काठमाण्डौ । पूँजीवृद्धिको चटारोका कारण बजारमा निकै ठूलो अनुपातमा बिमा कम्पनीको सेयर आउने देखिएपछि लगानीकर्ताहरुको ठूलो समूह यसतर्फ आकर्षित छ । बिमा कम्पनीप्रतिको यही आकर्षणका कारण बैंक तथा बित्तीय संस्थाका कतिपय लगानीकर्ताहरुले बर्षभरि होल्ड गरेर राखेको सेयर समेत बिक्रीको हतारो देखाएका छन् । यहीकारण बजारमा बिमा कम्पनीहरुको दबदबा खडा भएको छ भने बैंक तथा बित्तीय संस्थाहरुको प्रदर्शन केही कमजोरजस्तो देखिएको छ । उसो भए के बैंक तथा बित्तीय संस्थाहरुको सेयर बिक्री गरेर बिमामा लगानी गर्ने उपयुक्त बेला हो यो ? वा, केही धैर्य गर्ने बेला पो हो कि ?

चर्चित सेयर बजारविज्ञ तथा सेयरसम्बन्धी थुप्रै पुस्तक लेखेर चर्चा बटुलेका रविन्द्र भट्टराईको भनाईमा बोनस पाउने बेलामा हतारिएर बैंक तथा बित्तीय संस्थाको सेयर बिक्री गर्नु मूर्खता हो । ‘पैसा तिरेर(हकप्रद) पाउनका लागि किनेर सित्तै(बोनस) पाउने बेलामा नबेचौं ।’ उनले आइतबार राति सामाजिक सञ्जालमा आफ्नो सुुझाव पोस्ट गर्दै लेखेका छन्–‘साउन लाग्यो । बर्षभरीको कमाइ (बाली) उठाउने बेला नजिकिँदै छ । कम्पनीले कस्तो नतिजा निकाले, त्यसको मूूल्यांकन गरेर खराब भए साटौ राम्रो भए राखौ । बेच्न हतार नगरौं ।’

स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौडेल समेत अहिले हतारिएर वा कसैको बहकाउमा लागेर बैंक तथा बित्तीय संस्थाको सेयर बिक्री गर्न नहुने सुुझाव दिन्छन् । ‘बैकिङ सेक्टर धेरै हदसम्म सुरक्षित छ ।’ पौड्यालले बिजशालासँग भने–‘बजार स्थिर छ, बैंक तथा बित्तीय संस्थाको वार्षिक प्रगति विवरण धमाधम आउन थालेको छ । कम्तीमा त्यो रिपोर्टसम्म लगानीकर्ताले कुर्नुु उत्तम हुन्छ ।’ 

उनले नेप्से परिसूचक स्थिर रहेको र टर्नओभरले निरन्तर साथ दिइरहेका कारण बजार कुनै पनि बेला उचालिनसक्ने दाबी समेत गरे । ‘टर्नओभरले निरन्तर सपोर्ट गर्नु सकारात्मक पक्ष छ ।’ उनले थपे–‘तरलता, ब्याजदर र सेयर कर्जा केही सहज हुने बित्तिकै यस्तो बजारले उछालको गति लिनसक्छ ।’ पौड्यालको भनाईमा सर्टटर्म कारोबारीदेखि लङटर्म लगानीकर्तासम्मका लागि यो बेला उपयुक्त रहेको र यस्तो बेलामा राम्रो कम्पनीको सेयर बेच्ने हतारो गर्नुु हुँदैन । 

सेयर बजारका जानकार दिलिपकुमार मुंनकर्मीले समेत बैंक तथा बित्तीय संस्थाको सेयर बिक्री गर्ने अहिले उपयुक्त बेला नभएको सुुझाए ।‘लगाएको बालीले कस्तो प्रतिफल दिन्छ भन्ने समयसम्म कुर्नु राम्रो हुन्छ ।’ उनले भने–‘बाली उठाउने बेला हो यो । खेतमा धान रोपेको छ, कस्तो फल्यो भन्ने समय आउनै लाग्यो । तसर्थ, केही समय कुरेर कस्तो बाली फलेछ हेर्नुहोस्, धान बढी भए होल्ड गरेर राख्नुहोस्, भूस बढी निस्किए साट्नुुहोस् वा बिक्री गर्नुहोस् ।’ उनको भनाईमा बैंक तथा बित्तीय संस्थाले घोषणा गर्ने लाभांश वा बोनसको अवस्था हेरेर मात्र निर्णय लिन लगानीकर्तालाई आह्वान गरे । बिमाको भविष्य अनुमान गर्न निकै गाह्रो रहेको र बिमा कम्पनीको बढेको पूँजीलाई उनीहरुले तत्काल दिने लाभांश र आम्दानीले भरथेग गर्न नसक्ने भन्दै उनले अहिलेको समयमा होल्ड गर्नुपर्ने, खरीद गर्नुपर्ने सेयर नै बैंक तथा बित्तीय संस्थाको रहेको समेत दाबी गरे ।