध्ययन गर्न र कार्यविधि बनाउने गठित समितिका संयोजक निराञ्जन फूयाँलले लगानीकर्तासँग भने–‘बैंकलाई ब्रोकर लाइसेन्स दिइँदा डीपी मोडलमा दिन सकिन्छ ।’ 

उनले बैंकलाई ब्रोकर लाइसेन्स दिन मौद्रिक नीतिले बाटो खुला गरेको भए पनि नेपाल राष्ट्रबैंकको एकीकृत निर्देशिकामा त्यो विषय समेटिन नसकेको भन्दै त्यसका लागि आवश्यक लबिङ्ग गर्न दबाब समूहलाई सुझाए ।

बैंकले ब्रोकर लाइसेन्स र नयाँ थप ब्रोकर लाइसेन्सका लागि धितोपत्र बोर्डले निर्देशन दिएलगत्तै नेप्सेले २१ दिनको म्याद दिएर फूयाँलको नेतृत्वमा एक समिति बनाएको छ । त्यो समितिले धमाधम काम गरिरहेको बताइएको छ । 

सो कमिटिले थप ब्रोकर लाइसेन्स, डिलरसीप र बैंकलाई ब्रोकर लाइसेन्स लगायतका विषयमा अध्ययन गरिरहेको नेप्सेका सीइओ चन्द्रसिंह साउदले बताए । 

सेयर लगानीकर्ता दबाब समूहका तर्फबाट वरिष्ठ उपाध्यक्ष दीपेन्द्र अग्रवालको नेतृत्वमा गएको समूहलाई नेप्सेका अधिकारीले अब ब्रोकर लाइसेन्सका लागि मापदण्ड बनाउँदा समसामयिक बनाइने र पुरानो मापदण्डमा सुधार र संसोधन हुने समेत बताएका थिए ।