-विष्णुप्रसाद बस्याल-प्राविधिक विश्लेषक 

बजारको अहिलेको अवस्था के हो ?
-समग्रमा विश्लेषण गर्दा २०१६ को अगस्टमा १८८१ माथि पुगेर बजार तल खस्यो । त्यसपछि फेरि २०१७ को अगस्टमा १६७५ को विन्दूमा पुगेर बजार पुनः खस्यो । मैले पहिला पनि भनेको थिएँ कि एउटा लामो बियर मार्केट चल्नेछ । जुन बियर मार्केट २०१२ देखि २०१७ सम्मको बुल मार्केटकै एउटा करेक्सनको रुपमा हुनेछ पनि मैले भनेकै थिएँ । 

अब अहिलेको अवस्थालाई हेर्दा बियर मार्केट करेक्सनको लगभग हामी अन्ततिर आइपुगेको स्थिति हो । आउने एक/डेढ महिनाभित्रै बियर मार्केटको करेक्सन अन्त भएर मार्केटले माथिको दिशा लिने अधिक संभावना देखिन्छ । 

अब बियरिस ट्रेण्डको अन्त र बुलिस ट्रेण्डको सुरुवात हुन्छ भन्ने प्राविधिक आधार चाहि के हो ?
-मैले जुन तरिकाले प्राविधिक विश्लेषण गर्छु, तपाईलाई पनि त्यही नै भन्ने हो । मैले इलेट वेभ प्याटर्नलाई पछ्याउँदै टेक्निकल एनलाइसिस गर्दै आएको छु । र, इलेट वेभ प्याटर्नले पनि के भन्छ भने बजारको करेक्सनको जुन डाउनसाइट साइकल हो, त्यसले १०७५ देखि लिएर १०३५ को बीचमा बजारको एउटा सिग्नीफिकेन्ट बटम लाग्नसक्ने संभावना देखिएको छ । त्यसपछि बजारको दिशा अपोजिट साइडमा हुन्छ, त्यो भनेको बुलिस ट्रेण्ड हो । 

साधारण लगानीकर्ताले बुझ्ने खालका इण्डिकेटरहरुलाई पनि यदि हामीले हेर्ने हो भने डेली चार्टमा एउटा आरएसआई र एमएसिडीमा डाइभरजन्स क्रियट गर्नसक्ने संभावना प्रवल देखिएको छ । त्यसबाहेक हामीले यदि डिएमआई(डाइरेक्सनल मुमेन्टम इण्डेक्स) बाट पनि बजारलाई हेर्ने हो भने पनि पछिल्लोपटक ११०२ लगाइसकेपछि बजारले जसरी माथिको बाउन्स लिएको थियो, त्यसपछिको अवस्था हेर्दा बियरिस मुमेन्टम लुज गरिरहेको देखिन्छ । 

भोल्युमको कोणबाट पनि अहिलेको बजारलाई हेर्न सक्छौ । अहिलेको भोल्युम भनेको निकै न्यून हो । भोल्यमु ड्राइनेसको अवस्था देखिएको छ । र, हामीले २० दिनको मुभिङ एभरेजको भोल्युमलाई लिँदा पनि औसतमा २३ करोडको हाराहारीमा आउँछ । त्यो भन्दा पनि तल भोल्युम देखिएको छ। 

बजारको ओभरअल प्रवृति अझै एक/डेढ महिना डाउन साइड नै भए पनि त्यो मुमेन्टम र भोल्युमले चाहि सेलिङ क्रिएट गर्न सकेको छैन । यस्तो खालको टेक्निकल डेभलपमेन्ट बजारका लागि ट्रेण्ड रिभर्सलको इण्डीकेसन हो भन्ने मैले बुझेको छु । 

तपाईको विश्लेषणमा अहिलेको गिरावट अझै एक/डेढ महिना लम्बिने नै भयो उसो भए ?
-हो । अझ मेरो एस्टीमेट एक महिना हो, तर धेरै लम्बियो भने पनि डेढ महिनासम्म मात्र रहला । मार्चको अन्तभित्रमा हाम्रो डाउन ट्रेण्ड साइकल सिद्धिनुपर्छ । त्यसपछि हामी बुलिस ट्रेण्डमा जान्छौ । 

त्यसपछि सुरु हुने बुलिस ट्रेण्ड कहाँसम्म पुग्छ र कति अवधिसम्म रहला ?
-यसमा पनि दुईवटा कुरा छन् । मलाई लाग्छ मार्चको अन्तभित्रमा एउटा डाउनट्रेण्डको अन्त भएर मार्केटले सिग्नीफिकेन्ट्ली माथिको ट्रेण्ड समात्छ, तर यसमा पनि एउटा कण्डिसन छ । त्यो भनेको पछिल्लो पटक हाई लगाएको १२८८ लाई यदि ब्रेक गरेर माथि सस्टेन हुन थाल्यो भने हामीले नेप्सेको लङटर्म बटम लागिसक्यो भनेर सोच्नुपर्छ । त्यसपछि बजारले अर्को बटम चाहि लगाउँदैन । 

मार्च अन्तबाट एउटा राम्रो बाउन्स आउँछ आउँछ । तर, त्यो बाउन्सले तीन महिनाको अवधिमा १२८८ पनि ब्रेक गर्न सकेन भने फेरि मार्केटले साइडवेज एक्सन, केही नेगेटिभ रियाक्सनका साथ सुरु गर्छ । त्यो भनेको करिब ७–८ महिना बजार सोचेजस्तो नबढ्न सक्छ । 

तर, मेरो इलेट वेभ प्याटर्नले अब मार्केट बढ्यो भने १३०० देखि १४०० सम्मको पहिलो चरण पार गर्ने देखाउँछ । यो उचाई लगभग अगस्ट महिनाभित्रमा प्राप्त हुनसक्छ । त्यसपछि ५–६ महिना साइडवेज बजार हुन्छ, केही तल आई १२०० लेभलमा बजार घुम्नसक्छ ।

त्यो स्लाइड सकिइसकेपछि फेरि बुलिस टर्न लिन्छ, त्यसपछि भने सिग्नीफिकेन्ट्ली बुलिस ट्रेण्ड सुरु हुन्छ । सन् २०२० को अन्तसम्ममा नेप्से परिसूचक अलटाइम हाईमा पुग्ने संभावना मैले देखिरहेको छु । 

ओभरअल लङटर्मको कुरा गर्नुहुन्छ भने आउने ५ वर्षमा अथवा लगभग २०२४ सम्ममा बजारले ५ देखि ६ हजारसम्मको इण्डेक्स लगाउनसक्ने संभावना प्रवल छ । त्यसकारण लङटर्म लगानीकर्तालाई मेरो सुझाव छ कि उहाँहरुले आफ्नो जोखिम व्यवस्थापन र पैसा व्यवस्थापन गर्नुपर्ने हुन्छ । लङटर्म कारोबारीका लागि अहिले नै सेयर किन्ने सबैभन्दा उपयुक्त समय पनि हो । 

सर्ट टर्म ट्रेडर वा इन्भेष्टरका लागि चाहि तपाईको सुझाव के छ ? यस्तो बेलामा लगानीकर्ताले के कुरामा बढी ध्यान दिनुपर्छ ?
-ट्रेडिङ गर्दा तपाईले स्टपलसको रणनीति अपनाउनुपर्छ । तपाईले सर्टेन प्रतिशत नाफा खान्छु भनेर सोच्नु भएको छ भने त्यसको केही प्रतिशत घाटा खाएपछि त्यसभन्दा बढी घाटा खाँन्न भन्ने कुरा पहिल्यै तय गर्नुपर्छ । स्टपलस राख्नुपर्छ । स्टपलसको साथमा कारोबार गर्दा सर्टटर्म कारोबारीलाई राम्रो फाइदा हुन्छ । तपाईको २ वा ३ पटक स्टपलस लागे पनि त्यसलाई बजारले केही समयपछि कभर गरिदिन्छ । एक बराबर ३ को रिस्क रिवार्ड रेसियो लगाएर लगानी गर्नुहोस्, तपाई निश्चित रुपमा विजेता बन्नुहुन्छ । भन्नुको अर्थ ३ रुपैयाँ कमाउने टार्गेट छ भने १ रुपैयाँको स्टपलस हुनुपर्छ । 

हामीले पछिल्ला बियर मार्केट पनि देखेका छौ । त्यसको तुलनामा अहिलेका लगानीकर्तालाई म भाग्यमानी भन्छु । किनभने २००८ देखि २०१२ को जुन बियर मार्केट हामीले देख्यौं, त्यो बियर मार्केटमा ट्रेड गर्न पनि पाइन्न थियो, जुन लेभलबाट प्रवेश गर्यो, बजार त्यो लेभलबाट तलै हुन्थ्यो । अलिकति पनि बढ्थेन । तर, अहिलेको बजार तलमाथि भइरहेको छ, यस्तो बजार कारोबारीका लागि स्वर्ग हो । तर, जसले सोचेर, सम्झिएर, सही तरिकाले मनि म्यानेजमेन्ट गरेर कारोबार गरेको छ, उनीहरुका लागि मात्र स्वर्ग हो । जसले मनि म्यानेजमेन्ट गरेको छैन, उनीहरुका लागि यो खराब अवस्था हो । 

तपाईको प्राविधिक कोणबाट हेर्दा नेपालको पूँजीबजारको समस्या र चुनौति के छन् ?
-प्राविधिक विश्लेषकको हिसाबले भन्दा हाम्रा लागि आवश्यक प्रपर डाटाहरु सहज उपलब्ध छैनन् । हामी डाटामा खेल्ने मान्छे हौ । स्टक एक्सचेञ्जले हामीलाई चाहिने डाटा प्रपर रुपमा उपलब्ध गराउन सकेको छैन । डेली प्राइस मुभमेन्टको सूचना समेत नेप्सेले सही ढंगले उपलब्ध गराउन सकेको छैन । 

हुन त विभिन्न सफ्टवेयरको माध्यमबाट केही डाटा पोइन्टहरु त हामीले पाउँछौ नै, पाए पनि अन्तराष्ट्रिय लेभलमा जसरी डाटा उपलब्ध गराइन्छ, त्यो हिसाबले नेप्सेले उपलब्ध गराउन सकेको छैन । 

ओभरअल बजारको एक सहभागीको हिसाबले कुरा गर्दा यहाँ धेरै रेगुलेटरी हर्डलहरु छन् । रेगुलेटरी प्रपर रिफर्म नभएको, र प्रडक्टको पनि कमी छ । हाम्रो बजार खरीदबिक्रीको बजार मात्र भइदियो, डेलिभरी बेस्ड मार्केट मात्र भइदियो । नयाँ प्रडक्ट इनोभेसन गर्दै जाने भन्ने कुरा भएन । सर्टटर्म लेण्डिङ र बरोओइङ मेकानिजम पनि बनाउनुपर्छ । जस्तो मेरो स्टक छैन, मलाई बजार तल आउँछ भन्ने लाग्यो भने मैले अरु कसैको स्टक सापटी लिएर भए पनि बेच्न पाउने व्यवस्था हुनुपर्छ, यो काम सिडिएससीले गर्नुपर्ने काम हो । 

मेरो आफ्नो एउटा डिम्याटबाट अर्को आफ्नै डिम्याटमा सेयर ट्रान्सफर गर्नुपर्यो भने पनि त्यसको निकै ठूलो अप्ठ्यारा रहेछ । तीन ठाउँमा जानुपर्ने, एकैदिनभित्र ट्रान्सफर गर्नुपर्ने व्यवस्था सिडिएससीले गरेको छ । जब कि मेरो आफ्नै डिम्याटबाट अर्को डिम्याटमा ट्रान्सफर गर्छु भने त्यो अफमार्केट डिल चाहि सिधैं अलाउ गर्नुपर्छ । मैले एउटा डिआइएस लेखेर दिएपछि त्यसको मार्फत नै अलाउ गर्नुपर्ने हो । यस्तोमा कारोबारमा गडबडीको संभावना हुन्न, किनभने यहाँ पनि मेरै केवाइसी छ, अर्को ठाउँमा पनि मेरै केवाइसी छ, क्लाइन्ट त म एउटा मात्र हो । यस्तो खालको काम साच्चिकै सजिलो बनाउन सकिन्छ, तर यसलाई समेत अप्ठ्यारो बनाएर स्टक मार्केटको विकासमा सरोकारवालाहरुले नै अवरोध पनि गरिरहेका छन् कि भन्ने मेरो आशंका हो । 

१८८१ को अलटाइम हाइपछि बियरिस ट्रेण्ड सुरु भयो । धेरै लगानीकर्ताले यो अवधिमा गुमाए । तपाई आफैं पनि लगानीकर्ता हो, यो अवधिमा तपाईले कमाउनुभयो कि गुमाउनु भयो ?
-म नेपाल आएको नै लगभग १० महिना मात्रै हुँदैछ । र, मेरो सुरुदेखिकै निश्कर्ष बजार आजको विन्दूमा आउँछ भन्ने नै थियो । यो विषयमा म आफू चाहि कन्भिन्स थिएँ । मैले बीचमा ट्रेड गर्ने बारेमा सोचिँन । मेरो एउटा समय आउँछ, त्यसपछि लगानी गर्छु भन्ने सोचेको थिएँ । मैले २०१८ डिसेम्बरअघि लगानी गर्नु उपयुक्त छैन भनेर विभिन्न सोसल मिडियामा लेखिरहेको छु, भनिरहेको छु । फेरि म आफैं किन लगानी गर्ने ? जब कि बजार यो विन्दूसम्म आउनसक्ने संभावना छ भनेर मैले कन्फिडेन्टका साथ अरुलाई भनिरहेको छु भने त्यो भन्दा माथिल्लो लेभलमा नै बजार प्रवेश गर्छु भने म भन्दा ठूलो मूर्ख अरु को हुन सक्ला ? कसैले स्टक मार्केटमा गुमाउनका लागि त पैसा लगाउँदैन । टेस्ट गर्नैका लागि पनि मैले किन पैसा लगाउने ? मेरो विश्वास अनुसार बजार यो विन्दूमा आउँछ भनेर ठोकुवा गरेको छु भने त्यो भन्दा अगाडि मैले किन लगानी गरुँ ? तर, २०१८ डिसेम्बरपछि भने मैले लगानी गर्न सुरु गरेको छु । र, म अर्को बुल मार्केटका लागि पूरा तयारी अवस्थामा बसेको छु । म अहिले इमिडिएट्ली सर्टटर्म ट्रेडको पक्षमा छैन । मैले लङटर्म लगानी सुरु गरिसकेको छु ।