काठमाण्डौ । हरेक वर्ष हुने सेल अफरकै सुरुआतमा संसारभर अमेजनका हजारौँ कर्मचारी तलब र कामको परिस्थितिको विरोधमा आन्दोलित भएका छन्। 

अमेजनले सोमबारदेखि आफ्ना प्राइम सर्भिस सदस्यहरुका लागि डिस्काउन्ट अफर सुरु गरेको छ । यस्तो अवसरमा जर्मनीमा दुई हजार कर्मचारी हड्तालमा छन् भने अमेरिकाको मिनेसोटा सेन्टरमा अमेजनका कर्मचारी ६ घन्टा काम रोक्नेबारे सोचिरहेका छन् ।

ब्रिटेनमा पनि अमेजनका कर्मचारीहरु एक साता लामो आन्दोलनको तयारीमा जुटेका छन् । 

मिनेसोटामा अमेजनको चिनी गोदामबाट समान उठाउने विलियम स्टर्सका अनुसार अमेजनका कर्मचारीहरु सुरक्षित र विश्वनीय जागिर चाहन्छन् । उनी एक दिनमा १० घन्टा काम गर्छन् र करिब ३३२ उत्पादनहरु उठाउँछन् । ‘जुन रफ्तारमा हामी काम गर्छौं, त्यसले हामीलाई शारीरिक र मानसिक रुपमा निकै थकावट हुन्छ’, उनी भन्छन्, ‘कतिपय अवस्थामा चोट लाग्ने सम्भावना पनि हुन्छ।’

विलियम आफूजस्ता कर्मचारीहरु केवल मानवीय आधारमा सम्माजनक स्थिति चाहेको बताउँछन् । ‘हामीलाई मेसिनजस्तो व्यवहार नगरियोस्’, उनी भन्छन् ।

विश्वमै सबैभन्दा मूल्यवान कम्पनीमध्येको एक अमेजनका कारण कम्पनीका संस्थापक जेफ बेजोस संसारका सबैभन्दा धनी व्यक्ति छन् । गत वर्षको यही प्राइम डेमा अमेजनले अनलाइन सेलका माध्यमबाट २३५ खर्ब अमेरिकी डलरका सामान बेचेका थिए । 

जर्मनीमा अमेजनका २० हजार कर्मचारी छन्। जर्मनीको वर्दीस्थित मजदुर संगठनका अनुसार सात ठाउँमा कार्यरत दुई हजारभन्दा बढी कर्मचारी हड्तालमा उत्रिएका छन् । उनीहरुको नारा छ ‘हाम्रो तलबबाट अरु डिस्काउन्ट मान्य छैन।’

वर्दीस्थित रिटेल स्पेसलिस्ट ओर्हान अकमानका अनुसार अमेजनले जहाँ प्राइम डेका माध्यमबाट भारी डिस्काउन्ट दिएर सौदाबाजी गरिरहेको छ त्यहीँ हजारौँ कर्मचारीे जीवित रहनका लागि चाहिएजति मजदुरीबापतको पैसा पाइरहेका छैनन् । 

उता ब्रिटेनका पूर्वी मिडल्यानडमा आन्दोलनस्वरुप जीएमबी कर्मचारी संगठनका अधिकारीहरुले काममा आउने कर्मचारीहरुलाई पर्चा बाँडिरहेका छन् भने आउने दिनमा पश्चिम मिडल्यान्ड्सका अन्य ठाउँमा पनि यस्तै गतिविधि बढाउने सोच बनाइरहेका छन् । 

जीएमबीका राष्ट्रिय अधिकारी मिक रिक्सका अनुसार अमेजनका कर्मचारी जेफ बेजोसलाई आफूहरु कर्मचारी हो कि मेसिन हो भन्ने कुरा थाहा पाउनू भन्ने चाहन्छन् । उनी भन्छन्, ‘अमेजनका लागि यो खास समय हो तर जेफ बेजास जीएमबीसँग बैठक बसेर कार्यस्थलमा कर्मचारीको सुरक्षा कसरी गर्ने र उनीहरुलाई मौखिक स्वतन्त्रताको प्रत्याभूति दिने विषयमा छलफल गर्नुपर्छ ।’

जीएमबीका अनुसार उनीहरु पसलेहरुलाई अमेजनलाई बहिष्कार गर्नुपर्छ भनेर भनिरहेका छैनन् तर उपभोक्ताले चाहेमा यो कदम उठाउन सक्छन् । 
उता अमेजनले भने हजारौँ मानिसलाई रोजगारको अवस्था सिर्जना गर्ने र राम्रो तलब पनि दिइने प्रतिबद्धता गरेको छ । 

अमेजनका संसारभर करि ६.३ लाख कर्मचारी कार्यरत छन् । जसमध्ये ३ लाख त अमेरिकामै कार्यरत छन् । –एजेन्सी