काठमाण्डौ । प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गरी एकीकृत कारोबार गर्ने मिति कम्तीमा १५ दिन पछि सर्ने भएको छ । 

डिडिएमा भएको केही ढिलाई र अन्य पूर्व तयारीका कामहरुका कारण यसअघि निर्धारण गरिएको समयभन्दा एक्वीजिसन सम्पन्न भई एकीकृत कारोबार सुरु हुने मिति कम्तीमा १५ दिने पछि सर्ने अवस्था सिर्जना भएको ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिएका छन् । 

‘हामीले यसअघि पुस मसान्तभित्र एकीकृत कारोबारको लक्ष्य राखेका थियौं ।’ उनले बिजशालासँग भने–‘तर अब छिटोमा पनि माघ १५ गतेसम्मको समय लाग्ने नै देखियो ।’ 

उनले बजारमा हल्ला भएजस्तो डिडिए नसकिएको र सेयर स्वाप रेसियो समेत नटुंगिएको दाबी गरे । 

अधिकारीका अनुसार डिडिए रिपोर्ट सकिन अझै एक साता समय लाग्नेछ । ‘डिडिए गर्ने संस्थाले मंसिर २० भित्र फाइनल रिपोर्ट बुझाउने भनेको छ ।’ उनले थपे–‘रिपोर्ट नआई सेयर स्वाप अनुपात टुंगियो भन्ने कुरा बजारको सस्तो हल्ला मात्र हो ।’ 

उनले डिडिएको क्रममा आउने सेयर स्वाप अनुपातमा समेत १० प्रतिशत घटबढ गर्न पाउने नेपाल राष्ट्रबैंकको सुविधाको उपयोग गरी दुई बैंकको आपसी समझदारीमा मात्रै सेयर स्वाप रेसियो टुंगिने प्रष्ट पारे । सेयर स्वाप अनुपात टुंगिएको भन्दै बजारमा हल्ला फैलाइएको प्रति उनले असन्तुष्टि व्यक्त गरे । 

राष्ट्रबैंकले तोकेको पूँजी आफैंले पुर्याइसकेको राष्ट्रियस्तरको निकै राम्रो अवस्थाको ओम डेभलपमेन्ट बैंकलाई आफैं पूँजी पुर्याइसकेको प्राइमले एक्वायर गर्ने बिषयलाई निकै चासोका साथ हेरिएको छ । एकातिर आफैं पूँजी पुगिसकेका दुवै संस्था एक हुन किन चाहे भन्ने कौतुहुलता बैंकिङवृतमा व्याप्त छ भने यो मर्जरलाई उदाहरणको रुपमा हेर्दै अन्य राष्ट्रिय स्तरका विकास बैंकलाई समेत केही न केही दवाब महसुस भएको जानकार बताउँछन् । 

यी दुई संस्था एक हुने बिषयमा भदौ ३ गते सम्झौता भएको थियो । ओमलाई प्राइमले गाभ्ने बिषयमा नेपाल राष्ट्रबैंकले सैद्धान्तिक सहमति दिइसकेको छ ।