काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले केही समयभित्रै प्राथमिक बजार सरह दोश्रो बजारका लगानीकर्ताले पनि सुविधा पाउने दाबी गरेका छन् । 

धितोपत्र बोर्डले शुक्रबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगत केही समयको अन्तरालमा प्राथमिक बजार सुधारका प्रशस्त प्रयास भएका उल्लेख गर्दै आफू दोश्रो बजारलाई समेत रहरलाग्दो लगानीको क्षेत्र बनाउने अभियानमा होमिएको दाबी गरेका हुन् । 

‘प्राथमिक बजारलाई आधुनिक बनाउन विगतमा सेबोनले लिएको गतिमै दोश्रो बजार सुधारका लागि नेप्सेले पनि आफ्नो पाइला अगाडि बढाउनेछ ।’ उनले थपे–‘अब निकट भविष्यमै दोश्रो बजार पनि सुविधासम्पन्न र आधुनिक बन्नेछ ।’ 

उनले दोश्रो बजारलाई आधुनिक, व्यवस्थित र रहरलाग्दो बनाई लगानीको वृहत अवसर सिर्जना गरिने उल्लेख गर्दै बजारमा घटबढलाई स्वभाविक ठानेर लगानीको निर्णय लिन लगानीकर्तामा आग्रह गरे । 

सो अवसरमा बोल्दै बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले आइपीओ र एफपीओ निश्कासनका लागि बोर्डले जथाभावी स्वीकृति दियो भन्ने हल्ला निराधार रहेको दाबी गर्दै हालको बजारको अवस्था संवेदनशील रहेको र यस्तो अवस्थामा आफूहरुले कुनै हस्तक्षेप नगर्ने प्रष्ट्याए । निरन्तर घटिरहेको बजारको दीर्घकालीन सुधारका लागि अर्थमन्त्रालयमा बोर्डले झकझक्याउने काम गरिरहेको समेत प्रष्ट्याए । 

निकट भविष्यमै प्राइभेट इक्वीटी, भेञ्चर क्यापिटल, हेज फण्ड लगायतका वित्तीय उपकरण आउने भएकोले लगानीको नयाँ अवसर आउने उनको प्रष्टोक्ति थियो । 

सो अवसरमा बोर्डका अध्यक्ष कार्कीले विभिन्न ५ वटा कम्पनीहरुले कम्युनिटी स्टक एक्सचेञ्ज संचालनका लागि आवेदन दिएका र तिनीहरुको प्रस्तावलाई अध्ययन गरी चाँडै यो बिषयमा समेत निश्कर्ष निकालिने आश्वासन दिए ।