-चन्द्रसिंह साउद(सीइओ)-नेपाल स्टक एक्सचेञ्ज

बजारमा फेरि मक ट्रेडिङ हुने भन्ने हल्ला छ नि, खास कुरा के हो ?
-फेरि मक ट्रेडिङ हुने भन्ने कुरा हल्ला मात्र हो । हिजो केही लगानीकर्ताहरु नेप्सेमा आउनुभएको थियो । मैले हिजो पनि उहाँहरुलाई भनेकै हुँ, अहिले जुन समस्या देखिएको छ, त्यो यूसीसी नम्बरको समस्या हो । यो विषयमा हामीले सूचना पनि जारी गरिसकेका छौ । बजारमा अनलाइनलाई नरुचाउने र असफल बनाउने मान्छेहरु पनि यो बेला कम्मर कसेरै लागेका छन् । उनीहरुले यस्तो हल्ला फैलाएका हुन सक्छन् । केही मान्छे अनलाइनको विरुद्धमा लागेका छन् । यसलाई फेलियर बनाउन सकिन्छ कि भन्ने प्रयास जारी छ, तर त्यो कुनै पनि हालतमा सफल हुन दिँन्न । 

कतिपयले नयाँ प्रणालीबाट सेयर कारोबार गर्न नसकेको भन्ने कुरा छ नि ?
-सेयर कारोबार किन हुन नसक्ने ? हिजो मात्रै करिब २३ हजारको अर्डर प्लेसमेन्ट भएको छ । करिब २३ सयले सेयर नै कारोबार गरेको देखिन्छ । 

उसो भए समस्या चाहि ठ्याक्कै के हो त ?
-सपोर्टमा कुनै समस्या छैन । बीचमा मार्केट डेप्थमा केही समस्या थियो । २० गते केही समस्या थियो । अर्को, यूनिक क्लाइन्ट कोड हाल्दा पहिला डकूमेन्ट पहिला दिउँला भनेर पनि कारोबार संभव हुन्थ्यो । अब अहिले क्लाइन्टको तीनपुस्तेदेखि लिएर नागरिकतानम्बरदेखि लिएर सबै कुरा अपडेट नगरी अहिलेको सफ्टवेयरले कामै गर्दैन । पहिला मान्छेले काम गथ्र्यो, अब मान्छेले काम गर्न पाउँदैन । सबै सूचना हालेपछि मात्र नयाँ सफ्टवेयरले लगानीकर्ताको अर्डर प्लेसमेन्ट गर्छ । यो नै सबैभन्दा ठूलो समस्या हो । 

अर्को, कर्पोरेट क्लाइन्टहरुका लागि कम्पनी दर्ता मिति र नम्बर चाहियो, र, त्यो सूचना पनि पूरा नभएका कारण त्यस्ताको कारोबार हुन नसकेको हो । हिजोसम्म जस जसले सूचना पूरा गरेको छ, ती कर्पोरेट क्लाइन्टहरुको कारोबार आजबाट हुन्छ । जसको विवरण पूर्ण अपडेट छैन, आज पनि त्यस्ताको कारोबार संभव हुँदैन । र, व्यक्तिगत लगानीकर्ताको हकमा पनि त्यही कुरा लागू हुन्छ । पूर्ण विवरण नभरेसम्म सफ्टवेयरले लिँदैन, काम गर्दैन ।

समस्या सिस्टम र सफ्टवेयरमा होइन कि चाँडो विवरण अपडेट नगराउने नै समस्याका जड हुन् त उसो भए ?
-हो, यूसीसी नै मुख्य समस्या हो । यूसीसी पूरा नगरी कारोबार गर्न सकिन्न । आज उहाँहरुले यूसीसी कम्प्लिट बनाउन विवरण दिनुभयो भने आजै कारोबार हुँदैन, त्यस्ताको भोलिदेखि मात्र कारोबार संभव हुन्छ । 

अनलाइनमा गइसकेपछि पछाडि फर्किने भन्ने हल्ला उसो भए निराधार हो? 
-एकदमै निराधार हो । अगाडि बढिसकेपछि पछाडि फर्किने भन्ने कुरा कुनै पनि हालतमा हुँदैन । नयाँ सिस्टममा केही एरर हुनु स्वभाविक हो । तर, अहिले त सिस्टममा पनि कतै एरर छैन । समस्या डिस्प्लेमा मात्र हो । 

राफसाफ र फछ्र्यौटको समस्या चाहि के हो ?
-राफसाफ र फछ्र्यौटको समस्या तत्काल समाधान हुँदैन । यो भन्नेबित्तिकै समाधान हुने समस्या होइन । रुल परिवर्तन गर्नुपर्छ । पहिला यो सफ्टवेयरलाई मजबुत बनाउने कामतर्फ लागेका छौ । लगानीकर्तालाई पासवर्ड र यूजर नेम हामी केही दिनपछि मात्र दिने भनेका छौ । सबैलाई थाहा छैन, चलाउन जानेका छैनन् । चलाउन नजानी चलाउन थालियो भने भोलिका दिन ठूला समस्या आउँछन् । क्यापिटल मार्केटमा असर नपरोस् भनेर हामीले वान बाई वान काम गरेका हौ । 

अर्को, हामीले फेरि मक ट्रेडिङमा जाने भनेका हुँदै होइनौ । लगानीकर्तालाई अझ बढी तालिम चाहिन्छ भने २–४ दिन पर्खिनुहोस्, त्यसपछि तपाईलाई बिहान वा बेलुका मिलाएर तालिम दिन्छौ भनेर लगानीकर्ताका नेतालाई भनेका हौ । अनलाइन सिस्टम विथ ड्र हुने कुरै भएन नि । 

हिजोको दिनमा निश्चित समय दिएर मक ट्रेडिङ पनि भएकै हो। तर, आज अनेकन समस्या आइरहेका छन् । मक ट्रेडिङमा केही ब्रोकर र लगानीकर्ताले चासो पनि दिएका थिएनन् । कतिपयलाई अनलाइन समयमै आउला भन्ने लागेकै थिएन । अहिलेको समस्याको कारक यिनै कुरा हुन् कि अरु पनि केही छ ?
-हो, तपाईले भनेजस्तो अनलाइन यति चाँडो आउँछ भन्ने धेरैलाई विश्वास नै थिएन । हामीले ब्रोकरलाई तालिम दिएका हौ । ब्रोकरका कर्मचारीलाई समेत तालिम दिएका हौ । लगानीकर्ताका नेता तथा लगानीकर्तालाई पनि तालिम दिएकै हौ । हामीले आफूले जानेअनुसार गरेकै हो । आइटीसँग नजिक ब्रोकरहरुले समयमै सिके, जाने र त्यो पूरा भयो होला । कतिपयको चाँडो सिक्ने बानी हुन्छ, कतिपयको ढिला सिक्ने बानी हुन्छ । तर, तालिम केही कम भयो कि भन्ने चाहि हामीलाई लागेकै हो । त्यतिखेर हामीले ब्रोकर साथीभाईसँग पनि छलफल गरेका हौ, उहाँहरुले पनि ‘गो अहेड’ भन्नु भएकै हो । १० जनाको टिम समेत हामीले बनाएकै हो । डेट हाम्रो इन्टरनल थियो, भित्र होमवर्क पूरा गरेकै हौ । तपाईले भनेजस्तो मकमा चाहि अपेक्षाजस्तो सहभागिता नभएकै हो, कम भएकै हो । 

अब अनलाइनमा गइसकेपछि समस्या आइरहेको छ । हार्डवेयर, सफ्टवेयर, टेक्नोलोजी केहीमा पनि समस्या होइन । म फेरि पनि भन्छु, समस्या डिस्प्लेमा हो, यूसीसीमा हो । तर, डिस्प्लेका धेरै समस्या समाधान भइसकेका छन् । मार्केट डेप्थ आजदेखि आउँछ । फ्लोरसिट पहिलादेखि नै आएकै थियो, इण्डेक्स आएकै थियो । इण्डेक्समा अन्तराष्ट्रिय स्तर अनुसारको परिवर्तन पाउनुहुन्छ । यो बिषयमा हामीले प्रेस विज्ञप्तिमार्फत पनि प्रष्ट पारिसकेका छौ । 

बिजशालामार्फत मेरो सबैलाई आग्रह अनलाइन कारोबार प्रणाली निरन्तर हुन्छ । पहिलेको सिस्टम अहिले छैन, त्यसकारण नयाँ सिस्टम अनुसार कारोबार गर्न आवश्यक प्रक्रिया पूरा गरिहाल्नुहोस् । अनेकन हल्लाको पछाडि कुनै पनि लगानीकर्ता नदौडिनुहोला ।