►धनकुमार राई

भुक्तभोगीहरु भन्छन्-"Markets rise on a wall of worry" । बजारमा सबै लगानीकर्ताहरुको एकै साथ एक मत रहँदैन र बजारमा बुलीस र बियरिसबीच द्वन्द्व चलिरहन्छ । एकै साथ सबै बुलिस असम्भव नै हुन्छ, त्यसैले बजारमा आशंका र चिन्ताहरुलाई छेउ लगाएर लगानीकर्ताहरुले लगानी शुरु गर्ने गर्दछन् भने शंकाको खुराक नै ती खरिदकर्ताहरुका लागि उपयुक्त बन्न पुग्दछ । यसैले खरीद र बिक्रीको सम्बन्धले बजारको जीवनचक्र चल्छ । यहाँ लगानीकर्ताहरुमा ब्याप्त आशा र शंकाकै कारण बजार बुल र बियर चक्र बनाउँदै बजारलाई पूर्णता पस्किरहेको हुन्छ ।

अध्ययनले बजार घट्ने क्रमभन्दा बढ्ने क्रम पाच गुणासम्म बढिरहेको देखाउँछ । यहाँ संसारको पुरानो बजार मध्येको S&P 500 लाई लिएर फोब्र्स(Forbes)मा प्रकाशित लेख अनुसार १९२० देखि २०१७ सम्मको अध्ययनले औसतमा ९७ महिनासम्मको बुल अवधि रहनसक्ने र औषतमा १५ महिना सम्मको बियर अवधि रहने देखिन्छ भने सो अवधिमा १५० प्रतिशतदेखि ९०० प्रतिशतसम्मको बृद्धि रेकर्ड गरिएको छ । यस्तै, ४० देखि ८० प्रतिशतसम्मको गिरावट पनि रेकर्ड भएको देखिन्छ ।

नेपाली बजारको सन्दर्भलाई अध्ययन गर्दा पछिल्लो ७५ महिनासम्मको बुलिस अवधिमा २९९ देखि १८८८ सम्मको उच्च रेकर्ड कायम भएको थियो भने त्यसपछिको ६ महिनामा बजारले १२०० बिन्दु सम्मको करेक्सन पूरा गर्दै फेरी १७५० नजिक पुर्याएर त्यसपछि निरन्तर १५ महिनासम्म बियर अवधि भोगिसकिएको अवस्था हो । 

माथिको अध्ययनलाई विश्वास गर्ने हो भने अब नेपाली बजारमा पनि बियर सेसन सकिएको र अब आउने कम्तीमा पनि २ वर्ष बुलिस प्रवृति नै रहने अनुमान गर्न सकिने देखिन्छ ।

यसरी हालको नेपाली बजारमा लगानीकर्ताहरुले परिस्थिति र भावनालाई सन्तुलनमा राखेर निर्णय गर्नु पर्दछ । यस्तो अवस्थामा बजारले आफ्नो दिशा सुनिश्चत गर्नुपूर्व नै बजारमा उपलब्ध उच्च प्रदर्शनकर्ता सेयरहरुलाई खरिद गर्दै खरीदको आधार तयार गर्न सके भविष्यमा नेपाली बजारमा प्राप्त हुने ट्रेण्डको फाइदा लिन सकिने निश्चित छ ।

(लेखक सेयर बजारका प्राविधिक विश्लेषक तथा अनुसन्धानकर्ता हुन्)