काठमाण्डौ । अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकहरुबीचको ‘बिग मर्जर’को नीति हचुवाको भरमा नल्याउन केन्द्रीय बैंकलाई सुझाव दिएका छन् ।

म्यानेजमेन्ट अशोसिएसन अफ नेपाल(म्यान)ले आयोजना गरेको मौद्रिक नीतिका लागि सुझाव संकलन तथा छलफल कार्यक्रममा बोल्दै उनले सोचविचार गरेर मात्रै बिग मर्जरको नीति ल्याउन सुझाएका हुन् । 

उनले बैंकहरुको नन्बैंकिङ कस्ट उच्च रहेको भन्दै त्यसलाई घटाउने गरी मौद्रिक नीति आउनुपर्नेमा समेत जोड दिए । 

यस्तै, मौद्रिक नीति काठमाण्डौ र शहरबासीलाई मात्र हेरेर बन्ने गरेको र कार्यान्वयन पक्ष फितलो हुने गरेको दाबी गर्दै उनले दूरदराजका जनता र उनीहरुको समस्या तथा आवश्यकतामाथि समेत ख्याल गरी नीति बनाउन सुझाव दिए । 

अर्थशास्त्री डा. अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिले लिएको लक्ष्य अनुसार नै मुद्रास्फिति नियन्त्रणमा रहे पनि यसमा मौद्रिक नीति मात्रै कारण हो कि अन्य पनि कारण हो ? भनेर प्रश्न गरे । ‘यसपालिलाई मुद्रास्फिति नियन्त्रणमा सीमाभित्र देखियो । आउँदो साल यो सीमाभित्र रहला ? यो हाम्रै कारणले मात्र रहेको हो ? खुल्ला सीमाना छ । यसमा वैश्विक प्रभाव पनि परेको हो कि ?’

विगतमा ल्याइएको मौद्रिक नीति र त्यसले लिएको लक्ष्यहरु पूरा भए वा नभएको विषयमा समीक्षा हुन आवश्यक रहेकोमा उनले जोड दिए । ‘जुन खालको मौद्रिक नीति ल्यायौं, जुन खालका उपकरणका कुरा गर्यौं, ती पूरा भए कि भएनन् ? लगानी अभिवृद्धिको काम भयो कि भएन ? स्वमूल्याङ्कन गरौं ।’ उनले भने–‘हामीकहाँ अध्ययनको परिपाटी फितलो छ । यी विषयमा बढी अध्ययन गरेर नीति ल्याइनुपर्छ अनि मात्र काम गर्ला त्यसले ।’ 

उत्पादन बढाउन लगानी बढाउनुपर्यो, लगानी बढाउन पूँजी, प्रविधि र जनशक्ति एकठाउँमा ल्याउनुपर्ने विचार व्यक्त गर्दै उनले सरकारले लिएको श्रम नीतिमाथि पनि प्रश्न उठाए । ‘१५ देखि ५९ वर्ष उमेर समूहका हाम्रा ४५ लाख क्रियाशील जनशक्ति नेपाल बाहिर छ । बाहिर जाने थप जनशक्तिलाई हामीले रोक्न सकेका छैनौ ।’ उनले थपे–‘माइग्रेसनको कुरा ५० को दशकबाट सुरु भयो । त्यसबेला मुलुक द्वन्द्वमा फसेको थियो, मानिसहरु जिउज्यान जोगाउन पनि बाहिर गए, त्यस्तै नीति बन्यो । तर त्यसबेलाको त्यो नीति अझै परिवर्तन भएन । अब त बाहिर पठाउने कुरा भन्दा पनि यहाँ मान्छे राख्ने किसिमको नीति बन्नुपर्छ । आउने रेमिट्यान्सलाई फर्मल च्यानलबाट आउने, उत्पादनशील क्षेत्रमा प्रयोग हुने नीति आओस् । बाहिर जाँदा भन्दा यहाँ बस्दा तिमीले प्राविधिक, वित्तीय र अन्य हिसाबले थप सुविधा पाउँछौ, यहाँ–यहाँ अवसर छ, यही बसेर काम गर भन्ने अवस्था सिर्जना गर्नुपर्छ ।’

हरेक मौद्रिक नीतिको दिशा ठीक भए पनि कार्यान्वयन पक्ष कमजोर रहेकोमा उनले दुःख व्यक्त गरे । ‘अहिले पनि रियल स्टेट क्षेत्र, हायर पर्चेज क्षेत्रमा बढी कर्जा गइरहेको छ। कृषिमा न्यून मात्र गएको छ ।’ उनले भने–‘हामीले यस्ता विषय सच्याउनुपर्छ ।’